काठमाडौं : उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ । कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ ।
न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो । मन्त्री खत्री आफैं ठेकेदार हुन् । मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ । फर्जी बैंक ग्यारेन्टी गर्दा उनी जमानी बसेका थिए । ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।
बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।
प्रहरीले प्रतिवादी कायम गरी पठाइएका मन्त्री खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नदेखिएपछि यस्तो आदेश जारी भएको प्रवक्ता मोहन सुवेदीले बताए । ‘मुद्दामा प्रतिवादी बनाइए पनि मान्छे पक्राउ नपरेकाले मन्त्री भएको भए तीन दिनभित्र उपस्थित गराउने आदेश भएको हो,’ सुवेदीले भने।
साधारण व्यक्ति भए अदालतले आफैं पक्राउको म्याद जारी गर्ने गर्छ । सार्वजनिक पद धारण गरेको व्यक्ति भएकालाई पक्राउ गर्न कठिनाइ नरहेका कारण तीन दिनको आदेश जारी भएको प्रवक्ता सुवेदीले बताए । श्रेष्ठको हकमा भने अदालतले म्याद जारी गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies