काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व समावेशी सिद्धान्तका आधारमा सर्वसम्मतिले चयन गर्ने विषयमा छलफल शुरु भएको छ । असोज ७ गते राजधानीको होटल हायातमा संघको साधारणसभाको कार्यक्रम तय गरेको संघले आगामी नेतृत्व सर्वसम्मतिले चयन गर्नु उपयुक्त हुने भन्दै विभिन्न राजनीतिक दल निकट शुभेच्छुक सस्थाका अध्यक्षहरुसँग आइतबार छलफल गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायीलाई छाता संस्था मान्ने विभिन्न राजनीतिक दलका शुभेच्क्षुक व्यवसायिक संस्थाहरु संघको नेतृत्व छनोटको निर्वाचनमा निर्णायक देखिने गरेका छन् । आइतबार संघका अध्यक्ष रोहन गुरुङको कार्यकक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतीशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष चित्रगुप्त साँवा लिम्बु, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका कार्यवाहक अध्यक्ष हेमन्त जोशी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शुभेच्क्षुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका कार्यवाहक अध्यक्ष सूजित श्रेष्ठ सहितको गम्भीर बैठक भएको थियो ।
करिब दुई घण्टा चलेको बैठकमा संघको आगामी नेतृत्व र कार्यसमितिको चयन समावेशी सिद्धान्तका आधारमा सर्वसम्मतिले गर्नु नै उपयुक्त हुने धारणा आएको अध्यक्ष गुरुङले बताए । संघ स्थापनाको शुरुवाती वर्षहरुमा सहमतिका आधारमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने गरेपनि मुलुकमा बहुदलीय राजनितिक प्रणालीको अभ्यास भएपछि वैदेशिक रोजगार व्यवसायीहरु पनि चुनावी प्रतिस्पर्धाका आधारमा संघको नेतृत्वमा पुग्ने गरेका छन् ।
वैदेशिक रोजगार ऐन संशोधनसँगै भएको धरौटी वृद्धि भएपछि व्यवसायमा आर्थिक दायित्व थपिएको र अन्य कानुनी तथा व्यवहारिक प्रतिकुलताहरु पनि उत्पन्न भई विषम परिस्थिति सिर्जना हुनसक्ने र त्यस परिस्थितिमा समस्याको समाधान निकाल्न सर्वसम्मत रुपमा चुनिएको बलियो नेतृत्वको आवश्यकता महशुस भएको अध्यक्ष गुरुङले बताए ।
सरकारले गरेको धरौटी वृद्धिपछि म्यानपावर व्यवसायीहरुको संख्या ८ सय ५४ मा सिमित भएको छ । संघले पहिलो चरणमा प्रमुख राजनीतिक दलका शुभेच्क्षुक संस्थाका प्रमुखहरुसँग छलफल गरेको निचोडका आधारमा दोश्रो चरणमा संघका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, त्यसपछि संघलााई छातासंस्था मान्ने विभिन्न घटक संस्थाका प्रतिनिधिहरुसँग यस विषयमा छलफल गर्ने मोडालिटी तयार गरेको छ ।
संघलाई छाता संस्था मान्ने करिब डेढ दर्जन जति जातीय, क्षेत्रीय, भेगीय तथा सामाजिक संघ–संस्थाहरु रहेका छन् । अध्यक्ष गुरुङले नेतृत्वमा सर्वसम्मत भएपछि कार्यसमितका अन्य पदाधिकारी र सदस्यमा समावेशी सिद्धान्ताका आधारमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी कार्यसमिति बनाउने विषयमा आइतबारको छलफलमा सहभागी सबैको एकै मत बनेको दावी गरे ।
अध्यक्ष गुरुङले सबै पक्षसँग छलफलपछि मात्र नेतृत्व गर्ने व्यक्तिको बारेमा छलफल गर्ने पनि दावी गरे । तर एक श्रोतले हाल संघको महासचिव रहेका प्रगतीशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष सरोज कुमार पोखरेल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पूर्व अध्यक्ष राम प्रसाद भान्तना, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका संस्थापक अध्यक्ष एवं संघका पूर्व अध्यक्ष तिलक बहादुर रानाभाट, फोरमका पूर्व अध्यक्ष विष्णु गैरे, संघका पूर्व अध्यक्ष बलहादुर तामाङ लगायतको नाम बिभिन्न कोणबाट सर्वसम्मतिको लागि अगाडि सारिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies