तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो चरणको अडिसन शुक्रबार सम्पन्न भएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना पुगे पनि गायन विधामा २६ जना र नृत्य विधामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए । गायन प्रतिस्पर्धाबाट १९ जना र नृत्य प्रतिस्पर्धाबाट १० जना तेस्रो चरणमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान अलसलातामा रहेको कतार च्यारिटीको हल र नज्माको सम्पन्न आइडलको प्रतिस्पर्धाको गायन विधाबाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बू, भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिंह परियार, इसान रेग्मी, सुरज केसी, मालती लामा, बनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बू, प्रविन रामदाम, क्षितिज तामाङ, रश्मी विश्वकर्मा, उत्तम राई र सरला तामाङ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै नृत्य विधातर्फ जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा र सुनिता शेर्पा अर्को चरणमा प्रवेश गरेका छन् । प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका थिए भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए । कमलमणि गुरागाईं र बुधबल गुरुङ पर्यवेक्षकका रूपमा रहेका थिए ।
बार्बी खड्का, आरुषि रिजाल र आरजु राईले स्वागत नृत्यमार्फत कार्यक्रमको सांगीतिक ढोका उघारेका थिए । एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा एनआरएनए आईसीसीका उपाध्यक्ष राज रेग्मी अतिथि निर्णायक रहेको कार्यक्रममा तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथि जजका रूपमा रहेका रेग्मीले सहभागीहरूले रोजगारीका लागी विदेशमा रहँदा पनि नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि गरेको सरहानीय कार्यको प्रशंसा गरेका थिए ।
उनले सहभागीहरूलाई सांगीतिक तथा व्यक्तिगत जीवनमा प्रगतिको कामना गरेका थिए । आफ्नो शुभकामना मन्तव्य राख्दै तमु समाजकी अध्यक्ष गुरुङले भाइचाराका लागि संगीतले पुलको काम गर्ने बताइन् । उनले कलाकार बिनाको संगीत र संगीत बिनाको कलाकारको कल्पना गर्न नसकिने बताइन् ।
एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ । प्रतियोगिताको तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies