लामो गृहकार्यपछि सुदूरपश्चिम प्रदेशले नयाँ सरकार पाएको छ । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । बदलिएको सत्ता समीकरण अनुसार नयाँ सरकार गठन गर्दा सोडारीलाई जसरी मुख्यमन्त्री बनाइयो, त्यो क्रममा सत्तारुढ गठबन्धनले प्रदेश प्रमुखलाई खुलेआम प्रयोग गरेका छन् । किनकि सोडारीलाई समर्थन गर्ने मध्येका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत पाँच जना सांसदले मत नदिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । उक्त पार्टीका दुई जना सांसदले मात्रै सोडारीको पक्षमा समर्थन गरेका थिए । अर्थात् संयुक्त सरकार गठन गर्न नाउपाको पुरा समर्थन नरहेको प्रष्ट थियो । तर यो तथ्यप्रति आँखा चिम्लेर प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्री नियुक्त गरे ।
यसको अर्थ प्रदेश प्रमुख मियाँले संवैधानिक प्रक्रिया र प्रमाणलाई भन्दा पनि राजनीतिक निर्णयलाई आधार मानेर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरे । प्रदेश प्रमुखले संवैधानिक व्यवस्था बिर्सेर राजनीतिक निर्णय लिन गरेको यो पछिल्लो घटना मात्रै हुन् । यसअघि पनि प्रदेश प्रमुखहरुले खुलेआम राजनीतिक पक्षधरता लिइरहेका छन् । मियाँ पनि गत २८ फागुनमा मात्रै नियुक्त भएका थिए । २१ फागुनमा सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस निकट रहेकाहरुलाई बर्खास्त गरेर मधेश, बागमती र सुदूरपश्चिममा एमाले कार्यकर्ता प्रदेश प्रमुख नियुक्त गरिएका थिए । आफू अनुकुल प्रदेश चलाउने नियत बमोजिम नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस पृष्ठभूमिका प्रदेश प्रमुखहरु बर्खास्त गरेका थिए ।
यसरी सरकार फेरिएसँगै प्रदेश प्रमुख बर्खास्त गर्ने अनि आफू निकटकालाई नियुक्त गर्ने प्रचलन २०७४ बाटै सुरु भएको हो । २०७२ को संविधानको व्यवस्था बमोजिम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई नयाँ प्रधानमन्त्री बनेर आएका ओलीले बर्खास्त गरेका थिए । त्यसयता प्रदेश प्रमुखहरु सरकार परिवर्तनसँगै फेरिन थाले भने प्रदेश प्रमुखहरुले आफूलाई नियुक्त गर्ने राजनीतिक नेतृत्वप्रति बफादारिता देखाउदै आएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निर्णय पछिल्लो उदाहरण मात्रै हुन् । तर यसरी प्रदेश प्रमुखहरु खुलेआम राजनीतिक चलखेलका आधारमा नियुक्त हुने र उनीहरुले संविधान कुल्चने गर्दा व्यवस्थाप्रतिको विश्वास भने धरायसी बनिरहेको छ । अर्कातिर प्रदेशको राजनीतिलाई चरम अस्थिरतातिर धकेल्ने काम पनि प्रदेश प्रमुखकै साथ लिएर गरिदैछ भने जनादेश निर्थक बनिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies