२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

Nada
२०८३ भदौ २२ गते १८:४८
Shares
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि टेलिभिजन, ओटिटी र टिकटिङ अधिकारको टुंगो लगाएको छ । बोलपत्र प्रक्रियामार्फत छनोट गरिएका कम्पनीहरूसँग सम्झौता भएपछि यसपटक क्यानले उल्लेखनीय आर्थिक लाभ उठाउने भएको छ ।

ncell

क्यानका अनुसार ओटिटी प्लेटफर्मतर्फको विश्वव्यापी प्रसारण अधिकार नेट टिभी प्रा.लि.ले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ । प्रतिस्पर्धामा रहेको अर्को कम्पनी डिगो स्ट्रिमले १७ करोड प्रस्ताव गरे पनि उच्च बोलकबोलका आधारमा नेट टिभी चयन भएको हो । क्यानले ओटिटी अधिकारधारीलाई क्षेत्रअनुसार सदस्यता शुल्क निर्धारण गर्ने अनुमति समेत दिएको छ, जसअनुसार नेपालभित्र अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकमा ६ सय रुपैयाँ र अन्य देशमा १० अमेरिकी डलरसम्म शुल्क लिन सकिनेछ ।

टेलिभिजनतर्फ भने नेपालभित्रको प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कले पाएको छ । कम्पनीले १४ करोड ६४ लाख रुपैयाँको प्रस्ताव पेस गर्दै यो अधिकार आफ्नो नाममा पारेको हो । यससँगै टेलिभिजन र ओटिटी दुवै अधिकारबाट क्यानले कुल ३२ करोड ४८ लाख रुपैयाँ आम्दानी गर्ने भएको छ, जुन अघिल्ला संस्करणहरूको तुलनामा बढी हो ।

अघिल्ला दुई संस्करणमा भारतीय च्यानल स्टार स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रसारण सम्हालेको थियो । तेस्रो संस्करणमा पनि विदेशतर्फको टेलिभिजन प्रसारण सोही च्यानलबाट हुने अनुमान गरिएको छ ।

यसैबीच, एनपिएलको टिकट बिक्री अधिकार इसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ । सम्झौताअनुसार टिकट बिक्रीबाट हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई प्राप्त हुनेछ ।

क्यानले मिडिया र टिकटिङ सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी आधिकारिक रूपमा अधिकारधनी कम्पनीहरूलाई जिम्मेवारी हस्तान्तरण गरिसकेको जनाएको छ । आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपिएललाई यसपटक अझ व्यवस्थित र व्यावसायिक रूपमा प्रस्तुत गर्ने तयारी गरिएको क्यानले बताएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर