
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि श्रमिक गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई दिने भिषामा कडाई भइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । आन्दोलनपछि भएको आगजनी तथा तोडफोड र कारागारबाट कैदीहरू भागेको घटनालाई लिएर श्रम गन्तव्य मुलुकहरूले नेपालीलाई प्रदान गर्ने भिसामा कडाई गरेको हुनसक्ने अनुमान गरिएको छ । अहिलेसम्म आधिकारिक रूपमा कुनै पनि देशले नेपालीलाई भिसा रोकेको नभने पनि अघोषित रूपमा भने भिसा लाग्ने समस्या देखिएको छ ।
नेपालीको मुख्य श्रम गन्तव्य युएईले अहिले भिजिट भिसा र वर्किङ भिसा रोकेको छ भने साउदी र कतारले पनि कडाई गरेका छन् । प्रस्तुत छ, समसामयिक सन्दर्भमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
जेनजी आन्दोलनपछि नेपाली श्रमिकको भिसा रोकिएको हो ?
हो, नेपालमा २३ र २४ गते जुन घटना घट्यो त्यसपछि हाम्रो केही श्रम गतव्य मुलुकले नेपाली श्रमिकलाई कडाई गरेको जस्तो देखिन्छ । नेपालमा भएको घटनालाई विश्वले हेरिरहेको हुनाले जसरी आन्दोलनमा युवाहरूको परिचालन भयो, आगलागी, तोडफोडदेखि सरकारी संरचनामा जसरी तहसनहस बनाईयो त्यो समाचारपछि नेपाली श्रमिकप्रति रोजगारदाता मुलुकले कडाई गरेका छन् ।
आन्दोलनको क्रममा करागारबाट कैदीबन्दी बाहिर आएपछि झनै समस्या भएको छ । आन्दोलनले देखिएको उग्ररूपको कारण नेपाली श्रमिकको प्रक्रियामा रहेको भिसा समेत आएको छैन ।
अहिले कुन–कुन देशले भिसा प्रक्रिया रोकेका छन् ?
युएईले भिजिट र वर्किङ दुवै भिसा रोकेको छ । यस्तै साउदी अरव, कतार लगायतका मुलुकले समेत भिसा दिएको छैनन् । यस्तै, मलेसियाले समेत भिसा रोकेको धेरै भयो । नेपालमा जुन आन्दोलन भयो अरु देशको भन्दा फरक ढंगले अगाडि बढ्यो । बंगलादेश, श्रीलंकामा समेत आन्दोलन हुँदा यस्तो भएको थिएन । यहाँ त एकै पटक उग्र आन्दोलन र त्यसपछि निकै ठूलो क्षति भयो । त्यसले नेपाली कामदारलाई हेर्ने दृष्ट्रिकोण नै परिवर्तन गराएको छ ।
आन्दोलनको क्रममा गम्भीर किसिमका घटनाहरू घटे । चोरीको घटना पनि घट्न पुगेका छन् । जेलबाट फरार भएका हजारौं कैदी अहिले पनि बाहिर छन । जेलबाट छुटेपछि केही कैदी हत्यामा संलग्न समेत भएको देखिएको छ । त्यसैले रोजगारदाताले यो घटनालाई गम्भीर रूपमा हेरेको हुनाले कामदार लैजाने प्रक्रियालाई रोकेको जस्तो देखिन्छ ।
आन्दोलनमा जुन किसिमको भ्रष्टाचार र सुशासनको पक्षमा आवाज उठाइएको थियो तर, जेनजी समूह भन्दा अरु नै समूहले घटना घटाए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली मेहनती छन् भन्ने स्थापित भएको थियो यो घट्नाले त्यसमा दाग लगाउने काम गरेको छ ।
दुबई कामदारको लागि सबैभन्दा ठूलो गन्तव्य हो । नेपालबाट गत वर्ष पनि दुई लाख भन्दा मानिस दुबई गएका थिए । युएईले भिजिट भिसासँगै कामदारको भिसा पनि पूर्णरूपमा बन्द गराएको छ । तर, औपचारिक रूपमा पत्र भने दिएको छैन । साथै, भिसा आवेदन गरेको कुनै पनि भिसाहरू स्वीकृत भएका छैनन् । युएईबाट पहिला प्रत्येक दिन ५ सय देखि ७ सय भिसा आउने गरेको थियो ।
साउदी अरबले पनि अहिले सिस्टममा गडबडी भयो भनेर रोकेको छ । कतारमा पनि अनलाइनबाट भिसा आवेदन गर्दा पेन्डिङमा राखिएको छ । त्यस्तै, अन्य देशले पनि बिस्तारै–बिस्तारै उनीहरूको सोसियल सेक्युरिटीमा असर पर्ने कारण देखाउँदै भिसा बन्द गरिएको छ ।
श्रमिक भिसा रोकिँदा अब कस्तो असर पर्छ ?
अहिले देश विसम परिस्थितिमा छ । सरकारी संरचना ध्वस्त भएका छन् । निजी क्षेत्रले गरेको लगानीमा समेत ठूलो क्षति भएको छ । रोजगारीको धेरै अवसर गुमेको छ । स्वदेशमै नयाँ रोजगारीको सम्भावना कम भएको छ । यस्तो बेलामा विदेशी मुलुकमा रोजगारीको लागि जान समेत रोकिँदा वेरोजगारीको समस्या अझै बढ्ने देखिन्छ ।
देशभरका प्रहरी चौकीमा आगजनी हुँदा शान्ति सुरक्षा मै असर परेको छ । राष्ट्रको जुन सुरक्षा दिने निकाय प्रहरी कार्यालय जलाउने, भवन जलाउने, सर्वोच्च अदालत जलाउने, सिंहदरबार जलाउने जस्ता क्रियाकलापले गर्दा आगामी दिनमा रोजगारदाता नेपाली भन्दा अन्य देशतर्फ जाने सम्भावना छ ।
आफ्नो देशमा समेत यस्तै गतिविधि भए के गर्ने भन्ने चिन्ता उनीहरूले गरेका छन् । नेपालीहरू पहिला इमानदार, वीर गोर्खाली भनेर हामी चिनिएका थियौँ । त्यो अब रहेन । अहिले हाम्रो छवि अन्तर्राष्ट्रिय जगतमा तोडफोड गर्ने, आतंक गतिविधि गर्ने, बितण्डा मच्चाउने हुन् कि भन्ने म्यासेज रोजगारदाता मुलुकका कम्पनीसम्म पुगेको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा गएको सन्देशलाई अब कसरी समाधान गर्न सकिन्छ ?
पहिलो कुरा जसरी अहिले कैदीबन्दी बाहिर छन् उनीलाई फेरि कारागारमै ल्याउनुपर्छ । समाजमा अशान्ति मच्चाउने, हिंसा भड्काउने, स्मगलिङ, रेपिस्ट, मर्डर गर्ने जो कोही पनि अहिले जेलबाट बाहिर आएका हुन सक्छन् । जबसम्म उनीहरूलाई समातेर कारबाहीको दायरामा ल्याइँदैन त्यसले समाजको शान्ति सुरक्षामा असर गर्छ । यस्तै, सार्वजनिक सम्पत्तिको क्षति गर्नेलाई कारबाहीको दायरा ल्याउन सक्नुपर्छ । नत्र फेरि यस्तै घटना हुन सक्ने डर सधैँ कायम रहन्छ ।
यस्तो बेलामा अब विदेशी लगानीकर्ता समेत आउँदैनन् भने स्वदेशी लगानीकर्ताले समेत लगानीको जोखिम लिन सक्दैनन् । यस्तै लगनीको वातावरण बनेन भने देशको पुँजी पलायनको सम्भावना समेत हुने हुँदा नेपाल अझै थप समस्यामा पर्ने देखिन्छ । त्यसैले, जसले आन्दोलनमा गतल काम गरेका छन् उनीहरूलाई सजाय दिने काम नभएसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै समयसम्म राम्रो सन्देश जाँदैन ।
यो सन्दर्भमा अब सरकारले के गर्नु पर्ला ?
नेपालमा जति पनि आन्दोलन भए आन्दोलनको लागि आन्दोलन मात्रै भए । एउटा कुनै असन्तुष्टीको विषयलाई लिएर देशको सार्वजनिक र निजी सम्पत्तिमा क्षति गराउने गरिएको छ । गणतन्त्र अघि र पछि उस्तै प्रकारको आन्दोलन हुने गरेको छ । अहिले हामीले बितण्डा मच्चाएको देख्यौं, त्यो बितण्डाको असर अझै १० वर्षसम्म पर्ने देखिन्छ ।
विशेषगरी अहिले विश्व ग्लोबल भिलेज भएको छ । नेपालमा रोजगारी नपाएर हाम्रा युवा विदेश लागिरहेका छन् तर, हामी देश बनाउने भन्दा भत्काएर विकासको बाधक भइहरेको छौँ । सरकारले नेपालमा जुन किसिमको रोजगारी दिनुपर्ने हुन्थ्यो त्यो हुन सकेको छैन । रोजगारीको अवसर त छैन, आफ्ना युवा शक्तिलाई सिप समेत सिकाउन सक्ने अवस्था छैन ।
अहिले करिब पाँच लाख भन्दा धेरै अदक्ष युवा श्रम शक्ति प्रत्येक वर्ष विदेशी श्रम बजारमा गइरहेका छन् । उनीहरू छोटो समयका लागि गएका हुन् । उमेर सकिएपछि फेरि नेपालमा नै आउनु पर्ने हुन्छ । उनीहरू सधैँको लागि पलायन भएका होइनन् । त्यसैले अब साँच्चै नै देश बनाउने हो भने युवा जनशक्तिलाई नेपालमै काम गर्ने, रोजगारी दिने वातावरण बनाउन आवश्यक छ ।