नेपाली कला र मनोरञ्जनको जगतमा दिवाकर भण्डारी लोकप्रिय नाम हो । कास्की जिल्लाको हालको अन्नपूर्ण गाउँपालिका–२ मा जन्मिएका उनी चर्चित टेलिश्रृंखला ‘मेरी बास्सै’ का कलाकार (सापटी काका), लेखक तथा निर्देशक हुन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा रमाउँदै विगत झण्डै तीन दशकदेखि व्यावसायिकरुपमा यसैमा समर्पित भण्डारीले थुप्रै गीत, सडक नाटक, टेलिचलचित्र र चलचित्रहरूमा विभिन्न विधाको अनुभव सँगालिसकेका छन् । प्रस्तुत छ– दर्जनौं सम्मान, पुरस्कार अनि अवार्डबाट विभुषित भण्डारीसँग उत्तम कार्कीको संवाद :
तपाईंको कलाकारिता यात्राको थालनी कसरी भयो ?
मेरो कलाकारिता यात्राको थालनी निर्दोष उमेरबाटै भएको हो । जतिबेला गाउँघरको औपचारिक पूजाआजा, बिहेबटुलो, चाडबाड आदिमा पुग्थें र रमाइलो गर्दथें त्यतिबेलाबाटै बिउ रोपियो भन्दा हुन्छ । पछि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमध्ये गायन, नृत्य र अभिनयमा म तिखारिएँ । आठ कक्षासम्म पुग्दा विद्यालयको साँस्कृतिक कार्यक्रममा प्रायः प्रथम हुन थालें । अनि दशमा पुग्दा त त्यस्ता कार्यक्रमहरूको संयोजनमात्रै गरिनँ, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय आदि कार्यक्रममा सर्वोत्कृष्ट कलाकारको रूपमा चिनिएँ । मैले २०५१ सालमा श्री माछापुच्छ्रे माध्यमिक विद्यालयबाट एसएलसी पास गरेलगतै चेतनामूलक सडक नाटकको लेखन÷निर्देशन गरेको छु ।
त्यो रहरले गर्नुभयो कि पैसाका लागि ?
रहर, चाहना, रुचि, सोख त छदैछ त्यसको अलावा पैसाका लागि व्यावसायिक कलाकारिता पनि भयो नि । त्यतिबेला दैनिक ८० रुपैयाँको दरले काम गरेको मेरो मानसपटलमा अझै ताजा छ ।
अनि त्यसपछि के गर्नुभयो ?
यसरी सडक नाटकलगायतको काम २०५६ सालसम्म गरें । अनि टेलिचलचित्र ‘धुन’ मार्फत अभिनय यात्रा अगाडि बढाएँ । त्यसपछि त दर्जनौ नाटक मञ्चन, लेखन र निर्देशन गरें । २०६१ मा ‘एउटै मिल्यो हजारौं हजारमा...’ र ‘दाइ त हङकङको...’ बोलको गीत समावेश गीति एल्बम ‘एउटै मिल्यो हजारौं हजारमा’ ल्याएँ । यही दौरानमा टेलिचलचित्रमा अभिनय, सहायक निर्देशन तथा निर्देशन गरें ।
जस्तै कहाँ–कहाँ, कुन–कुन भूमिकामा काम गर्नुभयो ?
मैले २०६६ सालमा नेपाली चलचित्र ‘चिनो’ मा अभिनय गरें । २०६७ मा टेलिचलचित्र ‘मेरी गंगा’ को निर्देशन गरें । यसैगरी २०६८ मा चलचित्र ‘राज’, २०६९ मा ‘कन्यादान’ र २०७० मा ‘नाइँ नभन्नु ल–२’ मा अभिनयमार्फत कला–क्षमता माझें । ‘एके फोट्टी सेभेन’ र ‘गडबडी’ माचाहिँ अभिनयका साथै मुख्य सहायक निर्देशन गरें । यस्तै २०७२/७३ मा टेलिचलचित्र ‘ल खत्तम’ मा ७२ भागसम्म अभिनय, लेखन र निर्देशन गरें । २०७३ सालपछि भने मुख्यतः हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय, लेखन र निर्देशन गर्दै आइरहेको छु ।
यी विधामध्ये कुन चाहिँ कठिन हुन्छ ?
कठिन त आ–आफ्नो क्षेत्रमा सवै छन् । तर सवैभन्दा बढी कठिन भनेको निर्देशन हो । कला–मनोरञ्जन क्षेत्रको मियो भनेकै निर्देशन÷निर्देशक हो । यसले सवै विधाका संयोजन र सम्पादन गर्दछ ।
यो क्षेत्रमा लागेर कस्तो अनुभूति भइरहेको छ ?
मलाई त रमाइलो लागेको छ । यसै क्षेत्रमा सन्तुष्ट पनि छु । अहिलेसम्म जेजति पाएको छु, यो सवै कलाकारिता क्षेत्रबाटै पाएको हुँ । पछुताउन पर्नेगरी आजको मितिसम्म केही गुमाएको छन । लाखौं दर्शकको सद्भाव, माया पाएको छु । कलाकारितामा मैले अझै धेरै गर्न बाँकी नै छ । उद्देश्य टाढाकै लिएको छु । अब अन्तर्राष्ट्रिय स्तरको निर्देशक बन्ने लक्ष्य छ ।
समाज–राष्ट्रको पक्षमा के योगदान गर्नुभएको छ त ?
मैले कलाकारिताको माध्यमबाट अहिलेसम्म जेजति असल कर्म गरिरहेको छु यो भनेकै समाज–राष्ट्रको लागि हो । विगत ६ वर्षदेखि ५ जना अनाथ बालबालिकाको अध्ययन÷विद्यालय खर्च पनि व्यहोर्दैआएको छु । यसबाहेक भूकम्प, नाकावन्दी, कोरोना, बाढीपहिरोलगायत महामारी र संकटका बेला सहयोग, उद्धार तथा राहत वितरणजस्ता सामाजिक कार्य समेत गरिरहेको छु । मेरो सास रहेसम्म समाज र राष्ट्रकै हितमा काम गर्छु ।
तपाईंको कामको सही मूल्यांकन भएको छ त ?
अहिलेसम्म त मज्जाले भएको छ । जस्तो कि म नेपाल रेडक्रस सोसाइटी र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य छु । लाइन्स क्लब, चलचित्र कलाकार संघ अनि टेलिफिल्म कलाकर्मी मञ्चको सदस्य छु । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको सचिवालय सदस्य छु । मेरो कला र योगदानको कदरस्वरुप विभिन्न संस्थाले अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान गरेका छन् । चर्चित कलाकार तथा निर्देशकको हैसियतमा मैले ‘नेशनल टेलिफिल्म अवार्ड–२०७९’, ‘नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव सम्मान’, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीबाट सम्मान–२०७८’, ‘ढिकुरपोखरी समाज सम्मान–२०७८’, ‘ढिकुरपोखरी युवा क्लब सम्मान–२०७६’ आदि पाएको छु । यस्तै कला–मनोरञ्जनसँग सम्बन्धित कार्यक्रममा कुशल निर्णायकको भूमिका पनि निर्वाह गरेको छु ।
मानसम्मानमात्रै हो कि आर्थिक सवलता पनि भएको छ ?
मानसम्मानको अतिरिक्त आर्थिकोपार्जन पनि राम्रो छ । ममात्रै होइन, नेपालमा अहिले दक्ष, व्यावसायिक कलाकार आर्थिक रुपमा निकै सवल छन् । मेरो कुरा गर्नुहुन्छ भने म यही पेशाबाट समुन्नत छु । आफ्नो, घरखर्च चल्नेमात्रै होइन, राम्रो कमाइ भएकाले वचत पनि राम्रै छ । फेरि, म धेरै विधामा सक्रिय छु, व्यस्त छु । यस अर्थमा म अरुको तुलनामा महँगो भएकाले आम्दानीसमेत राम्रै हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies