२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

पितृ सम्मानको पर्व

shivam cement
२०८२ भदौ ७ गते ०६:०५
पितृ सम्मानको पर्व

–अच्युतमान सिंह प्रधान ‘उत्सुक’

भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा ‘कुशे औंसी’, ‘बुबाको मुख हेर्ने दिन’, ‘पितृ दिवस’ भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्वका रूपमा चिनिन्छ । यो पर्व विशेषगरी पितृ पुण्य र श्रद्धाका लागि प्रसिद्ध छ ।

यस दिन छोराछोरीले आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । अझ भनौं यस दिन छोराछोरीहरूले भौतिक रूपमै उपस्थिति भई आ–आफ्ना बाबुको मुख हेरेर उहाँहरूलाई मनपर्ने मिठाई, फलफूल कपडा आदि दिई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । परदेशमा हुने छोराछोरीले फोनबाटै बुवासँग यस दिन नबिराई कुरा गर्छन् । अझ अहिलेको डिजिटल जमानामा विदेशबाट नै अनलाइन अडर गरेर बुवालाई मिठाई, फलफूल, लुगाफाटा आदि पठाई बुवाप्रति श्रद्धा व्यक्त गर्दछन्  ।

यसबाहेक भौतिक रूपमा अस्त भइसकेका अर्थात् दिवंगत भएका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाइधोई गर्नुको साथै श्रद्धाञ्जली स्वरूप तर्पण दिने कार्य गर्दछन् । 

यस दिन बाबु नहुने छोराछोरीहरू विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहा क्षेत्रलगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् । यसर्थ, यस दिन ती धार्मिक तीर्थस्थलहरूमा स्नान, श्राद्ध, सिदा र तर्पण गर्नेहरूको ठुलो घुइँचो लाग्ने गर्छ ।

‘पितृदेवो भवः’ भन्ने शास्त्रीय वचनअनुसार यस दिनमा जीवित बाबुलाई मीठोमसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । यसै दिन कुसे औंसी पर्व पनि घरघरमा पवित्र कुश भित्र्याएर मनाइन्छ । 

हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति)लाई भगवान् विष्णुको प्रतीकका रूपमा चिनिन्छ र यस दिन यो पवित्र वनस्पति कुशलाई आ–आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृ कार्यका लागि अति उपयोगी वनस्पतिको रूपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ । यस दिन पिताको महत्व र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महत्वलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise