दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : विभिन्न २५ वटा राजनीतिक दलले नियमितरुपमा पार्टीको लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा पेस नगरेको पाइएको छ । कानुनतः प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा पेश गर्नुपर्छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनासम्म बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, ६ महिनासम्म समय पाउँदा समेत लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलहरु छन् ।
निर्वाचन आयोगका अनुसार कतिपय दलले तीन वटा आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश गरेका छैनन भने कतिपयले एक र दुई आर्थिक वर्षको बुझाएका छैनन् । तीन वर्ष नियमित लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलको संख्या तीन रहेको छ । आयोगका अनुसार आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिकले आर्थिक वर्ष २०७७/०७८ देखि नै लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका छैनन् ।
६ वटा राजनीतिक दलले दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । ती दलहरु हुन– साझा पार्टी नेपाल, सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी र गान्धीवादी पार्टी ।
१५ वटा राजनीतिक दलले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । जसमा चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, शिवसेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, राष्ट्रवादी एकता पार्टी लगायत रहेका छन् ।
अर्को एउटा समाजवादी केन्द्र नेपालले पनि आर्थिक वर्ष २०७८/०७९ सालको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । यसरी बिभिन्न २५ वटा दलले पार्टीको हिसाबकिताब लुकाएको पाइएको हो । जसमा कसैले एक आर्थिक वर्षको, कसैले दुई आर्थिक वर्षको र कसैले तीन आर्थिक वर्षको हिसाबकिताब लुकाएका हुन् ।
पार्टीको हिसाबकिताब लुकाउने २५ दल र निर्वाचन आयोगमा बुझाएर पनि सार्वजनिक नगर्ने अन्य दलहरुसहित ३८ दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्नेलाई किन नगरिएको भन्ने प्रश्न सोधिएको छ भने लेखा परीक्षण प्रतिवेदन नबुझाउनेलाई कारबाही किन नगर्ने भनी सोधिएको छ ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार निरन्तर तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने तीनवटा दललाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने ६ र आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने एक राजनीतिक दललाई पनि स्पष्टीकरण सोधिएको छ ।
आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि सकिएपछि पेश गर्ने १३ र आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने १५ दललाई पनि स्पष्टीकरण सोधिएको छ ।
आयोगले आयोगमा बुझाएका तर, सार्वजनिक नगरेका २१ वटा दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । लेखा परिक्षण सार्वजनिक नगर्ने २० र निर्धारित समयभन्दा पछि लेखा परीक्षण बुझाउने एक राजनीतिक दललाई सात दिनभित्र सार्वजनिक गरी विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ५ मा आयोगमा पेश भएको लेखा परीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालबाट सात दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आयोगमा गराउनुपर्ने व्यवस्था छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies