काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि त्यहाँ पुगेका नेपाली कामदारहरुले करार अनुसार सेवा सुविधा नपाएको भन्दै काम र आवास छोड्ने खतरानाक प्रवृति देखिएको उल्लेख गर्दै त्यस्तो व्यवहार नगर्न रोजगारीका लागि गएका कामदारहरुलाई आग्रह गरेको छ ।
दूतावासले नेपालबाट रोजगारीमा गएको हप्ता दश दिन नवित्दै नै कम्पनी राम्रो नरहेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, मेसको खानाले आफूलाई सञ्चो नगरेको, विरामी हुँदा कम्पनीले उपचार नगरेको लगायतका विभिन्न कारणहरु देखाई काम छोड्नेहरुको संख्या पछिल्ला दिनहरुमा बढेको भन्दै साउदी अरब गइसकेपछि त्यहाँको रोजगारीमा कफला पद्धतिको भूमिकाका बारेमा थोरै भएपनि जानकारी राख्न अनुरोध गरेको छ ।
दूतावासले एक जरुरी सुचना जारी गर्दै भनेको छ, ‘काम मन परेन भनेर गरिरहेको काम छोड्ने काम गर्दै नगर्नुहोस् । यसले समस्या समाधानमा झन जटीलता थप्ने एवं कफिललाई मात्र बलियो बनाउँदछ । तपाईका समस्या राजदूतावासमा राख्नुहोस् तर काम र आवास नछाड्नुहोस् । राजदूतावासले समस्या समाधान गर्ने प्रयासमा रोजगारदाता (कफिल) र तपाईलाई नेपालबाट पठाउने म्यानपावर व्यवसायीले गर्ने सहयोगमा निर्भर गर्दछ ।’
त्यसैगरी दूतावासमा उजुरी लिएर आउने कामदारहरुले आफुलाई परेको मर्काको वास्तविक अवस्था भन्दा बनी बनाउ कृत्रिम समस्या देखाएर समस्यालाई अतिरञ्जित गर्ने परिपाटी देखिएको भन्दै त्यस्तो प्रवृति रोकिनुपर्नेमा जोड दिएको छ ।
दूतावासले भनेको छ, ‘राजदूतावासमा समस्या राख्दा बढाई चढाई रुपमा कम्पनीमाथि दोषारोपण मात्र गर्ने प्रकारले नराख्नुहोस्, यथार्थ समस्या राख्नुहोस् । नेपालमा म्यानपावर कम्पनीका प्रतिनिधिले साउदीमा गर्ने रोजगारीका विषयमा के भनेका थिए भन्नु भन्दा तपाईले बोकेर आउनुभएको सम्झौतापत्रमा के छ र त्यसमा उल्लेख भएअनुसार रोजगारी र सुविधा छ छैन भनेर हेर्नुहोस् ।’
दूतावासले समस्या उत्पन्न भएपछि बुझ्दै नबुझी वा लहै लहैमा काम छोडेर जाँदा भन्दा काम र आवासमा रहेर नै समस्या समाधानको पहल गरेमा समस्या समाधान सहज हुने बताएको छ । त्यस्तै दूतावासले गत वर्षहरुको तुलनामा नेपालीहरु चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल परेका कारण ठूलो धनराशी कम्पनी वा कफिललाई बझाउनु परेका घटनाहरु उल्लेखनीय संख्यामा आउन थालेको भन्दै काम र आवास नछाड्न पनि नेपालीहरुलाई आग्रह गरेको छ ।
त्यसैगरी दूतावासले.लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीहरुले विभिन्न वहानामा लामो सेवा गरे वापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौसम्मको तलव नदिने, अकमा नवीकरण नगरिदिने लगायतका प्रवृतिहरु प्रशस्त देखिएको भन्दै समयमै चनाखो भई आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिन र सोको लिखित जानकारी राजदूतावासमा उपलव्ध गराउन पनि आग्रह गरेको छ ।
राजदूतावासले कामदारका निवेदनमा स्थानीय श्रम कार्यालयमा ताकेता गरी सयौं जनाको तलव सुविधा उपलब्ध गराइदिएको भन्दै सेवा करार सकिएपछि आफूले पाउने तलव र सुविधाहरु छाडेर घर फर्किने हतारो मात्र नगर्न पनि आग्रह गरेको छ । दूताावसले भनेको छ, ‘निर्णय हुन समय लाग्न सक्छ । हतार गर्नु उचित हुँदैन ।’
यसैगरी दूतावासले कतिपय नेपालीहरुको अकमा भनिने परिचयपत्र दुरुपयोग गरी विदेशी नागरिकहरुले आपराधिक गतिविधिहरुमा रकम पठाएका कारण नेपालीहरुले सोको सजाय भोग्नु परिरहेको भन्दै कसैलाई पनि विना कारण अकमाको सक्कल वा फोटोकपि नदिन, अकमालाई हिफाजतसाथ राख्न र हराएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । त्यसैगरी दूतावासले अनाधिकृत व्यक्तिहरुले विभिन्न गलत सूचनाहरु फैलाएर भ्रम पार्ने भएकाले दूतावासको फेसबुक पेजबाट आधिकारीका जानकारी लिन पनि आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies