-दिवाकर अधिकारी
होचो कद र सानो जिउडाल, तर खेल प्रदर्शन गतिशील र फिनिसिङ पनि उत्कृष्ट । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी सदस्य प्रिती राईको खासियत नै यही हो । २०६१ साल मंसिरमा काठमाडौंमै जन्मिएकी प्रितीको स्थायी घर भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल तुमाउ हो ।
सानै उमेरदेखि फुटबल खेलमा लगाव राख्ने प्रितीलाई फुटबल खेल्न घरपरिवारबाट पनि पूर्ण समर्थन थियो । त्यसैले त आज उनले फुटबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाएकी छन् ।
आठ वर्षकै उमेरबाट प्रितीले फुटबल खेल्न शुरु गरेकी हुन् । बुबाले कराँते सिक्न पठाउँदा प्रितीले कराँतेको लुगासँग फुटबल बुट साटेर ल्याएकी थिइन् । त्यहाँबाट पनि फुटबलप्रति प्रितीको लगाव प्रष्ट बुझ्न सकिन्छ । गाउँमा साथीहरुसँग फुटबल खेल्दाखेल्दै प्रितीले नेपाल युथ प्रोग्राममा प्रशिक्षण गर्ने मौका पाएकी थिइन् । जहाँबाट उनले आफ्नो व्यावसायिक फुटबल यात्रा प्रारम्भ गरेकी थिइन् ।
उमेर समूहमा नेपाली टिमको कप्तानी गरेकी प्रिती सानै उमेरमा नेपाल एपीएफ क्लबमा आबद्ध भएकी थिइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेको भएरै एपीएफले प्रितीलाई क्लबमा अनुबन्ध गरेको थियो । जसबाट उनलाई राष्ट्रिय टिममा प्रवेश गर्न ढोका खुल्यो ।
२०७८ भदौमा १६ वर्षकै उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी प्रिती अहिले १९ वर्षकी भइन् । डेब्यू खेलमै बंगलादेशविरुद्ध गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी प्रिती सबैको ध्यान आफूतिर खिच्न सफल भइन् ।
प्रितीलाई नेपाली महिला टिमको भविष्यको रुपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ । मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीले अफ्नो खेललाई निरन्तर निखार्दै लगेकी छन् ।
प्रितीले भारतीय महिला आई–लिगबाट पनि व्यावसायिक फुटबल खेल खेल्दै आएकी छन् । उनी भारतीय आई–लिगमा किक स्टार्समा अनुबन्धित छिन् । तर साउदी अरबमा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा घाइते भएपछि प्रितीको स्थानमा नेपाली राष्ट्रिय फुटबल टिमकी अर्की सदस्य अनिता केसीले आई–लिगमा आवद्ध भइन् । राष्ट्रिय टिममा गरेको उत्कृष्ट प्रदर्शन गरेकै कारण प्रितीलाई भारतीय आई–लिग खेल्न प्रस्ताव आएको थियो ।
यस सिजन आई–लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रितीसँगै दीपा शाही, राष्ट्रिय महिला टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले आई–लिग खेलेका छन् ।
साउदीमा भएको वाफ वुमेन्स च्याम्पियनसिपबाट प्रितीको लोकप्रियता झनै आकाशिएको छ । उपाधि जित्न नसके पनि नेपाललाई फाइनलसम्म पुर्याउन प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् । सेमिफाइनल खेलमा इन्ज्युरी समयमा प्रितीले गरेको गोलबाटै नेपाल विजयी हुँदै फाइनलमा पुगेको थियो । डी–बक्स बाहिरबाट लङ सट हान्दै प्रितीले गरेको त्यो गोलको निकै चर्चा भएको थियो । वाफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनस्वरुप प्रितीलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले नगदसहित सम्मान पनि गरेका छन् ।
शुरुमा नेपाली टिममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने प्रिती अहिले पहिलो रोजाइको महत्वपूर्ण खेलाडी बनिसकेकी छन् । १९ वर्षको कलिलो उमेरमै राष्ट्रका लागि ठूलो जिम्मेवारी काँधमा बोकेर मैदानमा उत्रिएकी प्रितीलाई चुनौतीपूर्ण सफलताका खुड्किला अझै पार गर्न बाँकी नै छ ।
नेपालमा पुरुष फुटबल टिमकै घरेलु प्रतियोगिता कमैमात्र हुने गरेको छ । यस्तोमा महिला फुटबलका गतिविधि नगन्य मात्रामा हुन्छन् । सेवा सुविधादेखि खेल पूर्वाधारको अभावमै फुटबल खेलिरहेका नेपाली खेलाडीहरुलाई विदेशी खेलाडी सरह हुन त निकै समय लाग्ला ।
तर सेवा सुविधा र खेल पूर्वाधारको आधारमा हेर्दा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो देखिन्छ । घरेलु महिला फुटबलका गतिविधिमा बृद्धि गरेर खेलाडी उत्पादनमा राज्यले ध्यान दिने हो भने प्रितीजस्ता उम्दा खेलाडीले विश्वभर आफूसँगै देशलाई चिनाउने थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies