
काठमाडौं : एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन् ।
बहुउपयोगी सेल्फ–सर्भिस एपका रूपमा स्थापित भइसकेको एनसेल एपको प्रयोग बढवा दिने तथा डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अफर सञ्चालनमा ल्याएको हो । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।
यस अफरमार्फत ग्राहकले पार्टनर सेवामा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न सुविधा उपहारका रूपमा प्राप्त गर्न सक्नेछन् । प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा नयाँ सरप्राइज उपहार प्राप्त हुने भएकाले एपको प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको विश्वास छ ।
ग्राहकले प्राप्त गर्ने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल उत्पादन तथा यात्रा एवं साहसिक गतिविधिमा विशेष छुटलगायत सुविधा रहेका छन् ।
‘हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । ‘सेक एन्ड विन’ एनसेल एपमा पहिलोपटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहार जित्ने अवसर पनि प्रदान गर्छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ताले भने ।
एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाको सहज उपयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
आफ्नो ‘डिजिटल–फस्र्ट’ रणनीतिअनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहककेन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको महत्व अझ बढाउन कम्पनी निरन्तर लागिरहेको जनाएको छ । ‘सेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास कम्पनीले लिएको छ ।