
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
संस्थाले आफ्ना सदस्यहरूबाट संकलित रकम १५ लाख ५० हजार २ सय ५५ रुपैयाँ उक्त कोषमा जम्मा गरेको आइक्यानका उपाध्यक्ष सिए हेमकुमार काफ्लेले जानकारी दिए । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाका सदस्य, पदाधिकारी, समितिहरू तथा कर्मचारीहरूको सामूहिक सहभागिताबाट उक्त रकम संकलन गरिएको आइक्यानका उपाध्यक्ष काफ्लेले बताए ।
आइक्यानले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उल्लेख गर्दै विपद्पीडित परिवार र समुदायको राहत तथा पुनर्स्थापनामा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यस्ता मानवीय कार्यमा सरकार, निजी क्षेत्र तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको भन्दै निरन्तर सहयोगका लागि आह्वान समेत गरेको छ ।