कोरोना कहरका कारण सिनेमा घर सबै बन्द रहनाले यससँग सम्बन्धित कामदारहरु बेरोजगारीको स्थितिमा पुगेका छन् । लामो समयदेखि नेपाली चलचित्र जगतमा सक्रियरुपमा अभिनय गरिरहेका अभिनेता दिनेश बुढाथोकी सिनेमा हल चाँडै खुल्ने आशमा छन् । चकलेटी अभिनेताको रुपमा पनि चिनिने बुढाथोकी चलचित्र क्षेत्रका ब्यस्त कलाकारमध्ये एक हुन् । दोलखा, शैलुङ गाउँपालिका ७, का बासिन्दा बुढाथोकीले एक दर्जन म्युजिक भिडियो र धनमान, जय प्रशुराम, लिला, रुद्र, लाले आदि चलचित्रमा काम गरिसकेका छन् । अभिनयमा अब्बल मानिने बुढाथोकी नेपाली सिने जगतका आशा लाग्दा प्रतिभा हुन् भने दर्शक र चलचित्रकर्मीको रोजाईका कलाकार हुन् । प्रस्तुत छ मध्यान्ह दैनिकका लागि अशोक खड्काले अभिनेता दिनेश बुढाथोकीसँग गरेको संक्षिप्त कुराकानीः
आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
तपाईंलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र पनि अछुतो रहन सकेन । सोही कारण धेरै मात्रामा प्राविधिक, कलाकार जसले सिनेमालाई आफ्नो मुख्य पेशा बनाएर जिविकोपार्जन गर्दै आउनु भएको थियो उहाँहरुलाई ठूलो मर्का परेको छ भने राज्यलाई समेत ठूलो राजस्वको नोक्सान भइरहेको छ । म र मेरो जीवन पनि सिनेमासँग जोडिएका कारण केही प्रभाव परेको महसुस गरिरहेको छु । हाल थाइल्याण्डमा व्यवसाय गर्दै अभिनय पनि सिकिरहेको छु । यस बीचमा केही प्रोजेक्टमा कुरा पनि भैरहेको छ र कोरोना केही कम हुने बित्तिकै दशकहरूले फरकरूपमा मलाई देख्न सक्नुहुनेछ र आशा छ सदाझैं यसपटक पनि दर्शकहरूले मलाई माया गर्नुहुनेछ ।
सुटिङ भैहाले पनि यो स्थितिमा सिनेमा प्रदर्शन होला त ?
सिनेमा हल नखुलेको भएपनि सधैं यही अवस्था त रहन्न होला नि । नेपाली सिनेमासँग सम्बन्धित सबै पक्षबीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रवद्र्धन गर्ने भनेर । हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौं, जस्तै बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउँछ हेर्दै छौं र अन्य कुनै माध्यमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि बहस जारी छ ।
नेपाली सिनेमाले बिस्तारै उचाई लिइरहेको बेला यस्तो अवस्था आयो, अब कोभिडले गर्दा पछिको सहज स्थितिमा पनि त्यही उचाई लिन्छ त ?
निकै राम्रो समसामयिक प्रश्न गर्नु भयो, हामी र हाम्रो लागि र नेपाली सिनेमाको लागि एक ठूलो चुनौती आएको छ । अब फेरि हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किदैन सबै यससँग सम्बन्धित निकायमा ठूलो बहस हुन थालेको छ । कसरी पहिलेको अवस्थामा नेपाली सिनेमा क्षेत्रालई ल्याउन सकिन्छ, दर्शकलाई कसरी विश्वास दिलाउन सकिन्छ, हलसम्म दर्शक ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अब चुनौतीको रुपमा आएको छ । हामीले ठूलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिक रुपले पनि कसरी बचाउन सकिन्छ भन्ने प्रति पहल गरिरहेका छौं । समयसँगै चलचित्र क्षेत्रले पनि प्रगति गर्दै जानेमा म विश्वस्त छु ।
पछिल्लो समय लगानीकर्ताहरु चलचित्रमा खर्च गर्न डराइरहेका छन्, के भन्नु हुन्छ ?
निर्माता बचेमा सिनेमा उद्योग बच्छ र राज्यले पनि ठूलो मात्रामा राजश्व असुल्न सक्छ । त्यसैले हामी सबैले यसतर्फ पनि ध्यान दिनुपर्छ । हो, नेपाली सिनेमा पनि उद्योगको रुपमा आगाडि बढिरहेको छ, जसले धेरैलाई रोजगार दिइरहेको छ र कलाकारदेखि प्राविधिकसम्मलाई समाजमा छुट्टै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा पनि विदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिइरहेका थिए, अब के फेरी त्यही स्तरमा नेपाली सिनेमाले उचाई लिन्छ त भन्ने प्रश्न उठेको छ । त्यसैले यससँग सम्बन्धित सबै निकाय, संस्था र राज्यस्तरबाट गहनरुपले सोच्ने बेला आएको छ ।
तपाईंलाई कस्तो खालको भूमिका मनपर्छ ?
धेरैले भन्ने गर्नु हुन्छ कलाकार भएपछि जस्तो पनि भूमिका गर्न सक्नुपर्छ । मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि यही खालको भूमिका गर्नुपर्छ भन्ने ठानिनँ । त्यसैले मेरो बारेमा बजारमा के कस्ता चर्चा परिचर्चा हुन्छ त्यता कहिले पनि जान चाहिनँ, मेरो ध्यान सधैं आफुले गर्ने काम एकपछि अर्को कसरी राम्रो दिन सकिन्छ भन्नेमा नै केन्द्रित रह्योे । धेरै भन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पूर्ण ध्यान जान्छ । त्यसैले ब्यक्तिगत चर्चा भन्दा पनि मेरो राम्रो कामको मूल्यांकन भएको पाएको छु । त्यसैले मेरो ब्यक्तिगत चर्चा र महत्व दर्शकबाट कम हुन्छ जस्तो लाग्दैन । रह्यो भूमिकाको कुरा मैले गर्न हुने र सुहाउने जस्तो पनि भूमिकामा काम गर्न तयार छु ।
जय पर्शुराम चलचित्रबाट नेपाली सिनेमा जगतमा प्रवेश गरेसँगै पहिले र अहिलेमा के फरक पाउनु भयो ?
मेरो पहिलो चलचित्र जय पर्शुरामले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो । जसका कारण नेपाली सिने जगतलाई नै एक उचाईमा पुर्याउन सक्ने अभिनेताको रुपमा हेरिन लाग्यो र अनि मलाई सिनेमाको अफर धेरै आउन थाल्यो । तर पनि मैले संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक सिनेमा गर्नु पर्छ भन्ने मान्यता राखेँ । स्क्रिपक, कथावस्तु अनि युनिट हेरेरमात्र काम गर्न थालेँ । एउटा सिनेमा सक्काएरमात्र अर्को सिनेमामा काम गर्थें । एकपछि अर्को चलचित्रमा ब्यस्त हुन थालेपछि सिनेमा भन्दा अरु केही सोच्न सकिनँ । अरु सोच्ने कुरा पनि भएन, जसले मलाई नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेशा बनाउँदै आएँ र नेपाली सिनेमाका एक ब्यस्त आर्टिष्टको पंक्तिमा आफुलाई उभ्याउन सफल भएँ जस्तो लाग्छ ।
सिनेमा क्षेत्रमा आउन चाहनेहरुलाई के सल्लाह दिनु हुन्छ ?
जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छौं, त्यो स्वर्ग जस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सीप, ब्यक्तित्व विकास, दृढ संकल्पसहित संयमित भएर आउन सुझाव दिन्छु । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन मद्दत पुगोस् ।
कलाकार बाहेक तपाईंलाई सामाजिक अभियान्ता भनेर पनि चिनिन्छ । समाज सेवा कसरी गरिराख्नुभएको छ ?
म आफुलाई सामाजिक अभियान्ता भन्दा पनि सामाजिक ब्यक्ति हुँ भनेर भन्दा आनन्द लाग्छ । सामाजिक ब्यक्ति भएपछि समाज सेवा आफ्नो दैनिकीजस्तो हुँदो रहेछ र त्यसैमा अभ्यस्त भइँदो रहेछ । तर मलाई अरूले जस्तो यसो गरे भनेर प्रचारबाजी गर्नुभन्दा गुमनाम भएर दुःखीहरूको सेवा गर्न पाउँदा आनन्द लाग्छ र त्यसै गरिरहेको छु र भोलिका दिनमा पनि गरिरहनेछु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies