काठमाडौं : अघिल्ला वर्षहरु जस्तै मध्य तराई भनिने प्रदेश नं २ र प्रदेश नं १ अन्तरगतको पूर्वी पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारीमा बढी निर्भर देखिएका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने क्रम यथावत रहेको छ । सो क्षेत्रबाट मुलतः मलेसिया रोजगारीमा जाने कामदारको संख्या बढी हुने गरेकोमा १४ महिना अघिदेखि मलेसियाको रोजगारी बन्द हुँदा पनि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या देशका अन्य भागको तुलनामा बढी देखिएको छ ।
विगतका वर्षहरु जस्तै यसपटक पनि धनुषा जिल्लाबाट सबैभन्दा धेरै व्यक्ति रोजगारीका खोजीमा विदेशिएका छन् । भरखरै बितेको आर्थिक बर्ष २०७५–०७६ मा उक्त जिल्लाबाट १३ हजार ७ सय २३ जना युवा पहिलो पटक वैदेशिक रोजगारीका लागि गएका छन् । धनुषापछि सिरहाबाट धेरै कामदार बाहिरिएका छन् । उक्त जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार ५ सय ५६ जना रहेको छ । तेश्रो स्थानमा रहेको झापाबाट १० हजार ९ सय २८ जना युवा युवतीहरु गएका छन् भने चौथो स्थानमा मोरङबाट ९ हजार २ सय २७ जना बिदेशिएका छन् ।
यस्तै पाँचौ स्थानमा रहेको महोत्तरीबाट ८ हजार ८ सय ३ जना, छैठौ स्थानमा रहेको सुनसरीबाट ६ हजार ६ सय ९२ जना, सातौं नम्बरमा रहेको सर्लाहीबाट ६ हजार ४ सय ४५ जना, आठौं स्थानमा रहेको नवलपरासीबाट ६ हजार २ सय ३६ जना, नवौं स्थानमा रहेको सप्तरीबाट ५ हजार ३ सय ५२ जना र दशौं स्थानमा रहेको दाङबाट ४ हजार ९ सय १९ जना वैदेशिक रोजगारीमा गएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा गएका कामदारको संख्यामा गतवर्ष करिब सवा लाखले कमी आएको थियो । सोही अनुसार समानुपातिक रुपमा सबै जिल्लाबाट वैदेशिक रोजगारीमा गएका कामदारको संख्या घटेको छ । वैदेशिक रोजगार बिभागको तथ्यांकले वैदेशिक रोजगारीमा जानेमा पहाडी जिल्ला पछाडि रहेको देखाएको छ । रोजगार क्षेत्रका विज्ञका अनुसार पूर्वी तराईबाट रोजगारीको खोजीमा विदेशिने प्रवृत्ति पुरानो हो ।
निर्वाचन मार्फत संघीय, प्रदेश तथा स्थानीय सरकारको गठन भएपछि स्थानीय तहमा रोजगारी बढ्ने र वैदेशिक रोजगारीमा जाने युवाको ताँती कम हुने विश्लेषण गरिएपनि तथ्यांकले त्यस्तो देखाएको छैन ।
केही वर्षअघिसम्म भारतको हरियाणा र पञ्जाबलगायतका शहरमा धनुषा, झापा, मोरङलगायतका जिल्लाबाट युवा काम गर्न जाने गरेका भएपनि पछिल्ला वर्षहरुमा मलेसिया र खाडी मुलुकमा जाने युवाहरुको संख्या बढेको छ । समाज शास्त्री एबं वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले सहज जीवन यापनको अवसर खोज्दै विकासका दृष्टिले पछाडि परेका पहाडी क्षेत्रबाट तराईका जिल्लामा बसाईंसराईं गरी त्यहाँबाट वैदेशिक रोजगारीमा जानेक्रम पुरानै रहेको बताउने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies