मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाए ।
सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री नियुक्त गरेका थिए । लगत्तै पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराइएको हो ।
कांग्रेस नेतृत्वको सरकारमा मनाङे सहभागी भएता पनि स्पष्ट बहुमत पुग्दैन । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । कांग्रेससँग २७ सांसद छन् । मनाङेको साथ पाउँदा २८ हुन्छ । राप्रपाले साथ दिए कांग्रेस नेतृत्वको सरकारको पक्षमा ३० सांसद देखिनेछन् ।
तर माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका नेसपा नेता तथा प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले कांग्रेस नेतृत्वको सरकारलाई साथ दिन खोजेको नेताहरु बताउँछन् । यसो हुँदा उनको प्रदेश सभा सदस्य पद नरहन पनि सक्छ । फणिन्द्र देवकोटाको पद गए पनि कांग्रेससँग दिपक मनाङे हुँदा ३० सांसद अर्थात बहुमत पुग्छ । यही कारण उनले मन्त्री बन्ने अवसर पाएका छन् ।
मनाङे नहुँदा संघीय सरकारमा गठबन्धन गरेका दलहरुसँ पनि सरकार बनाउन आवश्यक संख्या पुग्दैन । संघीय सरकारमा रहेका दलहरको गठबन्धनसँग २९ सांसद छन् । नयाँ गठबन्धनमा रहेका दल एमालेका २२ र माओवादीका ८ गरी २९ सांसद छन् ।
फणिन्द्र देवकोटाको पद रिक्त भए २८ मा झर्छ । यस्तो अवस्थामा सभामुखले राजीनामा दिए २९ पुग्छ । यो अवस्थामा मनाङले नयाँ गठबन्धनलाई साथ दिए सरकार बन्न सक्छ । अर्थात, मनाङे जता गए त्यतै सांसदको संख्यामा बहुमत पुग्छ ।
स्वतन्त्र चुनाव जितेका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाले नयाँ गठबन्धनको सरकार बनाउन साथ दिने कतिपयको बुझाइ थियो । तर मनाङले एकीकृत समाजवादी पार्टी नै छाडिदिए र कांग्रेस नेतृत्वको सरकारमा सहभागी भए । यो सँगै वर्तमान सरकारको विकल्पका लागि नयाँ गठबन्धनलाई असहज भएको छ ।
मनाङे यसअघि प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि पटक–पटक मन्त्री भएका थिए । मनाङे त्यस्ता माननीय भएका छन् जसलाई अस्थिर राजनीतिकले सँधै अवसर दिलाएको छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा अस्थिरताकै कारण पटक–मन्त्री भएका मनाङेलाई चालू कार्यकालमा पनि अस्थिरताले नै मन्त्री पद दिलाएको छ । मन्त्री भएपछि मनाङेले अब गठबन्धन नबदल्ने पनि बताएका छन् ।
‘अब म गठबन्धन जे भए पनि कतै जान्न । बारम्बार यताउता गर्दा मजा आउँदैन’ उनी भन्छन्, ‘केन्द्रमा मलाई सोधेर पार्टी र सरकार फुटेको होइन । गठबन्धन घरीघरी फुटाउँदै हिँड्छन्, म बटुल्दै हिँड्न सक्दिनँ । म स्वतन्त्र हो, ह्वीप लागे लागोस् । मलाई के मतलब ? म फेरि जितिहाल्छु ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies