भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको हैसियत दिने संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेसँगै दक्षिण एशियाको राजनीति तरंगित भएको छ । संविधानको धारा ३७० खारेज गरिएपछि जम्मू कश्मीर विधान सभासहितको केन्द्र शासित प्रदेश बन्न पुगेको छ भने लद्दाखलाई छुट्टै प्रदेशको मान्यता दिइएको छ । भौगोलिकरूपमा जम्मू कश्मीर राज्यमा जम्मू, कश्मीर र लद्दाख रहेका थिए । जम्मु हिन्दु बहुल छ भने कश्मीर उपत्यका मुसलमान बहुल छ । लद्दाखमा बौद्धमार्गीको संख्या धेरै छ । कश्मीरबाट अलग्ग हुन चाहने लद्दाखीहरू त भारत सरकारको नयाँ घोषणाबाट खुसी नै होलान् । लद्दाख स्थानीय संसद् अर्थात् विधानसभाविनाको केन्द्र शासित प्रदेश बनाइएको छ ।
हिंसा चर्कन थालेपछि जम्मू र कश्मीर उपत्यकाबाट पलायन भएका कश्मीरी हिन्दुहरू नयाँ व्यवस्थाबाट केही हदसम्म खुसी नै होलान् । तर मुसलमानहरू भने मूलतः हिंसा चर्कने भयले थप आतंकित छन् । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र हुँदा कश्मीर स्वतन्त्र राष्ट्र थियो । तर, मुसलमान बहुल भएकाले पाकिस्तानमा गाभ्ने दबाब बढ्न थालेपछि त्यहाँका शासकले भारतसँग सम्झौता गरी कश्मीर भारतमा गाभेका थिए । त्यसविरुद्ध कश्मीरमा आन्दोलन चर्किएपछि भारत र पाकिस्तानबीचको युद्ध अझै समाप्त भएको छैन ।
भारतले जम्मू कश्मीरबारे चालेको पछिल्लो कदमका कारण आणविक युद्धको खतरा उत्पन्न भएको पाकिस्तानका बुझाइ छ । भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खारेज गरेकोबारे संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री खानले युद्धको चेतावनी दिइसकेका छन् । भारतको यो कदमबाट कश्मीरीहरु आक्रोशित भएर भारतीय सुरक्षा बलविरुद्ध आक्रमण गर्नसक्ने र भारतले त्यसको दोष पाकिस्तानलाई दिएर पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
जम्मू कश्मीरमा भारतीय साम्राज्यवादले स्वेच्छाचारी नीति अपनाएको भन्दै विरोध पनि भएको छ । भारत सरकारले जम्मू कश्मीरका जनताको अधिकार खोसेर आफ्नो साम्रज्यवादी चरित्रलाई नांगो रुपमा प्रकट गरेको विश्लेषकहरुको आंकलन छ ।
भारतका सबै दलले कश्मीरलाई देशको अभिन्न अंग मानेका छन् । कश्मीरको सम्प्रभूता भारतमा निहित रहेको विषयमा उनीहरूबीच विवाद छैन । सम्भवतः यही कारणले नेपालले पनि कश्मीरलाई भारतको अंगका रूपमै मानेको हो । कश्मीरमा तनाव उत्पन्न हुँदा नेपाल पनि प्रभावित हुन्छ । नेपाली र कश्मीरीबीच जनस्तरको सम्बन्ध निकै पुरानो हो । कश्मीरमा पृथकतावादी आन्दोलनले आतंकको रूप लिएको धेरै भइसकेको छ । अब फेरि चर्कियो भने नेपालले पनि सुरक्षा सतर्कता बढाउनुपर्छ । तर, तिब्बतको मामिलामा चीनको साथमा उभिएजस्तै काश्मीरको मामिलामा भारतलाई चिढ्याउनु नेपालका लागि बुद्धिमानी र हितकारी हुँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies