पछिल्लो समय पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह देखिएको छ । यससँगै काठमाडौंको दरबारमार्ग र ठमेल २४ सैं घण्टा खुलाउने योजना र पोखरालाई पर्यटनको राजधानी घोषणासँगै पर्यटन उद्यमीमा थप उर्जा थपिएको छ । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आए भने २०२४ मा दोब्बर ल्याउने सरकारले घोषणा गरेको छ । पर्यटनमा सम्भावना देखेर पाँच तारे चेन होटलदेखि पर्यटकीय स्तरको होटलहरु धमाधम सञ्चालनमा आइरहेका छन् । अब पर्यटन उद्योगलाई थप विकास गर्न सरकार र निजी क्षेत्र कसरी अगाडि बढ्नु पर्छ भनेर होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहसँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
पर्यटकको आगमन बढ्दा पर्यटन क्षेत्र तङग्रिएको हो ?
पर्यटन क्षेत्र बहु–आयामिक क्षेत्र हो । एक जना पर्यटक आउँदा बित्तिकै सबै क्षेत्रमा फाइदा भइरहेको हुन्छ । होटल, रेष्टुरेण्ट, ट्राभल्स, टे«किङदेखि स–सानो व्यवसायलाई समेत लाभ हुन्छ । कोभिड–१९ अघि कै अवस्थामा नेपालमा पर्यटकको आगमन भएको छ । पर्यटन क्षेत्रले लय समाएको देखिन्छ । पर्यटक त आएका छन् तर, उनीहरुले गर्ने खर्च भने बढ्न सकेको छैन । नेपालमा चीन र भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ, यसले आगामी दिनमा पर्यटन क्षेत्रको उज्वल भविष्य देखाएको छ । जसले गर्दा पछिल्ला दिनमा पर्यटन व्यवसायको क्षेत्रमा उत्साह थपेको छ ।
पर्यटन व्यवसायको उत्साहलाई थप अगाडि बढाउन अब गर्नु पर्ने काम के देख्नुहुन्छ ?
पर्यटन क्षेत्रको विकास गर्ने हो भने सबैभन्दा पहिलो योजना नै चाहिन्छ । योजनाबद्ध तरिकाले सरकार र निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्छ । आगामी दिनमा हाम्रो गन्तव्य स्पष्ट भयो भने काम गर्न सहज हुन्छ । कोभिड पछाडि संसारभरी नै टुरिजम क्षेत्रलाई असर गरेकै हो । पर्यटकीय गन्तव्य भएका मुलुकहरुले पर्यटक भित्र्याउन नयाँ–नयाँ योजना, रणनीति, अफर र योजना बनाइरहेका छन् । अझैपनि सिमित मात्रामा मात्रै पर्यटकहरु घुम्नको लागि निस्किएका छन् । उनीहरुलाई आफनो देशमा कसरी आकर्षण गर्ने भन्ने नै प्रमुख कुरा हो । जुन देशले पर्यटकको लागि योजना, कार्यक्रम, रणनीति बनाउन सक्छन् पर्यटक त्यतै जान्छन् । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आए । २०२४ को शुरुदेखि नै नेपालमा पर्यटकको आगमन राम्रै छ । यहि मार्चमा पनि एक लाख २८ हजार पर्यटक नेपाल आएका छन् । यो अहिलेसम्म कै रेकर्ड हो । अब आगामी दिनहरुको अवस्था हेर्दा अहिलेसम्म होटल क्षेत्रको बुकिङ समेत राम्रो छ । यसलाई कसरी संस्थागत गर्ने, कसरी बढाउने भन्ने प्रश्न छ । घुम्न निस्कने पर्यटकहरुले कुन देशमा पर्यटकलाई कस्तो सेवा सुविधा छ भनेर हेरिरहेका हुन्छन् ।
सरकार र निजी क्षेत्रको भूमिका के हुनुपर्छ ?
निजी क्षेत्रले एक पछि अर्काे पाँच तारे होटलदेखि पर्यटनमैत्री होटलमा लगानी बढाइरहेका छन् । २०२३ मा १० लाख पर्यटक नेपाल आएका छन् त्यो भन्दा तीन गुणा ३० लाख पर्यटकलाई सेवा, सुविधा दिन सक्ने क्षमता निजी क्षेत्रको होटलमा छ । नेपाल आएको पर्यटकलाई खाने, पिउने, बस्ने, मनोरञ्जन गर्न, सभा सम्मेलन गर्न समेत स्थान तथा सुविधा उपलब्ध गराउन निजी क्षेत्र सक्षम छ । हामी निजीले क्षेत्रले गर्ने लगानी र तयारी धेरै गरिसकेका छौं । अब सरकारको भूमिका धेरै नै देखिन्छ ।
पूर्वाधार, कनेक्टिभिटी, सडक सञ्जाल, एयरपोर्ट सञ्जाललाई व्यवस्थित बनाउन आवश्यक छ । पोखरा र भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट तयार भयो, तर सञ्चालनको लागि गृहकार्य देखिएको छैन । अन्तर्राष्ट्रिय उडान छैन । पर्यटकको मुख्य डेस्टिनेसन पोखरा, चितवन, लुम्बिनी जाने बाटो हेर्दा बिजोक छ । अहिले स्तरउन्नतको काम भइरहेको देखिन्छ । बाटो ठूलो बन्दै छ, राम्रो हो तर, यति ढिलो काम भएको छ की काम सकिने बेलामा ३० प्रतिशत मात्र प्रगति छ । यसले के देखाउँछ भने सरकारले पूर्वाधार निर्माणमा थप जोड दिनुपर्छ ।
सरकारी संयन्त्र कमजोर हुँदा पर्यटन क्षेत्रले गति लिन सकेको छैन । अहिले पर्यटनबाट जति प्रतिफल प्राप्त छ त्यसलाई दोब्बर बनाउनेतर्फ ध्यान दिन जरुरी छ । सरकारले समेत यस वर्ष १० लाख पर्यटक आए अर्काे वर्ष २० लाख पर्यटक भित्र्याउने सार्वजनिक रुपमा घोषणा गरेको छ । सरकारले लिएको लक्ष्यलाई साथ दिन होटल व्यवसाय क्षेत्र तत्पर छांै । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम बजेटमा २०२३–२०३२ सम्मलाई पर्यटन दशक भनेर समेत घोषणा गरेको छ । त्यसमा एक वर्ष समय बितिसकेको छ तर, सरकारको तयारी देखिँदैन । निजी क्षेत्र उत्साहित हुँदा सरकारका तीनै तहको एक अर्कामा समन्वयकारी भूमिका हुन सकेको छैन । अब आउँदो बजेटले पर्यटन क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो बनेमात्रै पर्यटनबाट पाउने प्रतिफल अहिलेको भन्दा दोब्बर हुन्छ ।
चीन र भारतबाट पर्यटक बढी आएका छन् । अझै बढी भन्दा बढी पर्यटक भित्र्याउन के गर्नुपर्छ ?
हामी चीन र भारतको बिचमा छौं । कोभिड भन्दा अघि चीनबाट मात्रै २० करोड पर्यटक घुम्न निस्केका थिए भने भारतबाट समेत १० करोड पर्यटक विभिन्न मुलुक घुम्न निस्केका थिए । यसरी हेर्दा हामी ३० करोड घुम्ने पर्यटकको बिचमा छांै । ३० करोड मध्ये एक प्रतिशत मात्र नेपालमा पर्यटक आउने हो भने नेपालले केही गर्नै पर्दैन । त्यो सम्भव पनि छ । दुवै देशसँग नजिक हामी छौं । नयाँ बनेको भैरहवा र पोखरा विमानस्थलबाट दुवै देशमा उडान विस्तार गर्ने बित्तिकै पर्यटकको आगमन ह्वात्तै बढ्छ । यसमा सरकारको गृहकार्य पुग्न सकेन । आजदेखि शुरु गर्नसकेमा छ महिनामा नतिजा आउन सक्छ । तर, खै त तयारी ?
पछिल्लो समयमा पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटल थपिएका छन्, यसले के संकेत गर्छ ?
निजी क्षेत्र, विशेषगरी होटल क्षेत्रका लगानीकर्ता धेरै नै आशावादी छौं । अहिले जसरी होटल बनेका छन्, सानो लगानी होइन । पाँचतारे होटलमा अर्बौंको लगानी भएको छ । अर्बौं लगानी गर्ने लगानीकर्ताले भविष्य देखेर नै लगानी गरेका हुन् । चीन र भारतको बीचमा हामी छौं । दुवै देश तीव्र आर्थिक विकासमा अग्रसर छन् । दुवै देशमा घुम्न जाने र खर्च गर्न सक्ने ठूलो संख्या छ । त्यहाँबाट ठूलो संख्यामा पर्यटक ल्याउने योजना मात्र बनाउन सक्ने हो भने देशैभरको पर्यटन व्यवसाय फस्टाउन सक्छ । पूर्वाधार निर्माण हुने बित्तिकै हामीलाई पर्यटक ल्याउन कठिन छैन । नेपालमा आएर सगरमाथा चढ्ने, हिमाल हेर्ने, ¥याफ्टिङ गर्ने जमात धेरै नै छ । यस्तै आन्तरिक पर्यटकको संख्या समेत अहिले बढ्दै गएको देखिन्छ । समस्या हाम्रो देश राजनीतिमा बढी तर, अर्थनीतिमा ध्यान निकै कम छ । एक रथको दुई पाङ्ग्रा राजनीति र अर्थनीति हुन् । अहिले राजनीति मात्र अगाडि बढेको छ अर्थनीति चल्न सकेको छैन ।
होटल क्षेत्रमा लक्जरीको कर हटाउने माग गर्दै आउनु भएको छ, सो करले पर्यटन क्षेत्रलाई के असर गर्छ ?
होटल क्षेत्रमा १३ प्रतिशत कर त थियो नै, थप दुई प्रतिशत लक्जरी कर थपिएको छ । लक्जरी करले देशलाई नै बदनाम गराएको छ । अरु देशहरुले छुट दिइरहेका छन् । नेपालले थप दुई प्रतिशत लक्जरी कर किन लगाएको होला ? नेपाल आउने पर्यटकलाई समेत बुझाउन नसक्ने अवस्था छ । कोभिडबाट ग्रसित होटल व्यवसायलाई लक्जरी करको कारण झनै मार परिरहेको छ । सरकारलाई राजस्व चाहिन्छ तर, के मा कर लगाउँदा के हुन्छ भन्ने समेत अध्ययन छैन । कर थप्ने भन्दा पनि बढी भन्दा बढी पर्यटक ल्याउनेतर्फ हामी जुट्नु पर्ने हो । थप करले पर्यटक आगमनको ढोका लगाउने काम भएको देखिन्छ । थप कर पर्यटनमैत्री छैन । आगामी बजेटले होटल क्षेत्रको लक्जरी कर हटाउनु नै पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies