–लेखराज रेग्मी
यसपटक समीकरणमा जादुगरी ढंगले जसरी परिवर्तन आयो यसका केही सकारात्मक र केही नकारात्मक सन्देश महसुस गर्न थालिएको छ । महासमिति बैठकपछि थोरै बलियो देखिएका देउवा नेपाली कांग्रेसभित्रका विवाद समाधान गरेर आफ्नो लागि सकारात्मक स्थिति बनाउने सोच्दै थिए । चौरासीमा एक्लै चुनावमा जाने प्रस्ताव सकारात्मक नकारात्मक जे भएपनि असामयिक र गठबन्धनको मनोविज्ञान समेत हेर्दा असान्दर्भिक नै थियो । यसैमा टेकेर शेरबहादुर देउवा यसलाई तत्काल निर्णय गर्नबाट रोक्न सफल भए । यसले उनको परिपक्व नेताको पहिचान एक हदसम्म नेपाली कांग्रेसभित्र स्थापित ग¥यो । अर्थात् त्यतिकै परिपक्वता अरुमा देखिएन ।
कांग्रेसले यात राष्ट्रिसभाको अध्यक्ष दिएर सत्ता साझेदारको रूपमा माओवादीलाई विश्वासमा लिन सक्नुपथ्र्याे वा शेरबहादुर देउवाले अध्यक्षको बदलामा आफ्नो कार्यकाल प्रचण्डलाई थपेर विश्वासमा लिनुपथ्र्याे । यहाँ कांग्रेसका फरक–फरक गुटले देउवालाई अक्करमा पारिरहेका थिए र यो अवस्था सुरुको सरकार गठनको बेलाकै जस्तो रह्यो । शान्ति सम्झौताले पूर्णता पाउन नसक्नु, सरकार छोड्न पर्ने सहमति नजिकिँदै जानु र संवैधानिक पदहरूमा शून्य उपस्थितिको स्थिति देखिनु, यी गठबन्धनका यस्ता उपहार थिए कि माओवादी सरकार छोडेर समाजवादी मोर्चा फराकिलो र बलियो बनाएर संघर्षको मोर्चामा जानुको विकल्प थिएन र यसमा आन्तरिक सहमति जुटिहाल्ने सहज परिस्थिति थिएन । यी दुवै प्रतिकुलताबाट बँच्न प्रचण्डसँग यो बाहेक उपाय थिएन र यो उनको बाध्यता थियो । अर्थात् कांग्रेसले ढोका थुनेर बिरालो कुट्ने गल्ती गरिरहेको थियो ।
भ्रष्टाचार विरोधी कारबाही निष्पक्ष हुन सकिरहेको थिएन । यसले माओवादी र गठबन्धनलाई क्षति भैरहेको थियो । प्रतिपक्षको भूमिका र कांग्रेसभित्र भ्रष्टहरूको पक्षमा गतिबिधि बढ्नु माओवादीको शाखको गिरावटको कारण बनिरहेको थियो । सकारात्मक काम कारबाही गतिहिन भैरहेका थिए । यी सबै यस्ता कारणहरू थिए कि माओवादीलाई घेरामा राख्ने, बदनाम गराउने र सिध्याउने खेल भैरहेको आशंका झन् पछि झन् बलियो बन्दैथियो ।
यी सबै यस्ता कारणहरू थिए, जस्ले माओवादीभित्र समीकरण बदल्ने पक्षमा प्रचण्डमाथि दबाब बढिरहेको थियो । पार्टीभित्रका विभिन्न लबीहरू यस दिशामा विभिन्न कारणले अगाडि बढिरहेका थिए र शान्ति प्रक्रियालाई सम्पन्न गर्न नसक्दा बढिरहेको असन्तोषले उनीमाथि दबाब दिनेहरूलाई अनुकुलता पैदा गरिरहेको थियो । समीकरण फेरिनुको अर्को कारण यो पनि थियो । तर, ताबाट भुङ्ग्रोमा पर्नु निकास थिएन ।
भित्र र बाहिरका विभिन्न समूहहरू र एकहदसम्म जनमत पनि प्रचण्डलाई पुरानो भूमिकामा अर्थात् सबै विकृति र विसंगति विरुद्ध जनतामा जान र आन्दोलनको नेतृत्व गर्ने भूमिकामा देख्न चाहन्थे । यसले तत्काल खास उपलब्धि दिन नसकेपनि एक स्तरसम्म छबी सुरेर भोलिको चुनावको तयारी गर्न पार्टी र प्रचण्डलाई अनुकुलता थियो । प्रमुख प्रतिपक्ष र सडक संघर्षको मोर्चा नै कम प्रतिउत्पादक रहेपनि तत्काल विश्वास र साथ पाउने तथा सन्तुलन फेरिएर सकारात्मक परिणामको लागि अनुकुलता पैदा हुने विस्वस्थ स्थिति बनाउन नसक्दा संसदीय प्रतिपक्षमा रहनु त्यति लाभकारी देखिँदैन । दीर्घकालिन राजनीतिका हिसाबले भने यही नै सबैभन्दा फाइदाजनक थियो । एकपटक जोखिम उठाउन शाहस गर्न नसक्नु माओवादी नेतृत्व पंक्तिको कमजोर पक्ष भने यो घटनाले पुष्टी गरेको छ र आत्मसमिक्षाको आधार प्रदान गरेको छ ।
आगामी सम्भावना हेर्दा या त विगतकै जस्तो स्वार्थ समूहहरूको फरक–फरक घेराबन्दी र टकराव, दम्भहरूको टक्कर र अविश्वासको खेती तिव्र हुनेछन र पुनः ध्रुविकरण र आन्तरिक झमेला र अकर्मण्यतामा जानेछ र यसले चौरासी संकट जन्माउन सक्नेछ । तर, यसको सकारात्मक पक्षको विकास, अग्रगामी सोचको सहकार्य र समाजवादको पक्षधरतामा एकस्तरको उन्नती हुँदै एकता र रूपान्तरणले प्राथमिकता पाउन थाल्नेछ र नयाँ चिन्तन (आजको दरिद्र चिन्तनको विकल्प) माक्र्सवादी यात्रामा समृद्धिसहित नयाँ घटनाक्रमहरूको लागि ढोका खोलिदिनेछ ।
एकताका दुवै पक्ष र गणतान्त्रिक पक्षधरताको गठबन्धन नीति र कार्यक्रममा अभिव्यक्त हुने र सकारात्मक कार्यान्वयन हुने दिशामा सकारात्मक दबाब पैदा हुन सक्यो भने यो पहललाई धेरैले रुचाउने स्थिति बन्न सक्छ । तर, संसदभित्रको अंकगणित यस्ता अपेक्षाको प्रतिकुल मात्र होइन अमैत्रीपूर्ण समेत महसुस गर्न सकिन्छ । जनविश्वास मर्नु सबैभन्दा ठूलो प्रतिगमन हुन्छ, साइनबोर्ड आफैमा केही होइन । पछिल्लो गठबन्धनले बिगतबाट कस्ता सकारात्मक वा नकारात्मक शिक्षा कति ग्रहण गर्नसक्छ भन्नेमा धेरैकुरा टिक्दो रहेछ । आपेक्षा गरौँ सकारात्मक हुनेछ ।
(लेखक रेग्मी, माओवादी केन्द्रका नेता हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies