मनोज साह/मध्यान्ह
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ५ मा रहेको मुस्कान होटलमा काम गर्ने कामदार मृत अवस्थामा शव फेला परेका छन् । केही महिनादेखि होटलमा काम गर्दै आएका चन्द्रपुर नगरपालिका वडा नं. ६ निवासी ५० वर्षीय कृष्ण प्रसाद घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृतक घिमिरेका परिवारका सदस्यले भने आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन् । यद्यपि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक घिमिरेले होटल सञ्चालकले आफनो चार महिनादेखिको तलब नदिएको भन्दै सोमबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए । सोमबार बिहान उजुरी दिएका घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घिमिरेको अनुहारलगायतमा केही चोटपटकसमेत देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको भएता पनि सो चोटपटक नयाँ अथवा पुरानो भन्ने एकिन भने नभइसकेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले उक्त घटनलाई गम्भीरतापूर्वक हेरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य पत्ता लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सो घटनापछि होटलका सञ्चालक हबीब मियाँ अन्सारी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटनाको आवश्यक अनुसन्धानपछि मात्र हत्या वा आत्महत्याका बारेमा खुल्ने बताए । पीडित परिवारले उक्त होटल सञ्चालक अन्सारीका विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरीसमेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies