दिलमाया शाही/मध्यान्ह
जुम्ला : यही फागुन १५ गते जुम्लामा हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक जुम्लामा सञ्चालन हुने प्रतियोगिता फागुन १५ देखि १९ गतेसम्म सञ्चालन हुने छ ।
जुम्ला जिल्ला फुटबल संघका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको प्रतियोगितामा सहभागी हुने खेलाडी छानोटका लागि प्रतियोगिता हुन लागेको हो । यसको तयारी स्वरुप पहिलो पटक जुम्लाको सदरमुकाम खलंगामा २४ नम्बर वाहिनी अड्डाको खेलमैदानमा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
जुम्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालका अनुसार कर्णालीका १० जिल्लामध्येबाट ६ जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी हुने भएका छन् । आयोजकका अनुसार यसपटक कर्णालीमा जुम्लासहित मुगु, कालीकोट, हुम्ला, जाजरकोट र सुर्खेत सहभागी हुने भएका छन् ।
त्यस्तै कर्णालीका १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी सहभागी हुने जिल्ला फुटबल संघको अनुमान छ । प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनोट भएका खेलाडीहरु सिधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने फुटबल संघका उपाध्यक्ष रोशन श्रेष्ठले बताए ।
कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।
जिल्ला खेलकुद विकास समितिका सदस्य–सचिव संगिता आचार्यका अनुसार खेलको जिम्मा जिल्ला खेलकुद संघलाई दिइएको छ । खेलकुदको व्यवस्थापनका लागि स्थानीय सरकारले पनि समन्वय गर्ने उनले बताइन् ।
चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले खेलमैदान राजसिममा पनि निर्माणको काम तीव्र भइरहेको बताए । उनका अनुसार उद्घाटन खेल नेपाली सेनाको वाहिनी अड्डामा खेलाइने भएपनि एक खेल नयाँ मैदानमा खेलाउने तयारी भइरहेको छ ।
पत्रकार सम्मेलनमा जुम्ला जिल्ला फुटबल संघका उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव दिपेन्द्र हमालसहित जिल्लाका पदाधिकारी, पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा गोलाप्रथाबाट खेलको टाइसिट समेत आयोजकले सार्वजनिक गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies