काठमाडौं । विनयतारा फाउन्डेसनले जनकपुरमा २०० बेडको क्यान्सर अस्पताल निर्माण प्रक्रिया थाल्ने भएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. विनय शाह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा. वाइपी सिंहले उक्त घोषणा गरेका हुन्।
यही वर्षदेखि निर्माण थालनी हुने अस्पतालका लागि अनुमति लिने, आवश्यक जग्गाको किटान र सुरुवाती लगानीको जोहो भइसकेको उनीहरुले बताएका छन्।फाउन्डेसनले हाल जनकपुरस्थित कपिलेश्वर रोडमा २५ बेडको क्यान्सर सेन्टर सञ्चालन गरिरहेको छ। उक्त क्यान्सर सेन्टरलाई नै २०० बेडको सवैप्रकारका क्यान्सरको उपचार केन्द्रका रुपमा विस्तार गर्न लागिएको हो ।
‘मनलाई देशको माटोबाट अलग हुन नदिन उनले आफ्नो करियरको सुरुवातमै बिनयतारा फाउन्डेसन खोलेका हौं,’ सन् २००३ उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका पुगेका डा शाहले भने, ‘म आज जे छु, त्यो नेपालले बनाएको हो। यहीँको सरकारी स्कुलमा पढें । सरकारी कोटामै एमबीबीएस गरें। अब यही देशको क्यान्सर उपचार केन्द्रमा केही गर्न चाहन्छौं।’
नेपालमा विश्वस्तरीय क्यान्सर उपचार केन्द्र बनाउने आफ्नो सपना रहेको उनले बताए। उच्चस्तरीय प्रविधिको साथै दक्ष चिकित्सकीय सेवा उपलब्ध गराउने तयारी रहेको उनको भनाइ छ । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर जनकपुरमा क्यान्सर उपचार केन्द्रको बनाउने तयारी गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
हरेक वर्ष कम्तिमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल बनाउन खोजिएको डा. शाह बताउँछन्। वरिष्ठ क्यान्सर सर्जन तथा विनयतारा ट्रस्ट नेपालका अध्यक्ष डा.वाइपी सिंहले नेपालमा विश्वस्तरीय उपचार सेवा दिने अस्पताल निर्माण गर्न क्रम अघि बढिसकेको बताए। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति समेत दिइसकेको बताए।
फाउन्डेसनले यसअघि काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा सहयोग गरेको थियो। त्यहाँका चिकित्सक तथा नर्सलाई अमेरिकामा तालिम दिनका लागि समन्वय र केही आर्थिक सहयोग गरेको डा. शाह बताउँछन् ।
त्यस्तै फाउन्डेसनले हरेक वर्ष विश्वका नाम चलेका चिकित्सकलाई जनकपुरमा ल्याएर ‘क्यान्सर कंग्रेस’ गर्ने गरेको छ। यसवर्ष मार्च १६ का लागि तय गरिएको छ। फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स र सीएमई कार्यक्रम गर्ने ठूलो संस्था मध्ये एक हो । कन्फ्रेन्स, सीएमई र सहयोगी दाताबाट प्राप्त रकमलाई कोष बनाएर नेपाल तथा दक्षिण एशियाको क्यान्सर क्षेत्रमा काम गरिरहेको हो।
फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो। जसले अमेरिकामा क्यान्सरसँग सम्बन्धित सीएमई र कन्फ्रेन्स,नेपालका साथै दक्षिण एशियामा क्यान्सर उपचार र सचेतनाका क्षेत्रमा काम गर्द आएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies