छबि सापकोटा/मध्यान्ह
काठमाडौं : काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र व्यापारिक केन्द्र दरबारमार्ग चौबिसै घण्टा सञ्चालन हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएका छन् । लामो समयदेखि व्यवसायीहरूले २४ सै घण्टा खुल्ला गर्न सरकारलाई माग गरेका थिए । यसअघि शान्ति सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले खुल्ला गर्न मानेको थिएन ।
गृहकै निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ्ग व्यवसायीहरू उत्साहित भएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले गृहमन्त्रीले निर्देशनले उत्साह छाएको बताए ।
“ठमेल चौबिसै घण्टा खुलाउने भन्ने एक वर्षअघिदेखि नै हामीले पहल गरेका हौं । पहिलो त्यति सुनुवाई भएको थिएन । गृहमन्त्री लामिछाने आइसकेपछि उहाँसँगको छलफलमा हामीले २४ सै घण्टा ठमेल खेल्नका लागि आग्रह गर्यौ”, उनले भनेका छन्, “अहिले चौबिसै घण्टा खोल्नको लागि हामीले आचारसंहितालाई अन्तिम रूप दिनका लागि छलफल गरिरहेका छौं । सिडियो कार्यलयमा बसेर आचारसंहिताको ड्राफ्टमा छलफल भएको छ, के गर्ने के नगर्ने भन्नेमा व्यवसायी र प्रशासनबिच छलफल अन्तिम चरण छ । गृहको निर्देशनसँगै अब समस्या हट्ने आशा जागेको छ ।”
केही दिनभित्र आचारसंहिता फाइलनगरी जिल्ला समन्वय समितिमा छलफल गरेर ठमेललाई ढिलोमा आउँदो नयाँ वर्षबाट चौबिसै घण्टा सञ्चालन गर्ने सहमति भएको शर्माले बताए । शर्माले अगाडि भने, “तयारी तिव्र छ, आचारसंहिता परिषद्ले बनाएर समेत दिएको छ । अहिले होटल व्यवसायीमा रातभर खेल्दा ध्वनी प्रदुषण बढ्छ की भन्ने चासो छ । तर, आचारसंहिताले यसलाई सम्बोधन गर्छ ।”
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चौबिसै घण्टा दुई स्थान खुलाउनेको लागि आन्तरिक तयारी अन्तिम चरणमा पुगेको बताए । “पहिला खेल्ने वातावरण बनाउँदै छौं । खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा व्यवसायी र प्रशासन अगाडि बढ्न सकिन्छ भन्ने लागेको छ”, उनले भनेका छन् ।
रात्रिकालिन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध मिलाउन सबै गतिविधि देखिने गरी सिसीटिभी राख्ने, डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता आचारसंहितामा राखिने बताइएको छ । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल पुग्ने भएकोले पर्यटकीय गतिविधी बढ््ने अपेक्षा व्यवसायीहरुको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies