–मेघराज भट्टराई
विगत ३४ वर्षदेखि नै देश चलायमान छैन । हामी बन्दी भएका छौं । एक जनालाई सनक चढ्यो अनि यो वा त्यो माग राख्यो अनि सत्ताको बार्गेनिङ्ग गर्यो । भर्खरै प्राप्त गरेको प्रजातान्त्रिक व्यवस्थाको विरूद्ध सामाजिक न्याय समानतामा आधारित व्यवस्था नयाँ जनवादी राज्य सत्ताको सपना देखाएर हथियारबद्ध लडाइँ शुरू गरेको माओवादी आन्दोलनको रिमोर्ट बाहिर थियो भन्ने कुराको धेरै प्रमाणहरू छन् । जसबारे ठूला–ठूला किताब लेखिएका छन् । रणजीत रोयदेखि शुधिर शर्मा, प्रवण मुखर्जीदेखि अशोक महेतासम्मले प्रशस्त लेखेका छन् । र, स्वयम् प्रचण्ड–बाबुरामहरूका क्रियाकलापले पनि ती कुराको पुस्ट्याइँ गरेको छ ।
नेपाली जनतालाई भारतविरुद्ध सुरूङ्ग युद्धको विचार छरेर आफू लखनउ, दिल्ली, जबलपुर, रोपड, चण्डीगढ जस्ता ठूला शहरमा बसेर नेपालमा जनयुद्ध चलाइएको थियो । जाहिर छ पुँजीवादी राज्य व्यवस्थाले समाजवादी कार्यक्रम ल्याउने कुराको साथ सहयोग त गर्दैन होला ? तर यहाँका हामी डोके, ढाक्रे, सोझा, इमानदार जनतालाई झुक्याउन सफल पनि भए । यहाँ तक कि व्यक्ति पुजाको उदाङ्गो रूप प्रचण्डपथले नै गरायो । निश्चितरूपमा यसमा प्रचण्ड मात्र दोषी छैनन् । मोहन वैद्यदेखि रामबहादुर थापा, कृष्णबहादुर महरा, सीपी गजुरेलसम्मका केन्द्रीय समितिका नेता जिम्मेवार छन् ।
आज मोहन वैद्यले हामीबाट गल्ती भयो भन्छन् भन्ने कुरा पनि सार्वजनिकरुपमै सुन्न पाइन्छ । त्यसो हो भने सार्वजनिकरूपमा आत्मआलोचना गर्नुपर्ने होला नि ? किन गरेनन् ? गल्ती गरेको हो भने जनयुद्ध थिएन भन्न किन नसक्ने ? २०६२÷६३ पछाडि जेजति आन्दोलन भए आज देशको लागि घाँडो भएका छन् की छैनन् ? भारतको देहेरादून नजिकैमा भारतीय सेनाले माओवादी लालसेनालाई तालिम दिएको कुरा आन्दोलन कसको पक्षमा थियो या कसको विरुद्धमा थियो ? जाति पिच्छे राज्यको अवधारणा कसरी आयो ? मधेश जल्यो, सुदूरपूर्व जल्यो सुदूरपश्चिम जल्यो । दुई वर्षमा बन्नुपर्ने संविधान सात वर्षमा बन्यो ।
तर त्यो पनि खिचडी प्रकारको यसमा समाजवाद उन्मुख भनियो तर, देशभित्र राम्रोसँग पुँजीवाद पनि आएको छैन । उत्पादन शून्य छ, वैदेशिक ऋण चुलिएको छ, जनता निराश छन् । सुदूरपूर्वमा पहिचानसहितको जातीय राज्य चाहियो भनेर भूसको आगो जसरी सल्की रहेको छ । एक जना कांग्रेस नेताले भन्थे, “पहिचान कायम नभए विद्रोह हुनेछ ।” यसरी देशलाई बन्धक कहिलेसम्म बनाई राख्ने हो ?
किरात प्रदेश भएपछि थारुवान, मगरात, लिम्बूवान, खुम्बूवानलगायत हुनेछ । यसले वर्गीय मुक्ति आन्दोलन कमजोर पार्नेछ । प्रचण्डले कांग्रेससँग चुनावी गठबन्धन गर्छन्, सरकार एमालेसँग मिलेर बनाउँछन् । दुई महिनापछि फेरि कांग्रेससँग जान्छन्, अहिले आएर फेरि नयाँ गठबन्धन बनाउँछन्, यो राजनीतिक सिण्डिकेट आखिर कहिलेसम्म ?
नेपालको सार्वभौमिक अधिकार नेपालभित्र थियो, नयाँ दिल्ली अमेरिकातिर होइन । नेपालीहरू गरीब भएपनि स्वाभिमानी थिए । भारी बोक्ने भए पनि खुसी थिए । आज जस्तो दैनिक हत्या हिंसा थिएन । आत्महत्या गर्ने नेपाली थिएनन् । हामीले प्रयोग गर्ने वस्तु आफूले नै उत्पादन गर्थे । ५० वर्ष पहिले हामी औद्योगीकीकरणतीर थियौं । देशभित्र विकासको खाका कोरेको बेला त्यही हो । हाम्रा छिमेकी गरिबी र भोकमरीको अवस्थामा थिए । नून मट्टीतेल बाहेक जनताले किन्ने कुरा केही थिएन ।
आज एक करोड नेपाली देश छोडेर विदेश छन् । राष्ट्रप्रति माया छैन, चरम निराशा छ । आज हामी चरम परनिर्भर भएका छौं, उत्पादन केही छैन । छिमेकीको थिचो मिचो धेरै बढेको छ । उसको उत्पादन हामीले किन्नुपर्ने तर, हाम्रो उत्पादन उसले नकिन्ने अवस्था छ । आज मानवता मरेको छ । भावना छैन, मानव रोवर्ट जस्तो भएको छ । राज्य जनताको पक्षमा छैन, न्याय निसाफ छैन, जसको शक्ति उसको भक्ति छ । हामी अग्रगामी भयौं कि हामी जंगली युगतिर जाँदै छौं ? जबसम्म यो बन्धकबाट मुक्त हुन सक्दैनौ तबसम्म हामी उस्तै रहन्छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies