-डा. उद्धव पुरी
प्रेस स्वतन्त्रता र पत्रकारिताको इतिहासका लागि मैले गृष्मबहादुर देवकोटाको संग्रहलाई हेरेको थिएँ । उहाँको घरमा गएर उहाँसँग भेटेको पनि थिए । नेपालको इतिहासमा उहाँको कार्य र उहाँको पछिल्ला दिनहरु मैले केही हदसम्म देखेको छु । गोरखापत्रमा प्रधान सम्पादक भैसकेका र रासस, रेडियो नेपालका केही सच्चा अग्रज पत्रकारहरु जो अहिले यो संसारमा उहाँहरुको शरीर छैन उहाँहरुका अन्तिम दिनहरु र राज्यको सोचहरु पनि अनुभव गरेकै छु ।
उपत्यकामै जन्मनुभएका केही सच्चा अग्रज पत्रकारहरु उहाँहरु आफैूंले आफ्नो सम्पत्ति सकेर पत्रकारिताको एक युग बनाउनु भयो, उहाँहरु पनि अहिले शारीरिक रुपमा हुनुहुन्न तर म जस्ता धेरैले चिन्छांै र सम्झिरहेका छौं । जीवित रुपमा भारतदत्त, गोकुल पोखरेल, ध्रुबहरिदेखि आफ्ना अघिल्ला दिनहरुमा पत्रकारितामा समर्पित शरदचन्द वस्ती, शौरभलगायतका नेपाली पत्रकारितालाई अहिले पनि सही मार्गमा लागोस् भन्ने मनसाय राख्नेहरुसँग समय समयमा जोडिने मौका पाएकै हो । पत्रकारितालाई पनि बुझेका र राजनीतिको फेरो पक्रने र बेला बेलामा लाखा र पाखा परेका धेरै पत्रकारहरु अहिले पनि हुनुहुन्छ र दुलोमा हात हाल्ने काम गरिरहनु हुन्छ ।
उहाँहरुको विश्वासमा लाग्दा धेरै पटक आफूले गलत गर्दै छु कि भन्ने ठानेर तर्केको अनुभव पनि ताजै छ । बहुमत संख्यामा रहेका अहिलेका आवरणका पत्रकारहरुको दैनिकी पनि देखिराखैकै छु । नेपाली पत्रकारिताको कुन बिधाको कुन इतिहासमा कस्को कति देन भन्ने आजको लेखाइको विषय हैन । अनि राजनैतिक दलको पूर्ण भातृ संगठनका रुपमा स्थापित भैसकेका संघ र महासंघको कुरा पनि विषय बनाएर उठाउन पटक्कै मन छैन । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको प्रसंगमा धेरैका धेरै प्रकारको कथित कथा सुने पनि भोलिका दिनमा पत्रकारिताको वास्तविक इतिहास लेख्न चाहनेहरुलाई अनुसन्धान गर्न बाटो मिलोस् केही अनुभवहरु समेटन खोजेको मात्र हो ।
कालोलाई सेतो भन्ने जमातले गरेको सबै कुरालाई होस् भनेर छोड्दा पछिल्ला पुस्ताले वास्तविकता नै यही हो कि भन्ने ठान्दछन् । अहिले पनि मेरा धेरै पत्रकार मित्रहरु हुनुहुन्छ, जो पत्रकारिताको वास्तविकतालाई नजिकबाट जान्नुहुन्छ र सक्रिय बन्न सक्नु भएको छैन । कारण राजनैतिक दलहरुको भातृ संगठन पत्रकारका कुनै समुहमा बस्न मन गर्नु भएन अपितु रोजी रोटीको सही मार्गको लागि अन्यत्र नै लागिरहनु भएको छ । यता संघर्ष नेपालमा अलि कठिन नै छ । म विसं २०३७ सालदेखि अहिलेसम्म आफ्नै तरिकाले पत्रकारितामा संलग्न छु र कुनै भातृसंगठनमा संलग्न छैन ।
त्यसैले धेरैले चिनेर पनि चिन्दैनन् र धेरैले चाहेर पनि भुल्न सक्दा रहेनछन् । मलाई यी विषय र प्रसंगसँग कुनै खुसी वा हर्ष वा कुनै अपसोच वा दुःख छैन । किनभने मैले कुनै पद र पैसाको लागि प्रत्यक्ष रुपमा सामाजिक दायित्वको जिम्मेवारी रहेको वा मैले ठानेको पेशालाई थातिराख्ने मनसाय छैन । त्यसो त मैले विसं २०४७ सालदेखि कुनै पनि सम्मान र पुरस्कारका लागि मेरो कार्य नपरोस् र नहोस् भनिरहेकै छु । मेरा काम प्रमाणिक छन् र त्यही नै सम्मान हुन् भन्ने कुरा जीवनभर ठान्दछु । त्यसैले सत्यका लागि मसँग कुनै पुर्वाग्रह छैन ।
अनि मलाई यो प्रकाशन नहोला भन्ने चिन्ता पनि किन छैन भने यस पत्रिकाका सम्पादक आफैं एक्लो इतिहास हुन् जसले नेपालको सबै प्रकारको पत्रकारिता र पत्रकारको अनि राज्य र राजनैतिक दलहरुको पत्रकारितासँगको इतिहास भोगिसकेका छन् आफूलाई अहिलेसम्म हिजो जस्तै जीवित र सक्रिय गराइ रहेका छन् । यिनले भोकै र झोला नबोकेरै पनि मिष्ठान्न खानेदिन आउँदो रहेछ भन्ने यथार्थता बनाइरहेका छन् । धेरै मित्रहरुले यो धैर्यता लिन सकेनन् । नेपाली पत्रकारिताको कुरा गर्दा प्रविधिका कारण हिजो र आज धेरै परिवर्तन भएको छ ।
मेटल टंकनको युगदेखि अत्याधुनिक तीव्रताको आजका दिनहरु हामीले भोगिसकेका छौं । प्रविधिको यो सुविधासँग नेपाली पत्रकारिता सामाजिक जिम्मेवारिको मूल धर्ममा रुपान्तरित हुन सकेन । धेरै पुरानो इतिहासलाई हैन, विसं २०३७ तिरदेखिका केही संक्षिप्त प्रसंगहरु उल्लेख गर्न चाहन्छु । त्यस समय मुख्यत तीन किसिमले पत्रकारिता भैरहेको थियो । राजा र पञ्चायतलाई बोक्ने र छेक्ने पत्रकारहरुको एउटा जमात थियो जो आफ्ना कार्यहरु बौद्धिक कसरतबाट प्रमाणित गरेर देखाउँथे । अहिलेका दलहरुको भातृ संगठनका पत्रकार सदस्यहरु भन्दा धेरै गुणा पत्रकार नै थिए उनीहरु । अर्काथरीले त्यसैभित्रका बिरोधी केही त समय समयमा परिवर्तित हुन्थे र व्यवस्थाका पूर्ण बिरोधी जो २०४७ सालसम्म निकै संघर्षको जीवन बाँचे ।
अर्का एकथरी विविध कारणले साहित्यलाई पत्रकारितामा मिसाएर काम गरे भने केही कम्युनिष्ट पत्रकारितालाई जनचेतनाको मार्ग बनाउन लागेका थिए । त्यसबेला विश्व पत्रकारिताले ‘फाइभ डब्लु वान एचको’ वास्तविकतालाई उजागर गरिरहेको थियो र हाम्रो छिमेकी देश भारतमा पनि बहुमत पत्रकारहरु यही धर्म निभाउन सफल भैरहेका थिए । हामी अलि पिछडिएका थियौं । नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापना भएपछि पत्रकारिता जगतमा नयाँ सञ्चार आएको थियो । पत्रकारितालाई सहायक पेशाको रुपमा अंगालेको मैले सबै काम छाडेर यसैमा होमिएँ । तैपनि पढ्ने र पढाउने काम भने छोडेको थिइंन । सरकारी बिल्ला चाहीं छोडेको थिएँ । लगभग छ देखि दश वर्ष नेपाली पत्रकारिताको सुनौला दिनहरु बने । धेरै गरिखाने भन्दा पनि भजाई खाने साप्ताहिक पत्रिकादेखि सप्त रंगीन पत्रकारहरु आफंै पाखा लागे ।
तर यो उमंग राजनैतिक दलहरुको खिचातानी र अराष्ट्रिय सोचका कोप भाजनमा फस्न थालेका नेताहरुले नेपाली समाजको सबैभन्दा विश्वासिलो पाटो बनेको पत्रकारिता अनि त्यसलाई पेशा बनाउने आफ्नै मुटु जस्तो बनेको पत्रकारहरुबाट धोका हुन थालेका महशुस हुन थाल्यो । लगभग २०५५—०५६ सालतिर सम्म आइपुग्दा पे्रस स्वतन्त्रता र आफ्नो पहिचान भनेको पत्रकारहरु दल समर्पित हुनु र तिनको भातृ संगठनको रुपमा आफ्नो संगठनलाई उभ्याउन सक्नु महान पत्रकार बन्ने र हुने यथार्थता बन्यो । थोरै मानिसलेमात्र आफ्नो पत्रकारिताको धर्मलाई निभाए । म जस्ता धेरैले त्यसबेलादेखि आजको दिनसम्म कुनै दल र दाईको पूजा र आरती गरेनौ अनि कसैको सदस्य बनेनौ त्यो संघको नाम होस् महासंघ । हेनोस् हामीलाई भन्न र लेख्न कुनै संकोच छौन कि हाल अधिकांश सरकारी र गैर सरकारी संचारमाध्यमदेखि सरकारी निकायसम्म त्यसबेलाका हामी समान र हाम्रा पछि लागेका पत्रकारितामा प्रवेश पाएपछि पखेटा पलाएकाहरुनै नेतृत्वमा छन् ।
म आफू छापा माध्यमदेखि बिद्युत्तीय सञ्चारमाध्यम सम्मको भुक्तभोगी भएका कारण धेरै बिगतका सहयात्रीहरुलाई भोगेको छु । पत्रकारितालाईमात्र धर्म र कर्म मान्नेहरु अहिले छोरा छोरीको कमाई खाइरहेका छन् । म आफै यसलाई पूर्ण पेशा बनाउन सक्दिन । तर समाजप्रतिको दायित्वको यतिधेरै बोध हुन्छ र त्यो लत छोड्न पनि संकिदैन । प्रेस स्वतन्त्रता दिवसको यो अवसरमा लेखेको यो कुनै गुनासो र कोही प्रति लक्षित नठानियोस् । म नजान्नेलाईमात्र बुझाउन पर्छ भन्ने ठान्दछु ।
बहुमत पत्रकार हुँ भन्नेहरुलाई नपच्ने यस्ता यथार्थताको कुरा बेला बेलामा उठाइदा धेरै फाइदाहरु गुमाएकै छु । ती कुराहरु अनुचित लाग्छ र जिम्मेवारी बोधका लागि कुनै गौरव ठान्दिन । पत्रकार मित्रहरुले भन्दा पनि राजनैतिक दलका अधिकांश नेताहरुले आफूलाई नसुधारेसम्म नेपाली समाजमा पत्रकारिताको फेरि विश्वासिलो र गरिमामय दिन छाउँछ भन्ने पनि मान्दिन । अन्त्यमा बुद्धले भनेका छन् सबैभन्दा खराब वा ठूलो विष भनेको त्यो कुराको अति वा अत्यधिकता हो । जहाँ परिवर्तन प्रष्ट हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies