मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : मधेस प्रदेश सभामा तोडफोड भएको छ । जनमत पार्टीका सांसद र मर्यादापालकबीच धकेलाधकेल भएको छ । त्यसक्रममा तोडफोड समेत भएको हो । सभामुख रामचन्द्र मण्डलले बोल्ने माइक नै भाँचिएको छ । तोडफोडपछि सभामा हातपात हुने स्थिति सिर्जना भएपछि सभामुख मण्डलले प्रदेश सभा बैठक स्थगित गरिदिए ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि सभाको बैठक दिउँसो २ बजे राखिएको थियो । उक्त बैठकमा जनमतले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित गरिएको थियो । १० मिनेटका लागि स्थगित भएको बैठक झण्डै पाँच घण्टा ढिलो सुरु भएको थियो । दोस्रो बैठकमा पनि जनमतले अवरोध गर्यो । सभामुख अवरोधका बीच अगाडि बढ्न खोजेपछि धकेलाधकेल र तोडफोड भएको हो ।
नाराबाजी गर्दै सभामुख बसेको स्थान र पोडियममा जनमतका सांसदहरू चढ्ने प्रयासमा थिए । त्यसक्रममा मर्यादापालकसँग धकेलाधकेल भएको हो । त्यस क्रममा सभामुखले बोल्ने माइक भाँचिएको हो ।
जनमत पार्टीका सांसदहरुले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासको क्रममा प्रदेशका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव लगायतका सांसदहरूमाथि भएको आक्रमणको घटना छानबिनका लागि विशेष संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।
आफूहरूको माग सम्बोधन नभएको भन्दै सभामा जनमत पार्टीका सांसदले रोष्ट्रम अगाडि उभिएर सरकारविरूद्ध नाराबाजी गरे ।
दोस्रो पटक पनि स्थगित भएर तेस्रो बैठक बस्यो । तेस्रो बैठकमा सभामुखले नै जनमत पार्टीका सांसदहरुलाई बाहिर निकाल्न मर्यादापालकहरुलाई निर्देश गरे । त्यसपछि प्रतिपक्षी दलहरु कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरुले पनि बैठक बहिष्कार गरे । विपक्षीहरुको बहिष्कारकाबीच मख्यमन्त्रीले विश्वासको मत लिए ।
नेपालको संसदीय इतिहासमा केन्द्रीय संसदमा तोडफोडका घटना नयाँ होइनन् । मुलुक प्रादेशिक संरचनामा गएपछि केन्द्रको सिको प्रदेश सभा सदस्यहरुहरुले समेत गर्न थालेका हुन् ।
यसअघि २०७७ असोज १९ गते लुम्बिनी प्रदेश सभामा समेत तोडफोड भएको थियो । त्यसबेला कांग्रेसका सांसदहरूले तोडफोड गरेका थिए । उनीहरूले सभाका कुर्सी टेबलमा पछारेर माइक तोडेका थिए । प्रदेशको नाम र स्थायी राजधानीको विषयमा छलफल गर्न बोलाइएको बैठकप्रति असन्तुष्टि जनाउँदै त्यसबेला प्रदेश सभामा तोडफोड भएको थियो ।
केन्द्रीय संसदमा भने पछिल्लो समय तोडफोडका घटना भएका छैनन् । इतिहासमा भने कैयन पठक तोडफोड भएका उदाहरण छन् । संसदीय अभिलेख अनुसार २०५०, २०५५ र २०५७ सालमा केन्द्रीय संसदभित्र भएका तोडफोड भएका थिए । दोस्रो संविधानसभामा २०७१ मा पनि संसदमा तोडफोड भएको थियो ।
संविधान जारी भएपछि देशका सात वटै प्रदेशका प्रदेशसभाले पनि संसदीय अभ्यास गरिरहेका छ्न् । प्रदेश सभामा सदस्यहरुले संसदीय अभ्यास सिकिरहेको बताइन्छ । यस्तोमा तोडफोडका घटनाहरु पनि देखिएका हुन् ।
मुख्यमन्त्री यादवले पाए विश्वासको मत
प्रतिपक्षमा रहेका दलहरुको बहिष्कारकाबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।
नेपाली कांग्रेस, जनमत पार्टी र लोसपाका सांसदहरुले बहिस्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले विश्वासको मत दिए ।
यो सँगै मुख्यमन्त्री यादवले चौथोपटक सदनबाट विश्वासको मत पाएका हुन् । यसअघि ६ फागुन २०८० मा विश्वासको मत लिँदा यादवको पक्षमा ६९ र विपक्षमा ३५ मत परेको हो ।
मधेश प्रदेश सभामा एमालेका सबैभन्दा धेरै २४ जना प्रदेशसभा सदस्य छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक÷एक र एक स्वतन्त्र सांसद छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies