सन्तोष बराइली/मध्यान्ह
काठमाडौं : डिजेल चोरीमा संलग्न भएको आशंकामा हेटौँडा उपमहानगरपालिका–९ स्थित नवदुर्गा आयल स्टोर्सका सञ्चालकलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।
नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो प्रमुख बिनितमणी उपाध्यायले नवदुर्गा आयलका सञ्चालकलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएका हुन् । बिहीबार हेटौडास्थित नवदुर्गा आयल स्टोरको कम्पाउण्डमा डिजेल चोरी गर्दै गर्दा पक्राउ परेको ना.७ ख २७९४ नम्बरको ट्यांकरलाई भने काठमाडौंको थानकोटस्थित आयल निगमको बागमती प्रादेशिक कार्यालय ल्याइएको छ ।
अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले मध्यान्हसँग भने, ‘पेट्रोलपम्प सञ्चालकलाई २४ घण्टाभित्र डिजेल चोरीमा संलग्नताबारे स्पष्टिकरण पेश गर्न लिखित उर्दी जारी गरेका छौँ । चोरीबारे सत्यतथ्य छिट्टै सार्वजानिक गर्ने छौँ ।’
अहिले चोरी आशंका गरिएको घटनाबारे अनुसन्धान भइरहेको थानकोट डिपो प्रमख अशोक साहले जानकारी दिए । डिपोले चोरी घटनामा चालकलाई दोष देखाएर कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । यद्यपि थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीको संरक्षणमा चालकले डिजेल चोरी गरेको आशंका गरिएको छ ।
अपरेशन बिभागका एक कर्मचारीले डिपो प्रमुख साहकै योजनाअनुसार ईन्धन मापन गरिदै आएको बताए । उनले भने, ‘हामी त हाकिमको आदेश अनुसार काम गर्छाैँ । कुन ट्रयाङ्करमा कति तेल हाल्ने र कति तेलको बिल बनाउने भन्ने कुरा कार्यालय प्रमुखमै भर पर्छ । हाकिमको निर्देशन बिपरीत डिपोहरूमा कुनै काम हुँदैन ।’
भण्डारण गृहमा खन्याउदा अपुग हुन आएको परिमाण बराबरको तेल तापक्रम र ढुवानीका क्रममा नोक्सानी भएको देखाउने परिपाटी पुरानै हो । यो प्रवृत्तिले चालक–सहचालक र कर्मचारीलाई आर्थिक लाभ भएपनि निगमलाई भने संस्थागत नोक्सानी हुँदै आएको छ । सबै थाहा पाएर पनि यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइदैन ।
कम तेल लिएर आएका ट्यांकरमा बढी तेल रहेको अभिलेख राखिदिए बापत थानकोट डिपोको अपरेसन विभागमा रहेका कर्मचारीले चालकबाट एक हजारदेखि पाँच हजार रुपैयाँसम्म दरले असुल्ने गरेको स्रोतको भनाइ छ । त्यस्तै पेट्रोल पम्पका लागि ‘डाइभर्ट’ हुने ट्यांकरमा रहेको तेलको समेत नापजाँचमा लापरबाही गर्ने गरिएको स्रोतको भनाइ छ ।
बिहीबार दिउँसो हेटौँडा प्रहरीले स्थानीयको उजुरीपछि डिजेल चोरी गर्दैगर्दा ट्यांकर नियन्त्रणमा लिई चालक अलाम हवारी र नवदुर्गा आयल स्टोर्सका कर्मचारी वीरेन्द्र साहलाई पक्राउ गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies