पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटन व्यवसाय आवश्यक छ । सन २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरिएपछि नेपालका धेरै व्यवसायीले पर्यटन क्षेत्रमा लगानी गरे । तर कोरोना महामारीका कारण व्यवसाय ठप्प भयो र ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो । यस्तो अवस्थामा पर्यटन व्यवसायीले कसरी आफ्नो व्यवसायलाई निरन्तरता दिएका छन ? व्यवसाय निरन्तरताका लागि राज्यबाट कस्तो सहयोगको अपेक्षा गरिरहेका छन ? यिनै विषयमा केन्द्रीत रहेर मध्यान्ह दैनिकका लागि सिबी भट्टराईले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष एवं नुवाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष उप्रेतीसँग गरेको कुराकानीको सार ।
लामो समय पर्यटन क्षेत्र ठप्प भयो । चाडपर्वले केही प्रभाव पारेको छ ?
नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन क्षेत्रलाई उकास्ने अभिप्रायले कार्यक्रम ल्याएको थियो । त्यसबेला हामी पनि उत्साहित भएका थियौं । त्यही बेला कोरोना महामारीको शुरुवात भयो र पर्यटन क्षेत्र पूर्णरुपमा प्रभावित भयो । त्यसले गर्दा हामीलाई ठूलो नोक्सानी भएको छ । अहिलेपनि राज्यले नीतिगत रुपमा जसरी सम्बोधन गर्नुपर्ने हो त्यो भएको छैन् ।
लकडाउन र निषेधाज्ञाले गर्दा भएको क्षतिका लागि राहत दिदन सहुलियत दरमा चालु पूँजीको व्यवस्था, ब्याजदरमा छुट, ऋण अनुदान लगायतका प्याकेज पर्यटन क्षेत्रमा पनि उपलब्ध गराइने हाम्रो अपेक्षा थियो तर अहिलेसम्म त्यस्तो कुनैपनि सुविधा पाइएको छैन् । मौद्रिक नीतिमार्फत केही राहतका कार्यक्रम आएपनि सबै पर्यटन व्यवसायीको पहुँचमा पुग्न सकेन त्यसले गर्दा पनि हामी समस्यामा छौं ।
कोरोनाका कारण कति व्यवसायीहरु विस्थापित भएका छन् ?
कोभिडले गर्दा बागमती प्रदेशमा करिब १५ प्रतिशत व्यवसायीहरु विस्तापित भइसकेको तथ्याङ्क प्राप्त भएको छ । शहरी क्षेत्र र राजधानी समेत रहेका क्षेत्रका पर्यटन व्यवसायमा केही चहलपहल देखिएपनि पहाडी जिल्लाका व्यवसायीहरु विस्तापित हुनुपरेको छ ।
सरकारले बाह्य पर्यटक भित्र्याउन मापदण्ड खुकुलो बनाएको छ । त्यसको असर पर्यटन क्षेत्रमा कत्तिको परेको छ ?
सरकारले बजेटमार्फत पर्यटन क्षेत्रको सहयोगको लागि भिसा शुल्कमा छुट दिने, नेपाल आउँदा सहजिकरण गर्ने गरी केही नीतिगत व्यवस्थाहरु गरेको छ । त्यस्तै नेपाल घुम्न आउनेलाई लगाइएका कडा मापदण्ड हटाई केही खुकुलो गरिएको छ त्यो स्वागतयोग्य पनि छ । तर नेपाल घुम्न आउने पर्यटक छिमेकी मुलुक भारत र चीनका रहेका छन् । विशेषगरी भारतीय पर्यटकहरु नेपाल आउन भिसा पनि नचाहिने र धार्मिक तथा व्यापारिक प्रयोजनका लागि नेपाल घुम्न आउने गर्दछन् । सीमा नाकाहरु बन्द हुँदा उनीहरु आउन सकेका थिएनन् । अहिले विस्तारै नाकाहरु खुल्दै गएका छन् । राज्यले केही नीतिगत निर्णयहरु गरेको छ तर त्यसको कार्यान्वयन भएको छैन । राज्यले निर्णय गरिसकेपछि पनि दुई नम्बर प्रदेशमा सीमा नाका खोल्नका लागि व्यवसायीहरुले निकै प्रयास गर्नुपर्यो । १०/१५ दिन अगाडि मात्रै नाका खोलिएको छ । बाह्य पर्यटक भित्र्याउन मुख्य नाकाहरु पूर्ण रुपमा नखुल्दासम्म गाह्रै हुन्छ ।
दशैँ र तिहारको बेलामा आन्तरिक पर्यटक बढेको देखिएको छ । यसले त पर्यटन क्षेत्रलाई राम्रै भएको होला ?
हो, अहिले आन्तरिक पर्यटकको चहलपहल केही बढेको छ । चाडपर्वमा बिदा समेत हुने भएकाले पोखरा, रारा, चितवनलगायतका ठूला पर्यटकीय क्षेत्रहरु र सबै धार्मिक क्षेत्रहरुमा राम्रै चहलपहल छ । बागमती प्रदेशका सिन्धुली, नुवाकोट, रसुवा लगायतका पहाडी जिल्लाका सदरमुकामदेखि अन्य क्षेत्रमा अहिले पनि पर्यटकको चहलपहल त्यति देखिदैन । सबैभन्दा बढी धार्मिक रुपमा प्रख्यात ठूला पर्यटकीय क्षेत्रहरुमा नै चहलपहल देखिएको छ । त्यस्तै हिमाली क्षेत्रमा पनि पर्यटकको चहलपहल केही बढेको देखिन्छ ।
राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधा साना व्यवसायीले पाएनन भन्ने छ । त्यसका लागि केही पहल गर्नुभएको छ ?
राज्यले होटल क्षेत्रलाई सूचारु गर्न नीतिगत रुपमा व्यवस्था गरिएको कुरा गर्छ । अधिकांश व्यवसायीहरु घर भाडामा लिएर होटल व्यवसाय गर्दै आएका छन् । लगानी गरेका छन् । तर उनीहरुले सम्पत्ति धितो राखेर कर्जा लिन सक्ने स्थिति रहदैन् । व्यवसाय धितो राखेर कर्जा पाउने स्थिति अहिले पनि छैन् । हामीले महासंघ मार्फत राष्ट्र बैंकसँग छलफल पनि गर्यौं । केन्द्रीय बैंकले आश्वासन त दिएको छ तर अहिलेसम्म कार्यान्वयनको पक्षमा कुनै काम भएको दखिदैन ।
पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन राज्यले के गर्नुपर्छ ?
हामीले होटल तथा पर्यटन क्षेत्रलाई पहिलाकै स्थितिमा ल्याउनका लागि राज्यले कम्तिमा पनि पलायन हुन लागेको अवस्थामा रहेका व्यवसायीहरुलाई थप पुनरकर्जा मार्फत सहयोग गर्नुपर्छ । त्यसका लागि सरकारले राष्ट्र बैंक र व्यवसायीबीच समन्वयात्मक भूमिका निर्वाह गरिदिओस भन्ने हामी चाहन्छौं । नीतिगत रुपमा पनि राजस्व र व्यवसाय नविकरणमा सुविधा दिनुपर्छ ।
नुवाकोट उद्योग वाणिज्य संघ उद्यमी व्यवसायीको हितका लागि के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
नुवाकोट केन्द्रीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला हो । काठमाडौंबाट तीनवटा नाकामार्फत नुवाकोट प्रवेश गर्न पनि सकिन्छ । त्यसैले त्रिदेशीय मार्गको रुपमा ट्रान्जिट पोइन्टको रुपमा विकास हुन सक्ने सम्भावना भएको जिल्ला पनि हो नुवाकोट । भारतको ठोरी नाका र चीनको केरुङ नाकाबाट नजिकै पर्ने भएकाले पनि व्यवसायीक सम्भावनाहरु धेरै छ । नुवाकोट उद्योग वाणिज्य संघले जिल्लामा उद्योग, कलकारखाना भित्र्याउन पहल गरिरहेको छ ।
त्यस्तै नुवाकोट ऐतिहासिक रुपमा पनि महत्वपूर्ण भएकाले पर्यटकीय गन्तव्यका लागि निकै ठूलो सम्भावना छ । राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गर्न नुवाकोटलाई आधार बनाएको नेपालको पहिलो राजधानी पनि नुवाकोट हो । सात तले दरबार लगायतका एतिहासिक सम्पदाहरु यहाँ रहेका छन् । जसले गर्दा यहाँ निकै धेरै पर्यटकीय सम्भावना रहेका छन् । नुवाकोटलाई व्यवसायीक हब बनाउने तयारी संघले गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies