संघीय संसदको बुधबारको बैठकमा नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले उठाएका प्रश्नमाथि सुनिनेगरी जवाफ आएको छैन । जनताले रुचाएका नेता थापाको प्रश्न झट्ट सुन्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र तिनका नेता–कार्यकर्तामाथि गरेका हुन् । तर, यो प्रश्न सत्तारुढका लागि मात्रै चाहिँ पटक्कै होइन । जवाफ चाहिँ नेकपाकै नेताहरुले दिनुपर्नेछ । प्रश्नको फ्रन्टलाइनमा नेकपाकै नेताहरुलाई सांसद थापाले राखेकाले पहिलो प्रश्न उनीहरुले नै दिनुपर्नेछ ।
सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग सम्बन्धीत रहेर संसदमा मुलतः तीन प्रश्न गम्भीर ढंगले उठाएका छन् । स्वास्थ्य लाभको कामनासहित नेता थापाले पहिलो प्रश्न गरेका छन्– केपी शर्मा ओली देशका प्रधानमन्त्री भएकाले जनतालाई उहाँहरुको स्वास्थ्य अवस्थाबारे जान्ने अधिकार हुनुपर्छ । आफ्नो देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको सचिवालयले झुक्याउने होइन, प्रष्ट कुरा राख्नुपर्छ । त्यसको पहिलो थलो संसद नै हो । किनभने, संसद जनप्रतिनिधिहरुको सुनुवाई हुने ठाउँ हो । अहिलेसम्म सरकारले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुनै जानकारी नदिएकाले जवाफ माग गरिएको छ ।
दोस्रो प्रश्न प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कार्यकारी भूमिकासँग जोडेर गरिएको छ । नेपाल संसदीय प्रणाली मान्ने देश भएकाले प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हुन्छन् । कार्यकारी प्रमुख लामो समय विदेशमा गइरहनुपर्ने र विदेशबाटै टेलिकन्फ्रेन्स गर्ने कुराले मुलुकको सार्वभौमताबारे प्रश्न उठाएका छन् । पहिलो स्वास्थ्य अवस्थाकै कारण देशले गति लिन नसक्ने र अर्को कुरा विरामी भएर पनि कार्यकारी भूमिका निर्वाह गर्दा व्यक्तिगत कष्टको प्रशंग उठाएका छन् ।
तेस्रो भने मानवीय छन् । दोस्रो प्रशंगमा नेता थापाले अर्को प्रधानमन्त्री चयन हुँदा उपयुक्त हुने र त्यो नेकपाकै हुने प्रष्ट्याउँदै सुझाव दिएका थिए । तर, तेस्रो प्रशंगमा भने गगन थापाले प्रधानमन्त्री ओलीलाई एउटा मानिस र मानवीय संवेदनाका दृष्टिले सम्मानका साथ सोही तरिकाले व्यवहार गरिनुपर्ने जनाएका छन् । उनको जोड छ– हामी घरका अभिभावक विरामी परे आराम गर्न, कम काम गर्न र निर्वाह गरिरहेका भूमिकाबाट हलुका बनाइदिन्छौं भने प्रधानमन्त्री पनि हाम्रो देशको अभिभावक हो । त्यसैले प्रधानमन्त्री ओलीलाई विश्रामको खाँचो छ । थापाले यसो भनिरहँदा नेकपाकै धेरै सांसदहरुले पनि ध्यान दिएर सुनेका थिए । जुन, बिस्तारै बिर्सने नेपालीको बानी पनि हो । नेता थापाले उठाएका धेरै कुरा गलत छैनन् । फरक हाम्रो विगत र कुर्सीप्रतिको आशक्तिले आशंका जन्माएको छ । यदि, होइन भने प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले एक पटक सोच्दा लाभ नै ज्यादा हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies