कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्णय गरेका कार्यक्रमहरु कार्यान्वयन हुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फेरिस हदाद जर्भोससँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए ।
पूर्वअर्थमन्त्री महतले संसदमा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको बताए । अर्थमन्त्री पुनले कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको र मैले त्यसो गर्नु उपयुक्त नभएको बताए ।
सिद्धान्त र प्राथमिकताबारे संघीय संसदका दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको उनको भनाइ छ। आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौंमा हुने विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको बैठक तोकिएकै समयमा हुने बताए । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्याइदिन आग्रह गर्दै मन्त्री पुनले एमसीए नेपालमार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए ।
त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताए । चालु आर्थिक वर्षको ३० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गर्दै अर्थमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्च बढाउन मन्त्री र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए ।
सन् २०२६ भित्र मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने विश्वास दिलाउँदै त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्न कानूनी सुधार र लगानीका नयाँ ढोकाहरु खोल्न क्रियाशिल रहेको मन्त्री पुनको भनाइ छ। उनले गेमचेन्जर आयोजनाका रुपमा रहेको १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने तयारी अघि बढाएको बताए ।
फेरिस हदाद जर्भोस नेपालको विकास प्रयासमा विश्व बैंकले विगतदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाएका छन् । माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुंग्याउने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies