बिर्तामोड । संघर्षपुर्ण खेलमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब जायोन स्पोर्टस क्लबद्धारा आयोजना भएको हाम्रो पुर्वाञ्चल गोल्डकपको प्रथम संस्करणको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि आर्मीले टाइब्रेकरको सहारा लिनुपरेको थियो । जितसँगै आर्मीले कम्तिमा ६ लाख २५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ ।
टाइब्रेकरमा आर्मीले आक्रामक एफसी सिक्किमलाई ४–३ गोल अन्तरले हरायो । टाइब्रेकरमा आर्मीका कप्तानसमेत रहेका टेकबहादुर बुढाथोकीको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले उत्कृष्ठ बचाउ गरेका थिए । आर्मीका लागि दिपक गुरुङ, बिकास तामाङ, राजिब गुरुङ र बिवेक बस्नेतले गोल गरेका थिए ।
सिक्किमका बिकास क्षेत्रीको प्रहार क्रसबारमा लागेर फर्कियो । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक बिवस चौधरीले रोकेका थिए । सिक्किमका लागि मनोज काच्छा, करण राई र कप्तान बिरेन प्रधानले मात्र गोल गर्न सकेका थिए ।
खेल अवधिभर सिक्किम आक्रामकले आर्मीले दवावमा राख्न सफल भएको थियो । आर्मीका नियमित र पहिलो रोजाईका खेलाडीबिनै मैदानमा उत्रिएको टिमले बिपक्षी पोष्टमा दवदवा राख्न सकेको थिएन । आर्मीका टंक बस्नेतले खेलको २३ औं मिनेटमा गरेको शक्तिशाली प्रहार सिक्किमका गोलरक्षक प्रधानले पञ्च गरेर फर्काएका थिए । ६२ औं मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीले गोलकिपर बिट भइसकेपछि डि बक्समा पाएको अवसर खेर फालेका थिए । उनको प्रहार पोष्टको केही बाहिरबाट बाहिरिएको थियो । ७४ औं मिनेटमा पुन टेकबहादुरले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सिक्किमका गोलरक्षक प्रधानले सहजै नियन्त्रणमा लिए ।
६१ औं मिनेटमा सिक्किमका करण राईको प्रहार पोष्टको केही नजिकबाट बाहिरियो । ६५ औ मिनेटमा राज राउतको प्रहारलाई आर्मीका गोलरक्षकले बिफल बनाए । सिक्किमले खेल अवधिभर निक्कै सुन्दर अवसर श्रृजना गरेको गएपनि आर्मीका डिफेन्डरको अगाडि उनीहरुको केही लागेन ।
खेलको म्यान अफ द म्याच बिजेता टिम त्रिभुवन आर्मीका गोलरक्षक बिवस चौधरी घोषित भए । उनले नगर १० हजार रुपैंयाँ पुरस्कार पाए । शनिबारको खेल नुपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक समितिले जनाएको छ ।
कार्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल सोमबार हुने भएको छ । फाइनलका बिजेताले १२ लाख ५० हजार तथा उपबिजेताले ६ लाख २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । सर्वाेउत्कृष्ट एकजना खेलाडीले मोटरसाइकल पाउँदा सर्वाेउत्कृष्ट डिफेन्डर, फरवार्ड, कोच, मिडफिल्ड लगायतले १५ हजार रुपैंयाँ पुरस्कार पाउँने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies