मध्यान्ह संवाददाता
काठमाडौं : मलेसियाको बहुराष्ट्रिय कम्पनीमा आर बी ए अन्तर्गत फ्रि भिसा फ्रि टिकटमा क्षमता नभएकाहरूलाई पास गराउन एजेन्टहरूले छनोटको प्रारम्भिक चरणबाट नै खेताला लगाउने गरेको खुलेको छ । कामदार भर्ना तथा छनोटका लागि आएका रोजगारदाता कम्पनीका विदेशी प्रतिनिधिलाई प्रभावित पारेर आफुले रकम असुली गर्ने योजना बनाएको कामदार छनोट गराउन नसकेपछि एजेन्टहरूले खेताला परीक्षार्थी लगाउन थालेका हुन् ।
मलेसियाबाट आउने शून्य लागतको डिमाण्ड सार्वजनिक भएपछि एजेन्टहरूले चलाख अनुहार, कद र जिउडाल मिल्ने व्यक्ति खोजेर अन्तरवार्तामा सहभागी गराइ छनोट गराउने गरिएको समाचार श्रोतले बताएको छ । पहाडबाट भन्दा तराईका जिल्लाबाट मलेसिया जान खोज्ने युवालाई छनोट गराइदिएर उड्ने बेलामा विमानस्थलमा एजेन्टका गिरोहले तीन लाख रूपैयाँसम्म असुलेको श्रोतको भनाइ छ । खेतालालाई परीक्षार्थीको धन्दामा कति जना संलग्न छन् भन्ने आधिकारिक रूपमा बताउन नसकेपनि समूहले गिरोह नै परिचालन गरेर मलेसियामा शुन्य लागतमा कामदार पठाउने व्यवसायीहरूको भनाइ छ ।
यसअघि कोरियाको ईपीएस प्रणालीको भाषा परीक्षा र लोकसेवाको परीक्षामा पनि व्यापक रूपमा खेताला परीक्षार्थी देखिने गरेका थिए । कोरियाका लागि खेताला परीक्षार्थीले एक लाख र लोकसेवाका लागि सात लाखसम्म रेट कायम गरिएको बताइएको छ । दक्षिण कोरिया जाने भाषा परीक्षामा खेताला देखिएपछि छनोटदेखि रोजगार प्रक्रियाका सबै चरण बायोमेट्रिक लागू गरिएको छ ।
हाल मलेसियाको शून्य लागतको रोजगारीमा कामदार छनोट प्रक्रियामा पनि कोरियाको जस्तै बायोमेट्रिक गराउनु आवश्यक भएको कतिपयले बताएका छन् । वैदेशिक रोजगारीमा जानेका लागि ’फ्रि भिसा र फ्रि टिकट’को सरकारी नीति अव्यवहारिक रहेको र श्रमिकको हितमा कार्यान्वयन नभएको सार्वजनिक टिप्पणी हुने गरेको छ ।
तैपनि मलेसियाका रोजगारदाताले योग्य तथा दक्ष कामदारको सबै खर्च आफैँले उपलब्ध गराउन थालेपछि मलेसियामा कामदार पठाउने डेढ दर्जन बढी म्यानपावर कम्पनी रेस्पोन्सिवल विजनेश एलायन्स (आरबीए) खडा गरि इम्लाइमेन्ट पे मोडलको सरकारी नीति अनुसार कामदार पठाउन प्रतिबद्व देखिएका छन् । उनीहरूको सक्रियताका कारणले पछिल्ला केही वर्षमा नेपालबाट फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको संख्यामा उल्लेख वृद्धि भएको छ ।
तर छद्म रूपमा खेताला परिचालन गर्ने संगठित एजेन्टहरूलाई श्रमिकहरूले गोप्य रूपमा ठूलो रकम बुझाउनु परेको घटनाले मलेसिया वा अन्य मुलुकबाट आउने फ्रि भिसा फ्रि टिकटमा कामदार छनोट गरि पठाउने काम पेचिलो र अविश्वसनीय बन्न सक्ने चिन्ता बढेको छ ।
रोजगारदाताले गर्ने छड्के परीक्षण वा तेस्रो पक्ष अडिटमा एकै जना कामदारबाट छनोटको चरणमा रकम उठाएको देखिएमा म्यानपावर कम्पनीको पुरै भुक्तानी रोकिने हुँदा एजेन्टहरूले चलाएको खेताला धन्दा नियन्त्रण नभए शून्य लागतको रोजगारी नै धरापमा परककने धेरैको चिन्ता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies