–गणेश लोहनी
चकमन्न रात
निशाचर बाहेक
भुसुक्क भाते निन्द्रामा
मानव बस्तीहरू
किरा फट्याङ्ग्राको सिकारी
टिक्टिक गर्दै
ओहोरदोहोर गर्दै गरेका
भित्ताहरू काम्न थाले
जगैदेखि हल्लियो घर
गल्र्याम् गुर्लुम् ढले
जीर्ण मट्याइला भित्ताहरू
र एकै साथ
निन्द्राबाट नब्यूँझने गरी
बिदा भए
सयौँ प्रिय मान्छेहरू
विध्वंसक भूकम्पको
रौद्र ताण्डवका कारण !
कहिलेकाहीँ
आफ्नै फाइदाका लागि
मनपरी गर्ने
शासकहरू जस्तै
विवेकहीन बनेर
धङधङाउँछ प्रकृति
वर्षन्छ विधाताको लाठी
बालो भन्दैन
बृद्ध भन्दैन
अशक्त भन्दैन
सबैमाथि समानरूपमा
कहर बनेर वर्षन्छ
आन्दोलनकारीमाथि
जाइलागेका
दङ्गा प्रहरीजस्तै
निर्मम प्रहार गर्छ प्रकृति
निर्दोष निरीहहरूमाथि
कठै !
धनजनको क्षति आँकिन्छ
कम्पन
पराकम्पनको
तह नापिन्छ
राहत
पुनर्निर्माणको
खुङ्ङा थापिन्छ
सयौँ हजारौँको
करुण क्रन्दन भजाएर
आफ्ना दुना सोझ्याउनेहरू
दयाभावका गीत घन्काउँदै
बस्तीमा पस्छन्
अनि हत्याउँछन् डाडुपन्यु
र थालिन्छ विभेदको बितण्डा
हकदारको मुख मोसेर
आफन्तका पोल्टा भरिन्छ
जे–जे नगर्नु पर्ने
बस त्यही
त्यही गरिन्छ
यसरी पीडित मनमुटुमा
अर्को कु–कम्प ल्याइन्छ !
थाहा छ
काल सबैको आउँछ
तर किन ?
मान्छे अरूको कालबाट
आफ्नो सकाल खोज्छ ?
आर्तहरूको घाउमा
मलमपट्टीको बदला
पीडा थप्नमै उद्यत रहन्छ ?
भो अब
अति भो
आऊ
हातेमालो गरौँ
पीडितहरूको उद्धारमा
यथासम्भव योगदान गरौँ
जो गए उनीहरूमा
हार्दिक श्रद्धाञ्जली !
घाइतेहरूको शीघ्र
स्वास्थ्य लाभको कामना
प्रभावितहरू सबैमा
यथासक्य सहयोग गरौँ
यस्ता प्राकृतिक बिपत्तिमा
सहारा बनौँ
अब फेरि न दोहोरिउन्
यस्ता भूकम्प भनौँ !!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies