–मेघराज भट्टराई
जोसँग अधिक पुँजी छ, उसले संसार जित्ने व्यवस्था हो पुँजीवादी व्यवस्था । पैसाले पैसा कमाउने भएपछि नैतिक अनैतिक भन्ने नहुने भएपछि मान्छे पैसाको पछि दौडिनु स्वभाविक हो । सय, हजार, लाख, करोड, अर्ब, खर्ब, जति जम्मा गरे पनि त्यो होड रोकिँदैन । जीवनमा बिलासिताको खुल्ला मैदान भएपछि जो कोही पनि पैसा जोड्नका लागि मरेहत्ते हाल्छ । जससँग पैसा छैन उसले बाँच्न पनि पाउँदैन । अस्पताल, विद्यालय, सडक, घर जहाँ पनि पैसा मात्र अघि आउँछ । अभावमा मिलेका परिवार जब अलिकति पैसा आउँछ द्वन्द्व शुरू भैहाल्छ । साथी–साथीबीच पैसा आयो भने घनिष्ट अनि आएन भने टाढा हुन थालिहाल्छ ।
आवश्यकताभन्दा बढी पैसा आयो भने उसले चरित्रहीन क्रियाकलाप गर्न थाल्छ । आत्मिय व्यवहार भएका परिवारबीच दरार उत्पन्न हुन्छ । श्रीमानले श्रीमतीको हत्या गरेका अनि श्रीमतीले श्रीमानको हत्या गरेका थुप्रै उदाहरण समाजमा छन् । कारण अरु केही होइन, पुँजीवादको कुरूपता नै हो ।
मोबाइल चाहियो, गाडी चाहियो, या अरु साथी बने या कसैसँग अनैतिक सम्बन्ध गाँसियो या घर खर्च धान्न सकिएन आदि इत्यादि । हिजो हामी कसैको हात हातमा फोन थिएन, खुल्ला बजार थिएन, आवश्यकता कम थियो । आफ्नो उत्पादनले एक सरो लुगाफाटोले पनि जीवन चलेको थियो । आज जस्तो अवस्था थिएन, सरसामान यति महँगो थिएन । स्कूल शिक्षा सरकारी थियो, आजको जस्तो दुई किसिमको शिक्षा थिएन । औषधि उपचार पनि साधारण नै थियो । खेतबारीमा घाँस, दाउरा, बन, पाखा, उकाली–ओराली, पानी पँधेरो गर्दा मानिस निरोगी थिए । आजको पागलखाना जस्तो थिएन नेपाल । प्रहरीले श्रीमती छोरा मारेको छ, ड्यूटी गरिरहेकी श्रीमतीलाई गोली ठोकेको छ, कोदालोले हानेर मारेको छ । यस्ता घटना धेरै देखिइरहेका छन् ।
पैसा भएका मान्छेहरूलाई निद्रा छैन, निदको ट्याबलेट खाएर सुत्न परेको छ । कति बेला के हुने हो, केही थाहा छैन । देशभित्र बस्नु छैन, प्रदेशमा बगाएको पसिनाको सम्मान छैन । घर परिवार बिग्रिएको छ, जवानी विदेशमा सकियो । बुढापामा पैसा छैन, परिवारको साथ सहयोग छैन । बा–आमाको स्याहार छैन, नाती नातिनीसँग जीवन बिताउन दिँदैन । प्रतिस्पर्धा चलेको छ, पैसा कमाउने होड छ । यो सब पुँजीवादको कारण हो, अधिक पैसाको चक्करमा अपराधिक क्रियाकलाप गरेको छ । शरीर बेचेको छ, आत्मा बेचेको छ, राष्ट्रघात गरेको छ ।
साम्राज्यवादी शक्तिले बनाएका नीति नियमको कारण कमजोर अर्थतन्त्र भएका मुलुकले उत्पादन गर्न नसक्ने बनेका छन् । एक पटक उनको जालोमा फस्यो कि निस्कनै नसक्ने अवस्था बन्छ । बाहिर आउन नै नसक्ने अवस्था छ । संसारका विकसित देशका नागरिक अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, क्यानडाका जस्ता देशमा पनि रूवाबासी गरेको सुनिन्छ । सरकारलाई कर तिर्दा मर्नुपर्ने अवस्था छ त्यता ।
एशिया अनि अफ्रिकाका नागरिकको कन्तविजोग त उल्लेख गरेर साध्य छैन । किनकि यहाँका प्राकृतिक साधन स्रोत साम्राज्यवादी मुलुकहरूले लुटिरहेका छन् । यो पुँजीवादभित्र समाजवादी विचार बचाउन गाह्रो छ । सुडानमा सुनखानी छ तर, त्यहाँ भोकमरी गरिबी अत्यधिक छ । पेट्रोलियम तथा धातुजन्य खानी भएका अफ्रिकी देशको अवस्था कति पीडादायी छ, कसैबाट लुकेको छैन । त्यहाँ साम्राज्यवादी देशले लुटीरहेका छन् ।
हाम्रो देशको अवस्था पनि यही हो । यहाँको पानी मात्र पनि प्रयोग गर्न सके हामी समृद्ध हुन समय नै लाग्दैन । हिमालबाट बगेका हजारौं नदी छन्, हरियाली वन जंगल छ, कृषियोग्य जमिन छ, उत्पादन क्षमता राम्रो छ, तर किन यहाँ हामी उत्पादन गर्न सकेका छैनौ ? यो सब पुँजीवादको कारण यहाँ दलाल पुँजीवाद मौलाएपछि राष्ट्रको उन्नति प्रगति हुने कुरा भएन । त्यसैले यो पुँजीवादी व्यवस्थाको विरूद्ध संघर्ष आवश्यक छ । अनिवार्य छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies