काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका चार वैदेशिक रोजगार व्यवसायीहरुलाई सल्लाहकार तथा तीन जना व्यवसायीहरुलाई कार्यसमितिमा मनोनयन गरेको छ । संघका अध्यक्ष विष्णुप्रसाद गैरेको अध्यक्षतामा बिहीबार बसेको संघ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । सल्लाहकार तथा कार्यसमितिमा मनोननित सबै व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समर्थक व्यवसायीहरु हुन् ।
महासचिव सुजित श्रेष्ठका अनुसार कार्यसमितले फोरम तथा संघका पूर्व अध्यक्ष विमल ढकाल, फोरमका पूर्व अध्यक्षद्वय किरण किशोर घिमिरे र प्रज्ञान न्यौपाने तथा फोरमका सल्लाहकार रविन शेरचनलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
त्यसैगरी संघले वैदेशिक रोजगार व्यवसायी अस्गर अली, राजेश्वर राय र तुलसी पुरीलाई कार्यसमिति सदस्यमा मनोननयन गरेको छ । अलि सक्षम ह्युमन रिसोर्स प्रा.लि, राय लुना एचआर प्रा.लि. र पुरी एचएमटी ओभरसीज प्रा.लि.का सञ्चालक हुन् ।
संघको कार्यसमिति २१ सदस्यीय हुने व्यवस्था रहेको छ । गत असोज ६ गते भएको साधारणसभा पछिको निर्वाचनमा फोरमद्वारा प्रस्तावित १७ जनाको पुरै प्यानल विजयी भएको थियो । संघ कार्यसमितिमा अझै एक जनाको मनोनयन बाँकी रहेको छ । नयाँ कार्यसमितिले कार्यसमितिमा फोरममा आवद्ध व्यवसायीहरु नै मनोनयन गरेपनि सल्लाहकारमा फोरम इतरबाट ल्याउने विषयमा परामर्श भएपनि त्यसले मुर्तरुप नपाएको बताइएको छ ।
त्यसैगरी संघले छलफल पछिमात्र वैदेशिक रोजगार विभागले अनुगमनका लागि प्रयोगमा ल्याउन तयार पारेको चेकलिष्ट कार्यान्वयन गर्न माग गरेको छ । छलफलका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालसँग आग्रह गरिएको र छलफल तत्कालै हुने महासचिव श्रेष्ठले बताए । विभागले संघलाई बुधबार पठाएको नियमित अनुगमन तथा निरीक्षणको चेकलिष्टमा २४ वटा कागजपत्र अपडेट अवस्थामा राख्न आग्रह गरेको छ । उक्त चेकलिष्टमा संस्थाको प्रमाणपत्र, प्रवन्धपत्र नियमावली, करचुक्ता, कामदारबाट रकम लिइ दिएको रसिद लगायतका कागजपत्र रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies