
काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान गरेको छ ।
भोटोकोशी बाढीपछि उद्धार तथा पुनःस्थापना कार्यहरू निरन्तर भइरहेको अवस्थामा र बाढीको पानी घट्दै जाँदा, प्रभावित समुदायहरूमा सुरक्षित र स्वस्थ जीवनयापनको अवस्था पुनस्र्थापित गर्नु अत्यन्त आवश्यक रहेको भन्दै युनिलिभर नेपाल लिमिटेडले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराएको छ, जसको मूल्य करिब १ करोड रहेको छ ।
बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै, लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनले प्रभावित परिवारलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
यस पहलका बारेमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ । यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ । हामी जारी राहत प्रयासहरूमा सहयोग पुर्याउन र प्रभावित परिवारहरूलाई पुनस्र्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौं ।’