
–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
अतितमा धेरैको दसा बनेको थियो दशैं, यसपालि नहोस् शुभकामना । अघिल्लो सरकारका मुख्य सचिवको नेतृत्वमा बसेको बैठकले दशैं चुस्त, दुरुस्त र तन्दुरुस्त पार्ने गरी निर्णय गरिसकेको थियो र औपचारिक भए पनि दशैं बजार खुल्ने अहिले पनि भनिएको छ । सडक तन्दुरुस्त पार्न त सांसदहरूले यसअघि नै ह्वीप जारी गरिसकेका थिए तर सडक मात्रै होइन, सिंह नै ढलेको छ अहिले । समग्र पूर्वाधार गलेका, नागरिकहरू ढलेका, गाडीहरूले यसअघि धेरै नेपाली यात्रुहरूको ‘राम नाम सत्य’ भएकै थियो र यो हप्ता त देशको हरिबिजोक नै भएको छ, दशैंमा यसपालि कुनै औपचारिक कार्यक्रम नगर्दा राम्रो, आँसु धेरै बगेकाले ।
अर्थमन्त्रीले कुनै सुविधा नलिने भने, प्रधानमन्त्री बालुवाटार पस्दा चामल र सातु लिएर पसिन्, अब अरू मन्त्री कुलमानहरूले पनि तलब भत्ता नलिँदा राम्रो । बंकरमा थुपारिएको पैसा जलेको छ, त्यस्तो गाढ धन नेपालीलाई चाहिएको होइन, न अर्थमन्त्रीका कोठामा असी हजार जाने रक्सी नै । सात्तु र केही मौसम खाएर हामीले दशैं मनाउने गरेका छौँ ।
शान्ति सुरक्षामा अब्बल हुने गरी दशैं व्यवस्थापनको ह्वीप जारी गरेपछि सबैजसो प्रहरी कार्यालयहरू जले, भष्म खरानी नै भए । टालाटुली बटुलेर ती फेरि बन्छन् कि हेरौँ, तर जनता भने पैसा तिर्ने क्षमताका छैनन् । अधिक महँगी दिलाई अधिक कर लुँड्याउने सँग भराउनु पर्ला । उता खाद्यान्नमा मिसावट नहुने, नमूना परीक्षण गरिने, अनुगमन कडा गरिने, तौल, मूल्य र गुणस्तरमा सम्झौता नहुने र हवाई लगायत स्थल मार्गका भाडाहरूका बारेमा पनि ह्वीप जारी भइसकेको थियो, थप होला पनि ।
र कर्मचारी सेवा दिन ठीक समयमा सरुवा भएको ठाउँमा जानू, नगए विभागीय कारबाही गर्ने नाटक देखाउने सामान्य प्रशासन मन्त्री नै नभएको अवस्था छ । जसले दशकौँसम्म कर्मचारी ऐन दिएन, त्यो मन्त्रालय मात्रै होइन, स्वास्थ्य सुधारको नाटक गर्ने मन्त्रालय पनि खरानी भएको छ । साल्ट ट्रेडिङ र खाद्य कम्पनी तम्तयार भएर मोबाइल भ्यान लिएर दशैं मनाउन बसिसकेको छ, सुपथ मोलका पसल पनि, तर सामान तीसँगै छैनन् दिने । मानौँ दशैं, तिहार, छठमा अब व्रत बस्नु राम्रो । सामाजिक सञ्जाल बन्द लोकतन्त्रको उपहार नै भइहाल्यो ।
दशैं प्रयोगमा आउने सरसामान कोदारीतिरै थुनिएका छन् । १५ सय कन्टेनरहरू, स्याउ, केरा, आँपहरू सडे भने व्यापारीले यता दोब्बर तेब्बर मोल बढाउन पाइहाल्ने भएकाले खासै चिन्ता भएन । अब सीजी र भाटभटेनी जस्ता घरानियाँ व्यापारीको पनि मुटुमै प्रहार भएको छ, दनादन जलेको छ, उकै ठाउँमा ६ जनाको शव पछि फेला परेको छ । बालुवाटार बा, शीतल निवास र सिंहदरबारले लोकतन्त्र भनेको छलफल र एजेण्डा पास गर्नु हो, कार्यान्वयन त दैव भरोसा हो भन्ने रामे बुझेको थियो पहिले, अहिले के हुन्छ, विरोध सुरु भइसक्यो । स्रोत छैन, साधन छैन, गर्नु के? स्रोत, साधन लोकतन्त्र एक्लैले खाइदियो । सेवा वितरण त नागरिक आफैँले गर्नु पर्ने भएको छ, पालमा बसेर शपथ खानेले के देलान् ?
आत्मनिर्भर हुने हो भने खाडी जाने हो, यहाँ त लोकतन्त्रले रजगज् गर्ने हो । धर्मनिरपेक्ष भए पनि दशैंका जमरा लाउने हो, गणतन्त्र र लोकतन्त्रले बाँकी काम नागरिक आफैँले गर्ने हो । आयात गर, भन्सार राजस्व देऊ राज्यलाई, बेस्सरी कमिसन, अनि मनाऊ दशैं — यही थियो आदर्श लोकतन्त्रको ।
सोलु जाने पर्यटक घटेछन्, रामेछापमा विमान चलेन, पर्यटकहरू ओइरिने बेला यहाँ सामाजिक सञ्जाल बन्द भयो । धेरैले बुकिङ रद्द गरे, अहिले त सडकभरि कालो मुस्लो छ । घाटा देशलाई भएकै हो, हावादारी लोकतन्त्रका नाइकेहरू भूमिगत छन्, विदेशी ऋण कसले तिर्ने हो थाहा छैन । सुपथ मोलका पसल पनि समाचारमा आएपछि रमाउने लोकतन्त्रले विगत दिनहरूमा खुल्नासाथ बन्द गरिरहेको थियो, यसपालि त सबैजसो नाकाहरू बाढी पहिरोमा परेका छन् । आउने सामान बाहिरबाट हो, यहाँ उत्पादन छैन । उत्तरी नाका दुबै खुल्ने जस्तो छैन, रसुवागढी त उहिल्यै बगाएको हो । तातोपानीबाट आउने कन्टेनर उतै रोकिएकाले, भन्सार राजस्व कम हुँदा वेतनविहीन अर्थमन्त्रीलाई पनि पिर पर्ला । सरकारको चित्त दुख्नु स्वाभाविक होला, उपभोक्ताको चित्त दुख्नु खासै ठूलो कुरा भएन ।
अब्बल सर्कुलर जारी भइसकेकै छ, नागरिक ढुक्क भए हुन्छ, मीठो खाने, राम्रो लाउने दशैं किन कुर्ने ? अघिपछि पनि त हुने खानेलाई दशैं नै छ । बरु त्यतिबेला बढी खाए रोगी भइएला र जनस्वास्थ्य असहज हुँदा सरकारलाई पिरलो हुन्छ, त्यसैले — कम खाऊ, निरोगी होऊ भन्ने पुरानो संस्कृति नै ठीक होला ।
दशैंकै मुखमा १२ वटा राजमार्ग अवरुद्ध भएका खबरले खासै चिन्ता लोकतन्त्रलाई भएको देखिएन । अब त यो इतिहास हुन लाग्यो । नागरिक बा उपभोक्ता चिन्ता लोकतन्त्र वा गणतन्त्रको दोष होइन, ल्याएको व्यवस्था जनताले हो, जिम्मेवार हुने जनता नै हो ।
१२ राजमार्ग अवरुद्ध, १६० राजमार्ग एकतर्फी सञ्चालन हेर्दा त देशैभरि यातायात, सडक अवरुद्ध, दाउन्ने सहज भयो रे । नारायणघाट–बुटवल सडकमा म्याद थपिरहने, लागत कष्ट बढिरहने मात्रै होइन, देशैभरिका सडक पूर्वाधारहरू समयमा बनी नसक्ने, लागत खर्च बढिरहने, दोहन भइरहने, ठेकेदार मोटाउने, उपभोक्ता सुकेनास हुने आदर्श बोकेको लोकतन्त्रले परिणाम देखिने गरी काम गर्ने भनेको कागजको ठेली तयार पार्ने थियो ।
राजनीतिकर्मीहरूको उद्योग फस्टाएको र बाँकीको उद्योग, व्यवसाय गुमेको लोकतन्त्रको परिदृश्य, जति हेरे पनि कम हुन्छ । र, अन्तमा — हावा खाउँ, शुद्ध पानी त के पाइएला र आशीर्वादमा पनि मिसावट आएकाले जसो जसो बाहुन बाजे उसै उसै स्वाहा भन्दै दशैं गीत घन्काएर दिनहरू काटौँ — यही शुभकामना छ ।