मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सरकार हेरफेरको गृहकार्य अघि बढाएका छन् । दोस्रो तहका नेताहरुबाट भएको प्रयास र ब्रिफिङ पछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच संवाद भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा प्रदेश सरकारको भागवण्डाबारे छलफल चलेको हो । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेका थिए । त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ ।
नेताहरुका अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री लिने, माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने, जसपाले मधेश सरकारको नेतृत्व लिने, सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारको नेतृत्व दिने खाकामा छलफल भएको छ ।
तर नयाँ सत्ता गठबन्धनलाई प्रदेश सरकार फेर्न कांग्रेसले अड्को थाप्ने तयारी गरेको छ । संसदीय अंकगणितका आधारमा खेल्न सक्नेमा खेल्ने र संसदीय अंकगणित खेल्न नसक्ने कोशी प्रदेशमा संवैधानिक प्रश्न उठाउने तयारी कांग्रेसले गरेको छ ।
कोशीमा एमालेले नेतृत्व गर्ने नयाँ गठबन्धनमा छलफल चलेको छ । तर ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत छ । एमालेका ४०, माओवादीका १३ र एकीकृत समाजवादीका ४ सांसद छन् ।
गठबन्धनसँग प्रष्ट बहुमत भए पनि यो प्रदेशमा गत चुनाव यता नै सरकार बनाउने सबै विकल्पमा सरकार बनिसकेको छ । एक वर्षमा पाँच वटा मुख्यमन्त्री फेरिए भने हाल रहेका छैटौं मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वतन्त्र सांसदको हैसितमा मुख्यमन्त्री बनेका थिए ।
यो सरकार अन्तिम सरकार भएको र अर्को सरकार बन्न नसक्ने कांग्रेसको दाबी छ । वर्तमान कार्की नेतृत्वको सरकार ढले मध्यावधि चुनाव हुने भनी कांग्रेसले संवैधानिक प्रश्न उठाएको हो । यसका अलावा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा कांग्रेसले अड्को थाप्दैछ ।
११० सदस्यीय बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ५५ मत छ । सरकार बनाउन ५६ मत चाहिन्छ । १३ सिट रहेको राप्रपाले सरकार बनाउन साथ नदिने भनिसकेको छ । ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि नयाँ गठबन्धनलाई साथ दिने निर्णय लिएको छैन ।
यस्तो अवस्थामा वर्तमान सरकारले विश्वासको मत पाउन नसके सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने र साना दलको साथ लिएर सरकार चलाउने योजना कांग्रेसको छ । तर, कांग्रेसलाई पनि साना दलको साथ लिएर सरकार चलाउन आवश्यक ५६ मत पुग्दैन । यस्तो स्वतन्त्र सरकार बनाउने हदसम्म जाने गरी कांग्रेसले नीति लिएको छ ।
गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज छैन । कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बहुमत जुटाउने प्रयासमा छन् । उनले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका छन् भने दुई प्रदेश सांसद भएको राप्रपाको समर्थन लिने प्रयास गरेका छन् ।
आफू स्वतन्त्र सांसद भएको मनाङेको दाबी सदर भएमा एमाले–माओवादीलाई सरकार बनाउन असहज हुनेछ । मनाङे कारबाहीमा परेर पद रिक्त भएमा पनि नयाँ गठबन्धनलाई सरकार बनाउन आवश्यक मत पुग्दैन । लुम्बिनी र सुद्ररपश्चिम प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनले नाउपाको साथ खोजेको छ । कांग्रेसले पनि यो दुवै सरकार जोगाउन नाउपाकै समर्थन खोजेको छ ।
लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ सांसद छन् । राप्रपा ४, लोसपा ३, जनमत ३, जनमोर्चा १ को समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था छैन ।
एमाले–माओवादी गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन । एमाले २९ माओवादी सभामुख बाहेक ८, जसपा ३ र एकीकृत समाजवादी १ जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार बनाउने एमाले र माओवादी नेताहरुको तयारी छ ।
सुदूरपश्चिम समेतको अंकगणितलाई हेरेर नयाँ गठबन्धनले नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिन तयारी गरेको छ । नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । केन्द्रमा नाउपाका सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।
५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्, माओवादीका ११ र एमालेका १० सांसद छन् । सरकार गठनमा निर्णायक रहेको नाउपासँग ७ सांसद छ । मुख्यमन्त्री कमल शाहले नाउपासँगै राप्रपा (१) र स्वतन्त्र सांसद तारा जोशीको समर्थन लिएर बहुमत जुटाउने कोसिस गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies