काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू मधेस झर्ने तयारी गर्दैछन् ।
सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलनमा होमिएको राप्रपाले आउँदो चैत २७ गते काठमाडौंमा वृहद जनप्रदर्शन गर्दैछ । उक्त जनप्रदर्शनलाई भव्य र प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेताहरू पाँच दिन तराइ यात्रामा निस्किने भएका छन् ।
आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना नेताहरूको मधेश यात्रा तय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । चैत ८ गतेसम्म चल्ने यो अभियानमा राप्रपाका नेताहरू मधेसका जिल्लाहरूमा पुग्नेछन्। मधेसका आठै जिल्लामा राप्रपाले आमसभा र कार्यकर्ता भेला गर्ने उनले बताए। यात्रामा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्षहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेश अध्यक्ष भरत गिरी, नेताहरू बिना जयसवाल, खुस्बु ओलीलगायत रहनेछन्।
सोमबारदेखि मधेश यात्रा तय गरेको राप्रपाले यही चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शन पनि गर्दैछ। चैत ५ गते जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजा गरेर मधेस यात्रा सुरू गरिने, सोमबार धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा आमसभा, चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र पर्साको वीरगञ्जमा आमसभा हुनेछ भने साँझ वीरगञ्जका उद्योगी तथा व्यवसायीहरूसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसैगरी चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेला हुनेछ भने चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला हुनेछ भने सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तय भएको उनले जानकारी दिए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies