तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : राजधानीलाई सपनाको शहर पनि भनिन्छ । सपनीको शहरमा विभिन्न मानिस विभिन्न उद्देश्य र आकांक्षाले पुग्ने गरेका छन् । मोफसलबाट राजधानी अस्थायी बसोबास गर्नेसँग ठूला सपना केही नभए पनि आफ्ना लक्ष्य राजधानीले पूरा गर्छ भन्ने आशाको दियो जस्तै विश्वास हुन्छ । यस्तै सीमित सपना बोकेर राजधानी छिरेकी हुन् धरानकी निशा खपाङ्गी, चितवनकी विमला गुरुङ, धरानकै इशिका विश्वकर्मा र सिन्धुपाल्चोककी रेनु श्याङ्बो । भक्तपुर निवासी मुस्कान चौगुठीसँगको भेट उनीहरूको धेरै पुरानो नभए पनि एकै आमाका सन्तान जस्तो मान्छन् उनीहरू आफूहरूलाई ।
गीतसंगीतमा केही गर्ने सपनालाई साकार पार्न यी पाँच युवती अलग अलग ब्याण्डमा रहेर गाउने बजाउने गरेको बताउँछिन् विमला । मध्यान्ह दैनिकसँग कुरा गर्दै विमलाले अलग अलग ब्याण्डमा रहन भन्दा एउटा ब्याण्ड स्थापना गरेर संयुक्तरूपमा अगाडि बढ्न गरेको प्रस्ताव बाँकी ब्याण्डका मेम्बरले स्वीकार गरेपछि सन् २०२३ मार्च १५ मा ‘स्त्री ब्याण्ड’को स्थापना गरिएको बताइन् ।
शुरुवाती दिनमा गीत गाउँदै टिकटक, इन्स्टामा रिल हाल्ने गरेको स्मरण गर्दै आफूहरूलाई सामाजिक सञ्जालले फरक पहिचान दिएको उनी बताउँछिन् । ब्याण्डमा सबै महिलाहरू मात्र भएको हुँदा स्त्री ब्याण्ड राखे पनि उनीहरूले सबै भर्सन र सबै कलाकारका गीत गाउने गरेका छन् । सक्रिय ब्याण्डहरूले झैं यो ब्याण्डले नेपालसहित भारतका केही शहरमा आफ्नो प्रस्तुतिद्वारा धमाका मच्चाइसकेको छ । विभिन्न सहयोग अभियानमा समेत आफ्नो प्रस्तुतिद्वारा योगदान गर्दै आएको ब्याण्डले पहिलो पटक कतारमा सांगीतिक प्रस्तुति दिँदै धमाका मच्चाएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर ग्राण्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एण्ड बारले आयोजना गरेको ‘न्यु इयर धमाका’मा ब्याण्डले गत बिहीबार, शुक्रवार र आइतबार गरी तीन दिन धमाका मच्चाएर नेपाल फर्किसकेको छ ।
आइतबार राति क्लबको स्टेजमा विभिन्न भेषभुषामा सजिएका मेन भोकलिष्ट निशा खपाङ्गी, ड्रमर विमला गुरुङ, लिड गितारिष्ट इशिका विश्वकर्मा, रिदम गितारिष्ट मुस्कान चौगुठी र बेस गितारिष्ट रेनु श्याङ्बो देखिए । ‘यो मन त मेरो नेपाली हो’ बोलको देशभक्ति गीतबाट प्रस्तुति राख्न शुरु गरेको ब्याण्डले लगातार एक दर्जन गीत प्रस्तुत गर्दै नयाँ साल मनाउन आएका पाहुनालाई सँगै गाउँदै नाच्न बाध्य पा¥यो । स्वदेशी तथा विदेशीसम्मका दर्शक उनीहरूको प्रस्तुतिमा मध्यरातसम्म झुमे । विदेशी नागरिकलेसमेत उनीहरूको लाइभ प्रस्तुतिमा जानी नजानी सँगै गाए र रमाए ।
तीन दिन फरक–फरक जनरा तथा भाषाका गीत गाउँदै कतारमा ब्याण्डले वाहीवाही कमाउँदै सोमबार नेपाल फर्किएको छ । नेपाल फर्किनु पूर्व आयोजकले ब्याण्डका सबै सदस्यहरूलाई सम्मान पत्रले सम्मान गर्दै बिदाइ गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies