काठमाडौं : वैदेशिक रोजगारका नाममा अनधिकृत विज्ञापनले बजार ढाक्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले प्रेस काउन्सिल नेपाललाई गुहारेको छ । वैदेशिक रोजगार ऐन २०६४ले विभागको वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट स्वीकृति लिएका मागपत्रहरु मान्यता प्राप्त राष्ट्रिय दैनिकहरुमा कम्तीमा ७ दिनको समय दिएर प्रकाशन गर्न पाउने व्यवस्था गरेको छ ।
तर सामाजिक सञ्जालदेखि एफएम रेडियोहरुमा आकर्षक तलव सहितको वैदेशिक रोजगारीका अवसर भन्दै विज्ञापन आएपछि विभागले त्यसबाट ठगी अत्यधिक बढेको भन्दै प्रेस काउन्सिललाई गुहारेको हो । काउन्सिलले केहीदिन अघि सूचना प्रकाशित गरेर सबै प्रकाशन÷प्रशारण संस्थाहरुलाई एकिन गरेरमात्र वैदेशिक रोजगारका सूचना प्रकाशन÷प्रशारण गर्न आग्रह गरेको छ ।
काउन्सिलले जारी गरेको सूचनामा विभागको हवला दिँदै देशभित्र प्रकाशित हुने पत्र–पत्रिका तथा कतिपय अनलाईन पोर्टलले विभागबाट ईजाजत प्राप्त नगरेका संस्था÷व्यक्तिहरुले समेत वैदेशिक रोजगारमा जान चाहने मानिसहरुलाई लक्षित गरी विज्ञापन प्रकाशन गरेको उल्लेख गरेको छ ।
विभागको स्वीकृति विना नै सामाजिक सञ्जालमा समेत राखिने विज्ञापनमा खाडी र मलेसिया भन्दा पोर्चुगल, टर्की, साईप्रस, माल्टा र क्यानडामा आकर्षक रोजगारीको प्रलोभन दिइएको हुन्छ भने मोफसलका कतिपय एफएम रेडियोमा बजाइने अनाधिकृत विज्ञापनहरुमा म्यानपावर कम्पनीका पूर्व एजेन्टहरुको हात रहने गरेको बताइएको छ ।
पूर्व एजेन्टहरुले आफुलाई प्राप्त सूचना आफ्नो मोवाईल नम्बर सम्पर्क व्यक्तिका रुपमा राखेर प्रशारण गराउने गरेको विभागले पूर्वी नेपालको काँकडभिट्टा, भद्रपुर दमक र इटहरी देखि धनुषाको जनकपुरसम्म गरेको स्थलगत अनुगमनका क्रममा पाएको थियो ।
त्यसलाई रोक्न विभागले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको भएपनि अधिकांश स्थानीय संचारमाध्यमहरुको आयआर्जनको श्रोत पूर्व एजेन्टहरुले उपलब्ध गराउने अनाधिकृत विज्ञापन हुने गरेको बताइएको छ ।
विभागको पत्रलाई विचार गर्दै काउन्सिलले कानूनी व्यवस्था अनुसार तथा अधिकार प्राप्त प्रकाशन÷प्रशारण संस्थाहरुले मात्र विज्ञापन प्रकाशन÷प्रशारण गर्न सूचित गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies