मध्यान्ह संवाददाता
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार नगरे विकल्प खोज्ने चेतावनी दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी सुधार गर्न निर्देशन दिए । हाल अत्याधिक प्रयोगकर्ताका कारणले कार्यालय समयमा चाप बढेको भन्दै कर्मचारीले राति दश बजेसम्म श्रम स्वीकृति जारी गर्दा वैदेशिक रोजगारमा जाने कामदार र म्यानपावर व्यवसायी तनावमा रहने गरेका छन् ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले एक दशक अघिदेखि फेमिस प्रणाली प्रयोगमा ल्याएको छ । तर प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि वैदेशिक रोजगारमा जाने श्रमिकदेखि म्यानपावर कम्पनी समस्यामा पर्ने गरेका छन् । समयमा श्रम स्वीकृति नपाउँदा कतिपय श्रमिकको रोजगारदाताले उपलब्ध गराएको जहाज टिकट खेर जाने गरेको छ ।
मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता इ–बीमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सेवा आपूर्तिकर्तासँग छलफल गर्दै मन्त्री अर्यालले भने, ‘तपाईहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भएपनि एक महिना भित्र एक घण्टामा श्रम स्वीकृति दिन सक्नेगरी फेमिस प्रणालीको सुधार गर्नेछु ।’
मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको बताएको छ । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्न सफ्टवेयर खरीद गरेको थियो । पटक–पटक समस्या आएपछि फेमिसको सुधार गर्न मन्त्रालयले यसअघि कार्यदल नै गठन गरेको थियो भने तत्कालीन महानिर्देशक मदन दहाल विभागबाट सरूवा हुनुमा अन्य कारणका अतिरिक्त फेमिसमा देखिएका समस्या समाधानमा उदासीन रहनुपनि एउटा कारण रहेको थियो । फेमिसमा देखिने समस्याका लागि प्राविधिकसँगै कर्मचारीको नियतमाथि पनि समाधान खोजिनुपर्ने कतिपयको माग रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies