तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : ‘गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’को गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि चुमेका छन् । शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा सम्पन्न ग्राण्ड फिनालेमा गायनबाट उपविजेता सुजन गुरुङ र नृत्य विधातर्फ सरोज लामा उपविजेता बन्दा उनीहरूले ताराको उपाधि चुमेका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताका गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे भने उपविजेताले जनही ७५ हजार रुपैयाँ प्राप्त गरे ।
१ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको प्रतियोगितामा कूल ४७ जना सहभागी भएका थिए भने ग्राण्ड फिनालेमा नृत्य विधामा जुनमाया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चाहारले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । गायन विधामा दीपक कुमार घले, इसान रेग्मी, सुजन गुरुङ, मानसिंह परियार र रुस्तम तामाङले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी स्कुले जीवनकालदेखि गाउन शुरु गरेको स्मरण गर्छन् । आफ्ना कुनै पनि एल्बम सार्वजनिक नगरे पनि थुप्रै स्टेजमा प्रस्तुति दिएको अनुभव उनीसँग छ । अडिसन राउण्ड रामकृष्ण ढकालको गीत गाएर छनोट भएका उनी ग्राण्ड फिनालेमा अतिथि निर्णायक रूपमा ढकाललाई पाउँदा खुसी मात्र भएनन् उनको गायिकीको ढकालले तारिफ गर्दा फुरुङ्ग परेका उनी ढकालकै हातबाट आफूले जितेको पुरस्कारको राशि थाप्दा निकै खुसी देखिए । उनले पुरस्कारको राशि गीतसंगीतमै खर्च गर्ने बताए ।
इलामको बिब्लाटे डाँडा गाउँमा जन्मिएकी निरु श्रेष्ठ विगत चार सालदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छिन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरे पनि प्रतिस्पर्धामा भने पहिलो पटक भाग लिएर पहिलो पटक नै उपाधि जितेकी हुन् । नेपालबाट अतिथि निर्णायकका रूपमा आएकी नायिका मोडल पूर्णिमा श्रेष्ठले पनि उनको नृत्यको तारिफ गरिन् । उनले उपाधिको रकम कहीँ न कहीँ सकारात्मक काममै खर्च गर्ने बताइन् ।
गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा– २०२३ कतार सिजन ४’को ग्राण्ड फिनाले संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवतरूपमा अगाडि बढेको कार्यक्रममा तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने स्वागत नृत्य र स्वागत गीतद्वारा उपस्थितलाई स्वागत गरिएको थियो । नेपालबाट अतिथि निर्णायकका रूपमा कतार आएका अतिथि निर्णायक ढकालले आफ्ना कालजयी गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरे भने अर्की निर्णायक श्रेष्ठले पनि मसुप गीतमा आकर्षक नृत्य पेस गरिन् ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले यो प्रतियोगिता एक नमुना मात्र नभइ पृथक कार्यक्रम बनेको बताउँदै कार्यक्रमका लागि हल व्यवस्थापन गरिदिने कतार च्यारिटीलाई कृतज्ञता प्रकट गरे । एनआरएनए आईसीसीसहित कतारमा स्थापित विभिन्न सामाजिक, सामुदायिक वैचारिक संगठनका अध्यक्ष तथा विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो भने उनीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कमलमणि गुरागाईं, क्रान्ति सिंह, करिम बक्स मियाँ र बुधबल गुरुङ परीवेक्षक रहेको कार्यक्रममा आइडलका गायन विधाका निर्णायक मङ्गल बिक र वीरेन्द्र श्रेष्ठले समेत सांगीतिक प्रस्तुति दिए । नृत्य विधाका निर्णायक भविन तामाङ, भीम प्रसाद गुरुङ र जनक थापा मगरसहित टौमाया गुरुङ, शिला गुरुङ र सोनी आले मगरले सामूहिक नृत्य पेस गरे । नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज र तमु (गुरुङ) समाज कतारका कलाकारहरूले सामूहिक नृत्य पेस गरेका थिए भने गोबिन गुरुङले आफ्नो गायिकीमार्फत उपस्थितलाई झुमाएका थिए ।
कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई फेटाद्वारा सम्मान गरिएको थियो भने ग्राण्ड फिनालेमा पुग्न सफल दश प्रतियोगी, अतिथि निर्णायकसहित वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक, भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो । चार चरणमा सम्पन्न आइडलका अतिथि राज रेग्मी, प्रभात त्रिपाठी, ग्राण्ड फिनालेका अतिथि निर्णायकद्वय एनआरएनए आईसीसीका उप– महासचिव प्रवीण गुरुङ र नरेन्द्र बहादुर भाटलाई समेत सम्मान गरिएको थियो ।
संघका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति भट्टले प्रतियोगिताका विजयीहरूलाई शुभकामना दिँदै आइडललाई सफल बनाउन विभिन्न कोणबाट सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies