शनिबार सकिएको नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित प्यानलले लज्जास्पद पराजय व्यहोरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका चतुरबहादुर चन्दले ५९ मतदाता मध्ये ४४ मत ल्याउँदै शानदार जित निकाले । हुन त चन्दको क्यानमा यस अगाडि समेत परीक्षण भइसकेको छ । चन्दले निर्वाचन जिते पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिएन । यसपछि रमेशकुमार सिलवाललाई राखेपले तदर्थ समितिको संयोजक बनाइदियो ।
आईसीसीले क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन नै गरिदियो । यसको सजाय भने नेपाली क्रिकेटले भोग्नु परेको छ । किनभने, क्यान निलम्बनमा पर्दा नेपाली क्रिकेटलाई सिधै आईसीसीले हेर्न थाल्यो । जसले नेपाली क्रिकेटमा ठूलो असर परेको छ । यो त चन्दको पृष्ठभूमी भयो । खासमा भन्ने हो भने मान्यता प्राप्त निर्वाचनमा क्यान प्रतिपक्षी दल काँग्रेसको कब्जामा गएको छ । सत्तारुढको भने सर्वनाक हार भएको छ । पदाधिकारीमा घोषित प्यानल भएपनि सदस्यमा प्यानल थिएन । तर पनि क्यानमा चन्दकै प्यानल विजय भयो भने सत्तारुढ समर्थित प्यानलको नेतृत्व गरेका विनयराज पाण्डेसहित पूरै पदाधिकारीका उम्मेद्वारले नराम्रोसँग पराजय भोग्यो ।
यसको चार दिन अगाडि असोज ७ गते मात्रै पनि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा पनि नराम्रो गरी सत्तारुढ दलको हार भएको थियो । संघको हार ऐतिहासिक मात्रै थिएन, सत्तारुढलाई झस्काउनेगरीको थियो । किनभने देशको अर्थतन्त्र महत्वपूर्ण हिस्सा रहेको वैदेशिक रोजगार व्यवसायीकै निर्वाचनमा सत्तारुढ पराजित हुन पुगेको थियो । सत्तारुढको हारका शिलशिला यतिमै सकिदैन । सुनसरीको इनरुवामा शनिबार नै नेकपाका उम्मेद्वारलाई काँग्रेसका उम्मेद्वारले पराजित गरेको थियो ।
उसोत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालकै जिल्लामा समेत नेकपाका उम्मेद्वारले पराजय व्यहोरिसकेको छ । टानको निर्वाचनदेखि नेपाल निर्माण व्यवसायी महासँघको निर्वाचनसम्म नेकपाको उम्मेद्वारले पराजय व्यहोरिसकेको छ । तर, नेकपामा भने अझैं दुई तिहाईको उन्माद नरोकिएको संकेत गर्छ । किनभने शनिबार मात्रै नेकपा नेतृत्वप्रति आक्रोशित अभिव्यक्ति दिने ज्ञानेन्द्र शाही नेकपाका कार्यकर्ताबाट निर्घात कुटिएका छन् भने गत भदौ २५ गते बाँके काँग्रेसका सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । नेकपा नेतृत्व प्रश्न उठाउने जोकोही प्रति खनिदै आएको देखिन्छ । यसले आगामी मंसिरमा हुने उपनिर्वाचनमा पनि अर्थ राख्ने अनुमान गर्न सकिन्छ । यसर्थ, बहुलदलीय राजनीतिक प्रणाली र संविधानको सर्वोच्चता अपनाउने नेकपाले आफूलाई गम्भीर समीक्षा गर्न आवश्यक देखिन्छ । किनभने नेकपाले पाँच वर्षे स्थीर सरकारको ऐतिहासिक अवसर पाएको छ । यो अवसर देशसँग समेत जोडिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies