काठमाडौंबाट मुकुन्द लामिछाने, दाङबाट सपना बोहरा/मध्यान्ह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साना दलहरु मिलाउनै सकस परेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मनाउन सकस परिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले लुम्बनी प्रदेश सरकार छाडेको छ । लुम्बिनी प्रदेश समितिको बैठकबाट निर्णय गरेर जसपा आइतबार प्रदेश सरकारबाट बाहिरिएको हो ।
जसपाले आफ्नो मन्त्रीलाई पनि फिर्ता बोलाएको थियो । पार्टीको निर्णयअनुसार सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिए । सरकारबाट बाहिरिए पनि समर्थन भने जसपाले कायमै राखेको छ ।
‘गठबन्धन बनाउँदा जसपासँग गरिएको सहमतिबमोजिम दुई जना सांसदलाई मन्त्री बनाउनुपर्ने हो,’ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने, ‘त्यही विषयमा हामी असन्तुष्ट भयौं ।’
सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई शहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएपनि कार्यान्वयन नभएको बाताउँदै उनले सरकारबाट बाहिरिएको बताए । लुम्बिनी प्रदेश सभामा जनता समाजवादीका तीन जना सांसद छन् ।
नेताहरु लुम्बिनीमा जसपाको निर्णय ‘अर्थपूर्ण’ रहेको बताउँछन् । यस्तो आशंका गर्नेहरु केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको बीचमा सम्बन्धलाई देखाउँछन् ।
सूदुरपश्चिम प्रदेश सरकार गठनलाई लिएर एकीकृत समाजवादीले असन्तुष्टि जनाएको थियो । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनाएर अगाडि बढ्न एकीकृत समाजवादी तयार भएपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी संकट टारेका थिए । तर, उक्त संकट पूर्णत टरिसकेको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको छ भने एमाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन । एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन चाहेको थिएन । सोडारीलाई नबनाए कांग्रेसको समर्थन लिएर अगाडि बढ्ने एकीकृत समाजवादीको चेतावनीपछि एमाले लचक भएको थियो । यही कारण एमाले सोडारी नेतृत्वको सरकारमा सहभागी भएको छैन ।
यही बेला केन्द्रीय सत्ता गठबन्धनमा रहेको अर्को दल जसपाले लुम्बिनी प्रदेश सरकार छाडेको हो । केन्द्रीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले जुनसुकै बेला संघीय सरकार छाड्न सक्ने चेतावनी दिइरहेका बेला गठबन्धनकै अर्को दल जसपा सरकारबाट बाहिरिनुलाई नेताहरु अर्थपूर्ण ठान्छन् ।
केन्द्रीय गठबन्धनबाट एकीकृत समाजवादी र जसपा बाहिरिएको खण्डमा पुष्पकमल दहाल नेतृत्वको सरकार अल्पमतमा पर्छ । ३० फागुनमा विश्वासको मत लिँदा प्रचण्डले १५७ मत पाएका थिए । उनलाई विश्वासको मत दिएको जनमत पार्टी आन्तरिक विवादमा छ । प्रतिनिधि सभामा जसपाको ११ र एकीकृत समाजवादीको १० सिट छ ।
जनमत पार्टीको विवादले पनि प्रधानमन्त्री प्रचण्डलाई असर पर्न सक्छ । बागमती प्रदेश र मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धनको सरकार टिकाउन पनि साना दलको विश्वास लिइरहनुपर्ने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies