काठमाडौं : नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तो तालिम निःशुल्क रुपमा दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने उनले बताए । विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘वैदेशिक रोजगारमा जान चाहानेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ । तालिमप्राप्त कामदारहरुको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ ।’
सांसद आचार्यले थपे, ‘६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफुले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् । यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ । यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहाने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरुलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंकमार्फत रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरु ठगिने सम्भावना कम हुन्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies