ज्योतिलाल वन
प्रारम्भ
आमरूपमा मानव चेतना र विवेक क्रमशः मानवीय बन्दै आएको पाइन्छ । जसले गर्दा रङ्गभेद, नश्लभेद र जातिभेदका दुस्प्रभावहरू कम बन्दै आएका छन् । साथै, मानव मनमस्तिष्कभित्र यस्ता विभेदात्मक भावना र धारणाहरू कम हँुदै जाने, मानवीय व्यवहार र विवेकले विकास गर्दै जानसक्ने सम्भावना प्रवल देखिएको छ ।
उदाहरणको रूपमा औद्योगिक विकासले उच्चता लिएका मुलुकहरूमा जो कसैलार्ई मर्यादित र सम्मानित व्यवहार गर्ने र श्रमको सम्मान गर्ने संस्कृति (मनोदशा) विकास हुँदै आएको अनुभव गर्न सकिन्छ । नेपालको सन्दर्भमा पनि जातिभेद र लिङ्गभेद विगतको अनुपातमा निकै कम हुँदै गएको पाइन्छ । यद्यपि, रङ्गभेद, नश्लभेद र जातिभेदका घटना छिटफुट भने विश्वभर नै देखिन्छ । विशेषगरी अमेरिका र युरोपेली केही मुलुकमा यस्ता घटना भेटिन्छ । नेपालको सन्दर्भमा पनि विगतसँग तुलना नगरिएपनि त्यस्ता घटना भइरहेको पाइन्छ ।
मानव समाजको विकासको यो अवस्थामा विभेदका सबै श्रृंखला पूर्णरूपमा हल हुनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । अपेक्षित प्रयास प्रभावकारीरूपले अगाडि बढ्नसकेको छैन । जसबारे बौद्धिक तथा नेतृत्व तहमा बहस चलाइनु आवश्यक छ । किन अपेक्षाकृत प्रगति भएको छैन, संवाद गरिनु आवश्यक छ ।
निरपेक्ष आर्थिक समानता असम्भव
शोषणमूलक र अनुचित किसिमले गरिने आर्थिक उपार्जनका व्यवहारहरू तोडिए पनि सबै मानिस समान किसिमले आर्थिक उपार्जन गर्न सक्षम हुँदैनन् । किनकि प्रत्येक मानिसमा समान किसिमले क्षमता, दक्षता र ज्ञान विकास हुनै सक्दैन । यो स्वभाविक मानव नियति नै हो । त्यसैले अर्थआर्जन पनि समान बन्न नसक्नु अनुचित र अस्वभाविक हुँदैन । यसलाई पूर्ण खारेज गर्ने कुरा पनि वस्तुसंगत छैन ।
तथापि, शोषण–उत्पीडनमूलक परम्पराहरू अन्त्य हुनुका साथै सामाजिक न्याय प्रभावकारी रूपमा स्थापित भएर आर्थिक विकासले पनि उच्चता लिएको खण्डमा प्रत्येक मानवले पर्याप्तपूर्वक आफ्नो आवश्यकता पूरा गर्ने आर्थिक स्रोत जुटाउन नसक्ने भने हैन । जसप्रति अहिलेको विश्वको प्रयास आवश्यक छ । यद्यपि, जसप्रति प्रयास नभइरहेको देखिन्छ । बरु, समयअनुसार चेतना र व्यवहारको कुरा गर्नेमाथि दमन र अत्याचार भएको भेटिन्छ ।
निष्कर्षमा,
शास्त्रीय साम्यवादका कतिपय अव्यवहारिक आदर्श मान्यताहरू जो व्यवहारमा लागु हुन सकेनन् र लागु हुन सक्ने सम्भावना पनि देखिँदैन । त्यस्ता पक्षहरूलाई जडशूत्रका रूपमा, कुनै धर्मान्धले आफ्नो धर्मग्रन्थलाई पूजेझै पूज्नु र त्यसको दायाँ–बायाँ हेर्नु वा सोच्नुलाई अपराध सरह ठान्नु, एक अर्को खाले अन्धविश्वास हो । जसरी धर्मको नाममा अन्धभक्तताको व्यापकताका छ, त्यसैगरी दर्शनको नाममा पनि जडवादिताको व्यापकता छ ।
यस्तो साँघुरो कुवाबाट बाहिर निस्केर जीवन र जगतका यथार्थहरूलाई बुझ्न र सोअनुरूप वस्तुपरक (विज्ञानसम्मत) समाजवादी मान्यताका सिर्जनशील पाइलाहरूलाई अगाडि बढाउन आवश्यक छ । यद्यपि, एकातिर एउटा ठूलो तप्का यस्तै एजेन्डालाई संशोधनको नाममा पूर्ण संशोधनको भाषमा भासिएर रमाइरहेको छ भने अर्को तप्का गीता झैं समातेर टसमस छैन । यद्यपि, उनीहरुकै कार्यशैली पनि प्रश्न उठ्ने खालका भने देखिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies