पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राका क्रममा धनकुटा पुगेका नेकपा एमालेका केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । फूलमाला सहित उभिएकै लाइनबाट एक सर्वसाधरणले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । यद्यपि सुरक्षाकर्मीले आक्रमणबाट अध्यक्ष ओलीलाई जोगाएका छन् । आक्रमणको प्रयत्न गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । एमालेले भने आफ्नो अध्यक्षमाथि भएको आक्रमणलाई छोप्ने प्रयास गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बक्तव्य जारी गरेर अनि अरू नेताहरुले सामाजिक सञ्जालबाट अध्यक्ष ओलीमाथि कुनै आक्रमण नभएको प्रष्टोक्ति दिएका छन् । मदिरापान गरेका ब्यक्ति भएकाले कुनै नियोजित आक्रमण नभएको उनीहरुको तर्क छ ।
प्रमुख प्रतिपक्षी दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीमाथि आक्रमणकै प्रयास गरिनु पक्कैपनि निन्दनीय कुरा हो । असहमति राख्ने लोकतान्त्रिक विधि भएपनि आक्रमण जस्तो निन्दनीय घटनाप्रति एमाले मात्रै नभएर सचेत पंक्तिले अस्वीकार गर्नुपर्छ । तर आक्रमणको प्रयासजस्तो अप्रिय घटनालाई पनि समाजको ठूलै पंक्तिले स्वागत गरेको देखिन्छ । एमाले इतर पंक्तिमा खुशियाली नै देखिन्छ भने सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू सकारात्मक छैनन् । ती प्रतिक्रियाहरू हेर्दा बृद्ध अवस्थामा पुगेका कुनैपनि नेतासँग जनता खुशी नरहेको थप पुष्टि हुन्छ । त्यसैले धनकुटामा भएको आक्रमणको प्रयास भवितव्य नै भएपनि त्यसलाई जनताको आक्रोशकै रुपमा लिन सकिन्छ । किनकि निन्दनीय घटनापछि देखिएका आमप्रतिक्रिया उति धेरै सकारात्मक देखिदैनन् ।
शीर्ष नेतृत्वमाथि आक्रमणको प्रयास पहिलोपटक भएको चाहिँ होइन । यसअघि वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि समेत आक्रमणको प्रयास भएको थियो । यसपटक फेरि त्यही निन्दनीय घटना पुनरावृत्त हुन पुगेको छ । नेताहरुकै भाषामा यो एकप्रकारले अराजकता हो । तर त्यस्तो अराजकतासम्म पुग्ने बाटो भने राजनीतिक नेतृत्वले नै तयार पार्दै आएका छन् । बिहीबारकै घटना हेर्दा पनि धनकुटामा ओलीमाथि आक्रमणको प्रयास हुँदै गर्दा ज्यान हत्याकै आरोप खेपिरहेका सांसद लक्ष्मी कोइरी महतोले अदालतबाट सफाइ पाइरहेका थिए भने नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेश आएको थियो । अदालतले पक्कैपनि आधार टेकेरै त्यस्तो फैसला गरेको हुनुपर्छ । तर राजनीतिक नेतृत्वले यसअघि खाँण र कोइरीबारे जस्तो अभिव्यक्ति दिएका थिए, त्यसले नागरिकमा आशंका उत्पन्न हुन पुग्यो । विधिको शासनमाथि उल्लङ्घन भएका यस्ता अनेक शृङ्खला छन्, जसले नागरिकमाथि आक्रोश उत्पन्न गराइरहेको छ । त्यसैले धनकुटामा आक्रमणको प्रयास भएको हो वा होइन भन्नेतिर अल्मलिने भन्दा पनि नागरिकको विश्वास जित्नेगरी राजनीतिक नेतृत्वले सोच्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies