–लोक नारायण सुवेदी
विश्वमा एकातिर सानो जनसंख्या चाहिनेभन्दा धनी बनिरहेको छ भने अर्कोतिर ठूलो जनसंख्या अत्याधिक गरिब बन्दै । जुन असमानताको खाडल निरन्तर बढिरहेको छ । यो विश्वभरीको गरीब र धनाढ्यहरू बीचको आजको यथार्थ चित्र हो । यो कुरा हाम्रो देश नेपाललगायत विश्वका अधिकांश देशहरूको आर्थिक असमानताको तस्वीर पनि हो । गरिबी उन्मुलनका लागि कार्यरत एउटा गैरसरकारी संस्था ‘अक्सफाम इण्टरनेशनल’ले गएको महिना विश्व आर्थिक मञ्चको बैठकमा आर्थिक असमानताका बिषयमा आफ्नो बार्षिक प्रतिवेदन जारी गर्दै बताएको थियो कि बितेका केही वर्षयता अति सम्पन्न र बिपन्नताबीचको खाडल पूरै विश्वभरी तीव्र गतिले बढेको छ । त्यस प्रतिवेदनले भनेको छ कि आर्थिक असमानता दृष्टिगत गर्दा बितेका केही वर्षहरू अत्यन्तै खराब साबित भएका छन् र बिगत चार वर्षयता कोरोना महामारी, युद्ध र महँगीले जुन स्तरमा विश्वभरी नै अर्बौ अर्ब मानिसहरूलाई गरीब बनाएको छ । २०२० यतादेखि अहिलेसम्म विश्वका झण्डै पाँच अर्ब मानिस गरीब हुन पुगेका छन् ।
अक्सफामको प्रतिवेदनमा के चिन्ता पनि व्यक्त गरिएको छ भने एकातिर जहाँ मुठ्ठीभर मानिसहरूको अधिकतम कमाई भएको देखिन्छ भने अर्कोतिर अर्बौंं मानिसहरूको कमाई कमभन्दा कम हुँदै गइरहेको छ । त्यस प्रतिवेदनका अनुसार विश्वका सबैभन्दा माथि शीर्षका पाँच जना अति धनाढ्यको सम्पत्ति बितेको चार वर्षको समयका ४०५ अर्ब अमेरिकी डलर दोब्बरभन्दा बढी बढेर ८६९ अर्ब अमेरिकी डलर हुन पुगेको छ । जसको स्पष्ट अर्थ हुन्छ कि चार वर्षको क्रममा ती पाँच जना विश्वका अति धनाढ्य मानिसलाई हरेक घण्टा १४ मिलियन डलर झण्डै १९० मिलियन करोड रुपैयाँ बराबरको कमाई भएको छ । अक्सफामका अनुसार सबैभन्दा धनाढ्यले साँठगाँठ गर्ने पुुँजीवाद र बिरासतको माध्यमले कमाएको सम्पत्तिको यति ठूलो हिस्सा हडप गरेको छ जबकी गरीबले अहिले पनि न्यूनतम तलब आर्जित गर्ने र गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाहरूसम्म पहुँच पुग्नका लागि संघर्ष गर्न बाध्य हुनु परिरहेको छ । तिनीहरू लगातार कम लगानीबाट पीडित छन् । यो बढ्दो दूरी र बढ्दो असमानताले महिलाहरू र बालबच्चाहरू सबैभन्दा बढी प्रभावित तुल्याउँदछ ।
विश्वका अर्बपतिहरूको सम्पत्ति बितेको चार वर्षमा ३.३ ट्रिलियन डलरभन्दा बढीले बढेको छ, जबकी विश्वका पाँच वटा सबैभन्दा ठूला अर्थव्यवस्थामध्येको भारतको जिडीपी ३.५ ट्रिलियन डलर छ । अनि विश्वका १४८ शीर्ष घरानाकाले १८०० अर्ब अमेरिकी डलर बराबरको मुनाफा कामाएका छन्, जुन तीन वर्षको सरदरभन्दा ५२ प्रतिशतभन्दा बढी रहेको छ । अनि जहाँ सबैभन्दा धनाढ्य शेयर धारकहरूलाई ठूलो रकम राशीको भुक्तानी दिइने गरेको छ भने संसारका करोडौं करोड मानिसहरूले वास्तविक अबधिको तलबमा कटौतीको सामना गर्नु परिरहेको छ । अक्सफामले जनाएअनुसार यदि अहिलेको प्रवृत्ति जारी रहँदै जाने हो भने विश्वबाट गरिबी आगामी २२९ वर्ष पार गरिसक्दा पनि हटाउन सकिँदैन ।
अक्सफामले भारतको सन्दर्भमा पनि के भनेको छ भने भारत विश्वको सबैभन्दा तीव्र गतिले बढिरहेको अर्थव्यवस्था मानिन्छ तर, सबैभन्दा बढी असमानता बढेको देशमा पनि भारत नै एउटा प्रमुख देश समेत मानिन्छ । भारतीय जनसंख्यमा शीर्ष सबैभन्दा माथिका १० प्रतिशत मानिसहरूसँग कूल राष्ट्रिय सम्पत्तिको ७७ प्रतिशत हिस्सा केन्द्रीत रहेको छ । २०१७ मा उत्पन्न ७३ प्रतिश्त सम्पत्ति सबैभन्दा धनाढ्य एक प्रतिशत व्यक्तिहरूकोमा पुगेको थियो जबकि ६७० मिलियन भारतीयहरू जो जनसंख्याको सबैभन्दा गरीब तप्काको आधा हिस्सामा पर्दछन् तिनको सम्पत्तिमा भने केवल आधा प्रतिशत हिस्सा मात्र परेको देखिएको थियो ।
अक्सफामले दर्शाएको प्रतिवेदनअनुसार भारतमा एक दशकमा अर्बपतिहरूको सम्पत्ति झण्डै १० दोब्बर बढ्न पुग्यो । तिनको कूल सम्पत्ति आर्थिक वर्ष २०१८–१९ मा भारतको पूरै केन्द्रिय बजेटभन्दा बढी रहेको छ, जुन २४ हजार ४२२ बिलियन थियो । जबकि आम भारतीय जनता आफ्नो आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पुग्न अझै सकेका छैनन् । जसमध्ये ६३ मिलियन (हरेक सेकेण्ड भरीमा दुई जना) मानिस प्रतिवर्ष स्वास्थ्यको हेरचाह गर्ने लागतका कारण गरिबीको रेखामुनि धकेलिने गरेका छन् । भारत सरकारले आफ्ना सबैभन्दा सम्पन्न धनाढ्य नागरिकहरूमाथि मुश्किलले कर लगाउने गर्दछ तर, सार्वजनिक स्वास्थ्य हेरचाहमाथि उसको खर्च भने विश्वमै सबैभन्दा कम रहेको छ । उता ठूलो रकम राशि पोषित स्वास्थ्य सेवाको स्थानमा उसले तीव्र गतिले शक्तिशाली व्यापारिक स्वास्थ्य क्षेत्रलाई बढावा दिएको छ । परिणमस्वरुप राम्रो स्वास्थ्यको हेरचाह गर्नु केवल ती मानिसहरूको लागि उपलब्ध बिलाशिता हो जसका लागि भूक्तान गर्ने पैसा सधैँ रहन्छ ।
तर, अहिलेलाई विश्वका कतिपय देशहरूका साथै भारतमा पनि बढ्दो आर्थिक असमानताको चिन्ताजनक स्थिति रहेको छ । किनभने बढ्दो असमानता या बिषमताको दुष्प्रभाव देशको विकास तथा सामाजिक–राजनीतिक बिसंगतिहरू पनि पैदा हुने गर्दछन् र गरेका छन् । यद्यपि, संयुक्त राष्ट्र संघ जस्ता कतिपय विश्व संस्थाहरूका अतिरिक्त कतिपय देशका सरकारहरूले पनि गरिबी उन्मूलन, बेरोजगारी तथा आर्थिक असमानता एवम् गरीब हटाउनका लागि प्रयाशरत रहेको पनि मानिन्छ । तर तिनले कुनै राम्रो परिणाम ल्याउन सकेको कतै देखिँदैन । त्यही कारणले गर्दा अक्सफाम जस्ता संस्थाहरूले प्रत्येक वर्ष विश्वभरीका सरकारहरूसँग आह्वान गर्ने गरेको देखिन्छ कि उनीहरूले धनी तप्कामाथि उच्च सम्पत्ति लगाउन् र श्रमिक वर्गमाथि सबल संरक्षण प्रदान गर्ने प्रभावकारी व्यवस्थाको प्रबन्ध गरुन् ।
हुन पनि ठूला औद्योगिक व्यापारिक घरानाहरूमाथि कर लगाएर सार्बजनिक सेवाहरूका लागि आवश्यक संसाधान जुटाउन सकिने हरेक वर्षको प्रतिवेदनमा उल्लेख गर्ने गरेको देखिन्छ । तर प्रायः जसो घरानीया ठूला पुँजीपतिहरू र सरकारका बीच जुन साँठगाँठ हुने, कर छल्ने, कमिशन खाने र मूल्य बृद्धि गर्ने कालो धन र कालो कामको भूमिगत अर्थतन्त्र चले चलाइएको हुन्छ त्यसले गर्दा गरिबी, असमानता, असन्तुष्टि र आन्दोलनको चक्र र श्रृंखला पनि केही अपबादलाई छोडेर विश्वभर नै चल्ने गरेको देखिन्छ ।
यस स्थितिलाई बदल्नु नै आजको विकास र सुशासन तर्फको पाइला हुनसक्छ । नत्र यो स्थितिले भयावह अवस्था सिर्जना गर्न सक्छ । असमनताले नै समाजमा सबैभन्दा बढी असहजता निम्त्याउँछ । २१औं सताब्दीको चेतनालाई स्वीकार गर्ने हो भने हामीले यी कुरालाई गम्भीरतापूर्वक केलाउनु पर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies