कमल कुमाल/ मध्यान्ह
कालीकोट : कालीकोटका किशोर किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् । केही समयअघि यौन तथा प्रजनन् समस्याका बारेमा भन्न लजाउने कालिकोट ग्रामीण भेगका किशोर किशोरीहरु अहिले यसबारे खुलेर बोल्न थालेका हुन् । किशोर अवस्थामा यौन तथा प्रजनन् अवस्थामा हुने शारीरिक वृद्धि विकासका सवालमा लजाउने यहाँका किशोर तथा किशोरीहरु पछिल्लो समय खुलेरै आफ्नो समस्या भन्ने र कुरा राख्न थालेका छन् ।
विषेशगरी शारीरिक वृद्धि विकास हुने अवस्थामा विद्यार्थीहरु आफ्नो यौन तथा प्रजनन्का विषयमा लजाउन र डर मान्ने प्रवृत्ति रहेको थियो । रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालयमाहरुमा किशोर किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालिएको छ । सो कारण पनि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत किशोर किशोरी खुलेर यौन तथा किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्ने गर्दछन् ।
विषेशगरी रास्कोट रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका र नरहरीनाथ गाउँपालिकाले पछिल्लो समयमा माध्यामिक तथा उच्च माध्यमिक विद्यालयमा दिउँसोको खाजा खाने समयमा एक घण्टे प्रजनन् स्वास्थ्य सेवा दिन थालेपछि यहाँका किशोर–किशोरीमा परिवर्तन देखिएको हो ।
यौन तथा प्रजनन् अवस्थाका बारे किशोर किशोरीलाई छुट्टै कक्षमा राखी यौन तथा प्रजनन् शिक्षा दिन थालेपछि किशोर तथा किशोरीहरुले यौनका बारेमा खुलेरै समस्या राख्ने र बोल्ने गरेका बाल विवाह छिटो गरिने विवाह र जबरजस्ती गरिने विवाह न्यूनीकरण परियोजनाका फिल्ड सुपरभाइजर अक्कश रोका मगरले बताए । विविध कारणले यौन र प्रजनन्का समस्या अभिव्यक्त गर्न नसकेकालाई प्रोत्साहित गर्न छुट्टै कोठा, ट्वाइलेट र विद्यालय नजिकको स्वास्थ्य चौकीलाई छानेर केन्द्र स्थापना गरी कार्यक्रम चलाइएको उनले बताए ।
कतिपय कुरामा किशोर किशोरीले आफ्ना कुराहरु खुलेर राख्न नसक्दा विद्यालय पठनपाठनमा समस्या हुने र आफ्ना समस्याहरु भन्दैन्थ्ये । कक्षा स्थापना गरी प्रशिक्षण दिनाले अहिले खुलेरै कुरा गर्छन् । सो कार्यक्रमले किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याएको छ । कार्यक्रमको शुरुमा चुनौती नआएका भने होइनन् । नरहरिनाथ–३ कुमालगाउँकी सन्तोषी बुढा सुरुवाती दिनमा किशोर किशोरीमैत्री कार्यक्रममा सहभागी हुँदा आमाले छोरी बिग्रिइ भनी गुनासो गरेको सम्झिन्छिन् । विषय अश्लीलजस्तो लागे पनि कार्यक्रमले सन्तोषीमा सकारात्मक प्रभाव परेपछि
आमा खुसी छन् । उनले भनिन्,‘शुरुमा मलाई गाली गर्ने आमा कार्यक्रमको सकारात्मक प्रभावबाट प्रभावित हुनुभएको छ ।’ कार्यक्रममा सहभागी युवा विकृतिमा लाग्लान् भनेर डराएका अभिभावकलाई नै कार्यक्रममा सहभागी किशोर, किशोरीले कुलतबाट छुटाएका उदाहरण यस गाउँमा रहेको छ ।
कार्यक्रममा सहभागी युवाको पहलमा जिल्लामा बाल विवाह रोकिएको छ । विद्यालय छोडेर कुलतउन्मुख भएका बालबालिका पनि फेरि विद्यालय फर्किन थालेका छन् । किशोर वयस्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउँन सकिन्छ भन्ने प्रमाणित भएको सन्तोषीले बताइन् ।
निर्धक्क आफ्ना समस्या लिएर स्वास्थ्य चौकीको युवामैत्री कक्षमा जाने गरेको उनी बताउँछन् । ‘अधिकांश किशोरीको समस्या महिनावारी, तल्लो पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने लगायत हुन्छ, युवामैत्री स्वास्थ्य संस्थाको कक्षमा गइ परामर्श लिएपछि किशोरीमा खुसीसाथ जीवनयापन गर्ने शक्ति मिलेको अनुभव गरेकी छु’ उनले भनिन् ।
नरहरीनाथको नन्दादेवी माविका प्रधानाध्यापक रत्नसिंह साउँदले भने, ‘हामिले कक्षा कोठामा स्वास्थ्य विषय जति पढाएपनि खुलेर कुरा गरेनन् । अहिले छुट्टै कक्षा कोठा स्थापना गरी एउटै उमेर समुहका प्रशिक्षण राखेर क्लास दिँदा यौन तथा प्रजनन् अवस्थाका कुरा खुलेरै गर्न थालेका छन् ।’ हुरेण्डेक नेपालको सहजीकरण, पलान नेपालको सहयोगमा यो परियोजना सञ्चालनमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies